नेपालगन्जमा आयोजना हुने तेस्रो अन्तरविद्यालय पौडी प्रतियोगितामा भारतीय खेलाडीले पनि प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालगन्ज स्वीमिङ क्लबले कात्तिक १४ र १५ गते आयोजना गर्न लागेको प्रतियोगिता यसपटक अन्तर्राष्ट्रियस्तरको बन्ने भएको हो ।
नेपालगन्ज इन्टरनेशनल स्वीमिङ च्याम्पियनसिप २०८३ मा भारतका विभिन्न सहरबाट खेलाडी सहभागी हुने निश्चित भएको क्लब अध्यक्ष केशव न्यौपानेले जानकारी दिए । प्रतियोगितामा देशभरबाट २०० भन्दा बढी खेलाडी सहभागी हुने आयोजकको अपेक्षा छ । करिब ६० वटा इभेन्ट सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको छ ।
‘दिल्ली, लखनउ, पञ्जाब लगायत भारतका विभिन्न सहरबाट खेलाडी आउन इच्छुक देखिएका छन्,’ अध्यक्ष न्यौपानेले दैनिक नेपालगन्जसँग भने, ’नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको सहभागिता र व्यवस्थापनसहित प्रतियोगिता गर्ने हाम्रो लक्ष्य पूरा हुँदै गएकोमा उत्साहित छौं ।’ उनले प्रतियोगिताका थप विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताए । उनका अनुसार, देशका विभिन्न भागबाट खेलाडीको नाम दर्ता भइरहेको छ ।
आयोजकले नेपालगन्ज, बाँके र बर्दियाका खेलाडीको सहभागितालाई विशेष प्राथमिकता दिएको छ । बालबालिका र अभिभावकलाई प्रतियोगितामा सहभागी हुन अन्य सहरसम्म पुग्न कठिन हुने भएकाले स्थानीयस्तरमै अवसर सिर्जना गरिएको न्यौपानेले बताए । ‘हामी नेपालगन्ज, बाँके र बर्दियाका सहभागी बढीभन्दा बढी हुनुपर्छ भन्ने पक्षमा छौं,’ उनले भने ।
क्लबका सल्लाहकार सन्जय थापाका अनुसार, स्थानीय विद्यालयका विद्यार्थीको सहभागिता बढाउन आयोजकले विद्यालयहरूसँग छलफल गरिरहेको छ । ‘त्यसका लागि हामी निरन्तर विद्यालयहरूसँग सहभागिता बढाउन आग्रह पनि गरिरहेका छौं,’ थापाले दैनिक नेपालगन्जसँग भने, ‘आइतबार पनि विभिन्न विद्यालय सञ्चालकसँग त्यसबारे परामर्श गरिएको छ ।’
प्रतियोगिताको तयारीलाई व्यवस्थित बनाउन क्लबले विभिन्न उपसमिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले यस वर्ष प्रतियोगितामा सहभागी खेलाडीको संख्या बढ्ने अपेक्षा गरिएको बताए । ‘यो वर्ष उल्लेख्य संख्यामा खेलाडी सहभागी हुने विश्वास लिएका छौं,’ करिब ६० वटा इभेन्ट आयोजना हुने जानकारी दिंदै उनले दैनिक नेपालगन्जसँग भने । अधिकारीका अनुसार,प्रतियोगिता प्रत्यक्ष रूपमा करिब २ हजार दर्शकले अवलोकन गर्ने अनुमान छ । सामाजिक सञ्जालमार्फत पनि हजारौं दर्शकसम्म प्रतियोगिता पु¥याउने तयारी गरिएको उनले बताए ।
नेपालगन्जमा पौडी खेलको विकास र विस्तार गर्ने उद्देश्यले क्लबले प्रतियोगिता आयोजना गर्दै आएको छ । पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएपछि तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय सहभागितासहित अघि बढाइएको अध्यक्ष न्यौपानेले बताए । गर्मीको सहरका रूपमा परिचित नेपालगन्जमा पौडी खेलको सम्भावना ठूलो रहेको क्लबको बुझाइ छ । स्वास्थ्यका दृष्टिले पनि पौडी महत्वपूर्ण खेल भएकाले प्रतियोगितालाई भव्य रूपमा सञ्चालन गर्ने तयारी गरिएको न्यौपानेले जानकारी दिए ।
‘पौडी खेलको विस्तारसँगै नयाँ तथा प्रतिभाशाली खेलाडी पहिचान गर्नु पनि क्लबको उद्देश्य हो,’ अध्यक्ष न्यौपानेले भने, ‘यही अभियानअन्तर्गत विद्यालयस्तरीय पहिलो राष्ट्रिय पौडी प्रतियोगिता नेपालगन्जमा आयोजना गरिएको थियो ।’ त्यसपछि बाँकेको कोहलपुरमा दोस्रो राष्ट्रिय पौडी प्रतियोगिता सम्पन्न भएको थियो । नेपालगन्जमा हुन लागेको तेस्रो प्रतियोगिताले पनि नयाँ खेलाडी पहिचान गर्न सहयोग पुग्ने क्लबको विश्वास छ ।
‘विद्यालयस्तरबाटै खेलाडीको क्षमता पहिचान गर्न सके उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पु¥याउन सकिन्छ,’ वरिष्ठ उपाध्यक्ष अधिकारीले भने । उनका अनुसार, यस्ता प्रतियोगिताले विद्यार्थीलाई खेलकुदमा भविष्य खोज्न प्रेरित गर्न सक्छन् । ’यस्ता प्रतियोगिताले विद्यार्थीहरूको भविष्यलाई नयाँ दिशा दिनुका साथै खेलकुदका क्षेत्रमा करियर बनाउन प्रेरित गर्न सक्छ,’ उनले भने, ‘पौडी प्रतियोगिताले विद्यार्थीहरूलाई समय व्यवस्थापनसँगै अनुशासित बन्न सिकाउँछ ।’
अधिकारीले विद्यालयस्तरीय प्रतियोगिता विद्यार्थीका लागि प्रतिस्पर्धाको अवसर मात्र नभई आत्मविश्वास बढाउने माध्यम पनि भएको बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीले राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर पाउन सक्ने उनको भनाइ छ ।
आयोजकले स्थानीय संस्थागत तथा सामुदायिक विद्यालय, अभिभावक र विद्यार्थीसमेतलाई नेपालगन्जमा आयोजना हुने तेस्रो अन्तरविद्यालय पौडी प्रतियोगितामा सहभागिता जनाउन आव्हान गरेको छ । ‘सकिन्छ प्रतिष्पर्धामै सहभागिता जनाऔं, सकिन्न दर्शकका रुपमा रंगशाला पुगेर खेलाडी, आयोजकलाई हौसला दिऊँ,’ अध्यक्ष न्यौपानेले भने ।
