बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौंरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान दुई कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। दुर्घटना बिहान करिब ९ बजे भएको हो।
दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीका अनुसार घाइते शाहीलाई उपचारका लागि नेपालगन्ज लगिएको थियो। बिहान १०ः०८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार कोहलपुरबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगन्जतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका थिए।
दुर्घटनामा टेकबहादुर सवार कारका चालक डोटीको साविक मुदेगाउँ गाविस–७ का ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते भएका छन्। उनको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको छ।
अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी पनि घाइते भएका छन्। उनीहरूको नेपालगन्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
उक्त कारका चालक घोराही उपमहानगरपालिका–७ सौडियारका करिब ४० वर्षीय सम्राटनाथ योगी भने सकुशल रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय कुसुमले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
दुर्घटनाका कारण केही समय अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग बिहान १०ः१५ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
