आजदेखि एनपीएल तेस्रो संस्करण

विजेताले पाउने डेढ करोड
दैनिक नेपालगन्ज
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । अघिल्लो संस्करणको तुलनामा विजेताको पुरस्कार राशि ४० लाख रुपैयाँ बढाइएको हो

नेपाल क्रिकेट संघ (क्यान) ले हिजो आइतबार पत्रकार सम्मेलन गरी पुरस्कार राशि बढाइएको जानकारी दिएको छ । प्रतियोगितामा दोस्रो हुने टोलीले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ पाउने क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले बताए ।

गत संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सले एक करोड १० लाख रुपैयाँ पाएको थियो । यसपटक पुरस्कार बढाइएसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ ।

मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् । खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ ।
तेस्रो संस्करणमा पहिलो पटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिँदैछ । अम्पायरको निर्णयमा असहमति भए खेलाडीले पुनरावलोकन माग गर्न सक्नेछन् । भिडियो तथा अन्य प्रविधिको सहायताले तेस्रो अम्पायरले निर्णय जाँच गर्ने व्यवस्था गरिएको छ । बलको दिशा, स्टम्पिङ, रनआउट, नो बल र वाइडसम्बन्धी निर्णय पुनरावलोकन गर्न सकिनेछ । ब्याट र बलबीच सम्पर्क भए–नभएको पत्ता लगाउन एज डिटेक्सन र साउन्ड वेभ प्रविधि प्रयोग गरिनेछ । प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा रिभ्यु लिन पाउनेछन् । डीआरएसका कारण खेलमा समय थप लाग्न सक्ने भएकाले तालिका व्यवस्थापन पनि सोहीअनुसार गरिएको छ ।
यसपटक एनपीएलका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लिस्ट ‘ए’ टी–२० को आधिकारिक मान्यता दिएको छ । यससँगै खेलाडीले प्रतियोगितामा बनाएका रन र लिएका विकेट उनीहरूको आधिकारिक टी–२० करियरको तथ्यांकमा समावेश हुनेछन् । आईसीसीको मान्यताले नेपाली क्रिकेटको व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान बढाउनुका साथै विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुने अपेक्षा गरिएको छ ।

विदेशी खेलाडीको सहभागितासम्बन्धी व्यवस्थामा पनि परिवर्तन गरिएको छ । प्रत्येक फ्रेन्चाइज टोलीले ६ देखि ८ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् । तर, खेलका लागि मैदानमा उत्रने ११ जनाको टोलीमा बढीमा चार जना विदेशी खेलाडी मात्र राख्न पाइनेछ । तीमध्ये कम्तीमा एक जना एसोसिएट सदस्य राष्ट्रका खेलाडी हुनुपर्नेछ ।

दर्शकको सुविधा बढाउन पनि मैदानमा सुधार गरिएको क्यानले जनाएको छ । यसपटक करिब दुई हजार सिट थपिएका छन् भने छानासहितको प्यारापिटको व्यवस्था गरिएको छ । अघिल्लो संस्करणमा शौचालयको अपर्याप्त सुविधा र मैदानमा आवतजावत गर्दा धूलोको समस्या भएको गुनासो आएको थियो । ती समस्या कम गर्न व्यवस्थापनमा सुधार गरिएको क्यानको भनाइ छ ।

कीर्तिपुर मैदानको पिचमा नयाँ माटो प्रयोग गरी परिमार्जन गरिएको छ । आउटफिल्डलाई थप हरियो र स्तरीय बनाइएको छ । खेलाडीका लागि निजी भोजन सुविधासहितको डगआउट निर्माण गरिएको छ भने सञ्चारकर्मीका लागि मिडिया सेन्टर व्यवस्थित बनाइएको छ । मैदानमा डिजिटल प्रदर्शनका लागि एलईडी स्कोरबोर्डको सुविधा पनि थपिएको छ ।

प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्स सहभागी छन् ।

Exit mobile version