सरकारविरुद्ध प्रचारमा नेकपाको दुईमहिने जागरण अभियान

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनको तयारी, संगठन सुदृढीकरण र सरकारका जनविरोधी गतिविधिविरुद्ध जनमत निर्माण गर्ने उद्देश्यसहित दुईमहिने जागरण अभियान सञ्चालन गर्ने भएको छ । भोलि कात्तिक ७ गते आइतवारदेखि मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानमा पार्टीको राष्ट्रिय महाधिवेशनदेखि जनजीविकाका सवाल र राष्ट्रिय स्वाधीनताको रक्षासम्मका विषय समेटिनेछन् ।

गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले गरेको निर्णयअनुसार अभियान सुरु गर्न लागिएको नेकपाका बाँके जिल्ला अध्यक्ष दीपक जीएमले दैनिक नेपालगन्जलाई बताए । उनका अनुसार, आगामी निर्वाचन, पार्टी महाधिवेशन, संगठनात्मक सुदृढीकरण, जनजीविकाका मुद्दा, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षालाई अभियानले प्राथमिकता दिनेछ।

नेकपाले असोज २५ गते जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा पार्टीको राष्ट्रिय महाधिवेशन, स्थानीय तह र प्रदेशसभा निर्वाचन तथा सरकारले गरेका जनविरोधी क्रियाकलापविरुद्ध आन्दोलनको तयारीका रूपमा अभियान सञ्चालन गरिने उल्लेख छ ।

अध्यक्ष जीएमले जागरण अभियान पार्टीलाई जनतातिर फर्काउने उद्देश्यमा केन्द्रित रहेको बताए । उनका अनुसार, अभियानमार्फत संगठन सुदृढीकरण, स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी तथा महाधिवेशनको तयारीलाई अघि बढाइनेछ । विपद् प्रभावित क्षेत्रमा पुनस्र्थापनाका काममा समेत पार्टीले ध्यान दिने उनले जानकारी दिए ।

अभियानमा केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी समितिका नेता तथा कार्यकर्ता परिचालित हुनेछन् । केन्द्रीय कार्यसंयोजन समितिका सदस्यहरूलाई देशका विभिन्न जिल्लाको समन्वय गर्ने जिम्मेवारीसहित आफू मतदाता रहेका प्रदेशमा खटाइएको नेकपाले जनाएको छ । उनीहरूले सम्बन्धित प्रदेश र जिल्लाका पार्टी समितिसँग नियमित सम्पर्क, मार्गदर्शन, अनुगमन तथा समन्वय गर्दै अभियान र पार्टीका अन्य कार्यक्रम अघि बढाउनेछन्।

अभियानअन्तर्गत पार्टी समिति, जनवर्गीय संगठन र मोर्चाहरूको समायोजनका बाँकी काम पूरा गर्ने तथा संगठित सदस्यता नवीकरण र विस्तारलाई तीव्रता दिने योजना छ । पार्टीका बैठक, भेला र प्रशिक्षण सञ्चालन गर्नुका साथै जनता र पार्टीबीचको सम्बन्ध बलियो बनाउन जनकेन्द्रित कार्यक्रम तथा सांस्कृतिक र रचनात्मक गतिविधि पनि सञ्चालन गरिनेछ ।

त्यसैगरी, जनताका माग र दैनिक जनजीविकासँग सम्बन्धित समस्या संकलन गरी सम्बन्धित निकायमा प्रस्तुत गर्ने र कार्यान्वयनका लागि पहल गर्ने नेकपाले जनाएको छ । श्रम तथा जनसेवाका कार्यक्रम सञ्चालन गर्नुका साथै विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्र्थापनाका काममा सहयोग गरिनेछ ।

राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन र जनजीविकाका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि अभियानको कार्ययोजनामा समेटिएको छ । महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा र नागरिकका अन्य समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराइनेछ ।

यी विषयमा केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र र ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत तय गरिएको छ ।

अभियानका कार्यक्रम स्थानीय वस्तुस्थिति, जनताको आवश्यकता र सम्बन्धित तहका पार्टी समितिको निर्णयअनुसार लचिलो ढंगले सञ्चालन गरिने नेकपाले जनाएको छ ।

बाँकेमा अभियानको उद्घाटन आइतबार नेपालगन्ज उद्योग वाणिज्य संघमा गरिने जिल्ला अध्यक्ष जीएमले जानकारी दिए । लुम्बिनी प्रदेश पार्टी इन्चार्ज चक्रपाणी खनालले गर्ने उद्घाटन कार्यक्रममा अभियानको उद्देश्य, सञ्चालन प्रक्रिया र आगामी गतिविधिबारे जानकारी गराइने उनले बताए ।

यस्ता छन्, राष्ट्रिय जागरण अभियानका मुख्य २५ बुँदागत कार्यभारहरू:
१. अभियानको सन्दर्भ र आवश्यकता: गत वर्षको भदौ २३ को जेनजी परिघटना, निर्वाचनपछिको परिस्थिति, राष्ट्रिय स्वाधीनताको रक्षा, बढ्दो महँगी, बेरोजगारी, बाढीपहिरोको विपद् र पार्टी महाधिवेशनको तयारीका लागि एकीकृत अभियान सुरु गरिएको हो।
२. अभियानको मूल उद्देश्य: देशको सार्वभौमसत्ता र स्वाभिमानको रक्षा, विधिको शासन, सामाजिक न्याय, जनजीविकाका मुद्दामा जनमत निर्माण, बाढीपीडितको उद्धार तथा राहत, सदस्यता नवीकरण र पार्टी सुदृढीकरण गर्नु अभियानको प्रमुख लक्ष्य रहेको छ।
३. अभियानको मूल कार्यदिशा: “राष्ट्रको पक्षमा पार्टी, जनताको बीचमा पार्टी” भन्ने मूल नाराका साथ जनताका समस्या सुन्ने, अभिलेख राख्ने, समाधानका लागि पहल गर्ने र सुदृढ पार्टी निर्माण गर्ने कार्यदिशा तय गरिएको छ।
४. प्रमुख राजनीतिक विषय: पार्टीको विचार र कार्यनीतिबारे वैचारिक सम्प्रेषण गर्ने, स्वतन्त्र परराष्ट्र नीतिको रक्षा गर्ने, मूल्यवृद्धि र बेरोजगारीविरुद्ध आवाज उठाउने तथा संघीय लोकतान्त्रिक गणतन्त्र र सुशासनको पक्षपोषण गर्ने।
५. संगठन सुदृढीकरणका कार्य: सबै तहमा पार्टी सदस्यता नवीकरण तथा विस्तार गर्ने, निष्क्रिय सदस्यलाई पुनःसक्रिय बनाउने, बाँकी समायोजन टुंग्याउने, टोलस्तरमा भेला र प्रशिक्षण गर्ने तथा पार्टी कार्यालय स्थापना गर्ने।
६. महाधिवेशन केन्द्रित सुझाव संकलन: पार्टीको राजनीतिक–वैचारिक दिशा, संगठनात्मक संरचना, कार्यशैली, नयाँ पुस्ता र महिलाको सहभागिता तथा आचरण सुधारका विषयमा तल्लो तहबाट सुझाव संकलन गरी केन्द्रमा पठाइनेछ।
७. निर्वाचनको तयारी र राजनीतिक अध्ययन: स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी पार्टीको प्रभाव, जनआधार तथा अन्य राजनीतिक शक्तिहरूको वस्तुनिष्ठ अध्ययन र विश्लेषण गरी रणनीतिक आधार तयार गरिनेछ।
८. जनसम्पर्क तथा जनगुनासो व्यवस्थापन: वडा र पालिकास्तरमा जनताका गुनासा तथा समस्याहरू संकलन गरी स्थानीय, प्रदेश र केन्द्रीय निकायसमक्ष समाधानका लागि पहल गरिनेछ।
९. अभियानको संगठनात्मक संरचना: केन्द्रमा संयोजक प्रचण्ड र सहसंयोजक नेपालको नेतृत्वमा बढीमा १५ सदस्यीय केन्द्रीय संयोजन तथा अनुगमन समिति रहनेछ र सोही ढाँचामा प्रदेश, जिल्ला र पालिका तहमा संरचनाहरू बन्नेछन्।
१०. अभियानको अवधि र तीन चरण: मंसिर २५ सम्म सञ्चालन हुने अभियानलाई तीन चरणमा विभाजन गरिएको छ— पहिलो चरण तयारी र अभिमुखीकरण (कार्तिक ७ सम्म), दोस्रो चरण जनसम्पर्क र संगठन सुदृढीकरण (मंसिर १४ सम्म), र तेस्रो चरण समीक्षा तथा प्रतिवेदन निर्माण (मंसिर २५ सम्म)।
११. राष्ट्रिय अभियानका कार्यक्रम: प्रधानमन्त्री, मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीसमक्ष जनसरोकारका मागपत्र पेस गर्ने, जनभेला र अन्तरक्रिया सञ्चालन गर्ने तथा जनसेवाका रचनात्मक कार्यहरू गरिनेछन्।
१२. विपद् प्रभावितका लागि विशेष पहल: भोटेकोशी तथा देशैभरिका बाढीपहिरो प्रभावित जनताको लगत संकलन गर्ने, राहत र उद्धारमा सघाउने तथा विस्थापितहरूको दीर्घकालीन पुनःस्थापनाका लागि सरकारसँग समन्वय गर्ने।
१३. अन्य शक्ति र नागरिक समाजसँग सहकार्य: राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र जनजीविकाका साझा एजेन्डामा देशभक्त, वामपन्थी शक्तिहरू, नागरिक समाज, बुद्धिजीवी र जनप्रतिनिधिहरूसँग संवाद तथा सहकार्य गरिनेछ।
१४. प्रवास प्रदेशको परिचालन: प्रवासमा रहेका कमिटीहरूमार्फत राष्ट्रिय हित र स्वाधीनताको प्रचार, प्रवासी नेपालीका समस्या समाधानमा पहल तथा वैचारिक र संगठनात्मक सुदृढीकरणका कार्यक्रम गरिनेछन्।
१५. काठमाडौँ उपत्यका जागरण अभियान: बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क प्रदेशले संयुक्त रूपमा अभियान टोली गठन गरी राजधानी केन्द्रित विशेष जागरण अभियान सञ्चालन गर्नेछन्।
१६. पारदर्शी आर्थिक व्यवस्थापन: आर्थिक सहयोग आधिकारिक बैंकिङ च्यानलमार्फत मात्र संकलन गर्ने, व्यक्तिगत खातामा रकम उठाउन पूर्ण रोक लगाउने र आम्दानी–खर्चको पारदर्शी हिसाब राख्ने।
१७. प्रचार तथा डिजिटल सञ्चार: सामाजिक सञ्जाल, वेबसाइट र डिजिटल बुलेटिनमार्फत पार्टीका गतिविधि सम्प्रेषण गर्ने र भ्रामक तथा गलत प्रचारको तथ्यगत रूपमा खण्डन गर्ने।
१८. पार्टी कार्यालयहरूको सक्रिय सञ्चालन: केन्द्रीय कार्यालयदेखि वडा तहसम्मका कार्यालयहरूलाई व्यवस्थित जनसम्पर्क केन्द्र, सूचना केन्द्र र अभिलेख व्यवस्थापन केन्द्रका रूपमा सञ्चालन गर्ने।
१९. नियमित रिपोर्टिङ र अनुगमन: अभियान टोलीले खटिएको दिन, सदस्यता संख्या, तालिम र जनगुनासोको विवरण तल्लो तहबाट क्रमशः जिल्ला, प्रदेश हुँदै केन्द्रमा पठाउने संस्थागत रिपोर्टिङ प्रणाली लागू गरिनेछ।
२०. मूल्याङ्कनका प्रमुख सूचक: सदस्यता नवीकरण, नयाँ सदस्य संख्या, निष्क्रिय सदस्यको पुनर्सक्रियता, जनगुनासो समाधानको पहल र जनसहभागिताका आधारमा अभियानको सफलता मूल्याङ्कन गरिनेछ।
२१. आचारसंहिता र कार्यकर्ता अनुशासन: शान्तिपूर्ण र लोकतान्त्रिक विधि पालना गर्ने, व्यक्तिगत आरोप–प्रत्यारोपबाट बच्ने, आर्थिक लाभ नलिने र पार्टी मर्यादाविपरीत अभिव्यक्ति नदिने कडा आचारसंहिता लागू हुनेछ।
२२. महिला र युवा पुस्ताको विशेष परिचालन: महिला तथा युवा स्वयंसेवक दस्ता निर्माण गर्ने, नयाँ पुस्ताका रोजगारी र शैक्षिक सवाल संकलन गर्ने र उनीहरूका सुझाव महाधिवेशन दस्तावेजमा समेट्ने।
२३. सांस्कृतिकर्मीहरूको सहभागिता: नाटक, गीत–संगीत, कविता र लोककलाका माध्यमबाट अभियानका सन्देशहरूलाई जनस्तरमा सिर्जनात्मक र प्रभावकारी रूपमा प्रस्तुत गर्ने।
२४. आकस्मिक जोखिम व्यवस्थापन: प्राकृतिक विपद्, प्रशासनिक वा सञ्चार अवरोध आएमा तत्काल माथिल्लो तहसँग समन्वय गरी वैकल्पिक कार्ययोजना लागू गर्न सम्पर्क व्यक्ति तोकिनेछ।
२५. अभियानबाट अपेक्षित परिणाम: पार्टीको सम्पूर्ण सांगठनिक अभिलेख अद्यावधिक हुने, जनविश्वास सुदृढ बन्ने, राष्ट्रिय महाधिवेशनको आधार तयार हुने र आगामी स्थानीय तथा प्रदेशसभा निर्वाचनको तयारी सशक्त बन्नेछ।

Exit mobile version