दैनिक नेपालगन्ज
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारका जनविरोधी गतिविधिविरुद्ध जनमत निर्माण गर्ने र आगामी निर्वाचनको तयारी गर्ने उद्देश्यसहित बाँकेमा दुईमहिने जागरण अभियान आइतवार सुरु गरेको छ । मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियान संगठन सुदृढीकरण, जनजीविकाका सवाल र राष्ट्रिय स्वाधीनताको मुद्दामा केन्द्रित रहनेछ ।
बाँकेमा आइतबार आयोजित कार्यक्रममा नेकपाका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल ‘बलदेव’ले जिल्लास्तरीय अभियान उद्घाटन गरे । जिल्ला अध्यक्ष दीपक जीएमको अध्यक्षतामा भएको कार्यक्रममा अभियान उद्घाटन गरिएको हो । गत असोज २३ गते बसेको पार्टी केन्द्रीय कार्यसंयोजन समितिको बैठकको निर्णयअनुसार देशभर अभियान सञ्चालन गर्न लागिएको अध्यक्ष जीएमले बताए ।
अभियानमार्फत वर्तमान सरकारका नीति, ढिलासुस्ती र विसंगतिबारे जनतालाई सचेत गराउने नेकपाको योजना छ । पार्टीले जनताका पक्षमा गरेका कामको प्रचार गर्न नसकेको विषयमा आत्मसमीक्षा गर्दै जनतासँग क्षमायाचनासमेत गर्ने जनाएको छ ।
प्रदेश इन्चार्ज खनालले अभियानका उद्देश्यबारे जानकारी दिँदै पार्टी संगठनलाई तल्लो तहसम्म व्यवस्थित बनाउने, सदस्यता नवीकरण तथा विस्तार गर्ने र जनताका दैनिक समस्या संकलन गरी समाधानका लागि सम्बन्धित निकायमा दबाब दिने विषयलाई प्राथमिकतामा राखिएको बताए । उनका अनुसार, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्दै आगामी स्थानीय तह तथा आम निर्वाचनका लागि पार्टीलाई जनताको विश्वासिलो शक्तिका रूपमा पुनर्गठन गर्ने लक्ष्य पनि अभियानको छ ।
जिल्ला अध्यक्ष जीएमले अभियान पार्टीलाई जनतातिर फर्काउने उद्देश्यमा केन्द्रित रहेको बताए । उनले आगामी निर्वाचनको तयारी, पार्टीको राष्ट्रिय महाधिवेशन र संगठनात्मक सुदृढीकरणलाई अभियानले अघि बढाउने जानकारी दिए । विपद् प्रभावित क्षेत्रमा पुनस्र्थापनाका काममा समेत पार्टीले ध्यान दिने उनको भनाइ छ ।
नेकपाले असोज २५ गते जारी गरेको अन्तरपार्टी निर्देशनमा राष्ट्रिय महाधिवेशन, स्थानीय तह तथा प्रदेशसभा निर्वाचनको तयारी र सरकारका जनविरोधी क्रियाकलापविरुद्ध आन्दोलनको तयारीका रूपमा अभियान सञ्चालन गरिने उल्लेख छ । अभियानका क्रममा केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी समिति, जनवर्गीय संगठन र मोर्चाका नेता तथा कार्यकर्ता परिचालित हुनेछन् ।

केन्द्रीय कार्यसंयोजन समितिका सदस्यलाई देशका विभिन्न जिल्लाको समन्वय गर्ने जिम्मेवारी दिइएको पार्टीले जनाएको छ । उनीहरूलाई आफू मतदाता रहेका प्रदेशमा खटाइएको छ । सम्बन्धित प्रदेश र जिल्लाका पार्टी समितिसँग नियमित सम्पर्क, मार्गदर्शन, अनुगमन र समन्वय गरी अभियान तथा पार्टीका अन्य कार्यक्रम अघि बढाइनेछ ।
अभियानअन्तर्गत पार्टी समिति, जनवर्गीय संगठन र मोर्चाको समायोजनका बाँकी काम पूरा गरिनेछ । संगठित सदस्यता नवीकरण र विस्तारलाई तीव्रता दिइनेछ । पार्टीका बैठक, भेला र प्रशिक्षण सञ्चालन गर्नुका साथै जनतासँगको सम्बन्ध बलियो बनाउन जनकेन्द्रित कार्यक्रम, सांस्कृतिक गतिविधि र रचनात्मक अभियान सञ्चालन गरिने नेकपाले जनाएको छ ।
जनताका माग र दैनिक जनजीविकासँग सम्बन्धित समस्या संकलन गरी सम्बन्धित निकायमा प्रस्तुत गर्ने योजना पनि पार्टीले बनाएको छ । श्रम तथा जनसेवाका कार्यक्रम सञ्चालन गरिनेछ । विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्र्थापनाका काममा सहयोग गर्ने योजना पनि अभियानमा समेटिएको छ ।
राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार र सुशासनका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा र नागरिकका अन्य समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराइने पार्टीले जनाएको छ । यी विषयमा केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र र ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।
अभियानका गतिविधि स्थानीय अवस्था, जनताको आवश्यकता र सम्बन्धित तहका पार्टी समितिको निर्णयअनुसार सञ्चालन गरिनेछ । यसले पार्टीका संगठनात्मक कामसँगै जनताका समस्या पहिचान गरी समाधानका लागि पहल गर्ने नेकपाको भनाइ छ ।
बाँकेमा आयोजित उद्घाटन कार्यक्रममा पार्टी केन्द्रीय नेता महेश्वरजंग गहतराज ‘अथक’, तिलक परियार, अब्दुल हुसेन खाँ, मन्जु कोइरालालगायत सहभागी थिए ।