बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारबाहिर

बाँकेमा गत आर्थिक वर्षमा एचआईभी सङ्क्रमण पुष्टि भएका सय जनामध्ये २९ जना उपचारको पहुँचबाहिर रहेको पाइएको छ । उपचारमा नआउने र उपचारकै क्रममा सम्पर्कविहीन हुने गर्दा समुदायमा सङ्क्रमण फैलिने जोखिम बढेको हो ।

एड्स हेल्थकेयर फाउन्डेसनका कार्यक्रम संयोजक संजयकुमार पौडेलले सामाजिक भेदभाव, लज्जा र डरका कारण केही सङ्क्रमित उपचारमा आउन नचाहेको बताए । उपचारको पहुँचबाहिर रहेकामध्ये अधिकांश नेपालगन्जका रहेको उनले जानकारी दिए ।

भेरी अस्पतालमा हाल ६५८ जनाले नियमित एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेवा लिइरहेका छन् । अस्पतालमा २०१७ देखि सुरु भएको यो सेवाबाट सुरुमा ३९० जनाले उपचार लिएका थिए । यस अवधिमा नौ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका एचआईभी फोकल पर्सन डा. संकेतकुमार रिसालले नियमित उपचार र स्वास्थ्य सेवामा पहुँच बढ्दा एचआईभी सङ्क्रमित आमाबाबुबाट जन्मिएका स्वस्थ बच्चाको दर बढेको बताए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले सङ्क्रमितलाई उपचारमा जोड्न र सम्पर्कविहीन हुनेको सङ्ख्या घटाउन छुट्टै संयन्त्र आवश्यक रहेको बताए ।

Exit mobile version