बाँकेमा तीव्र गतिले बढायो दुर्घटनाको जोखिम

एक महिनामै १०५ दुर्घटना

दैनिक नेपालगन्ज

बाँकेमा तीव्र गति सवारी दुर्घटनाको प्रमुख कारण बनेको तथ्यांकले देखाएको छ । बाँके प्रहरीको अध्ययन र उसले दिएको तथ्यांकका अनुसार, असोज महिनामा जिल्लाभर भएका १०५ सवारी दुर्घटनामध्ये ९७ वटा तीव्र गतिका कारण भएका छन् । यही अवधिमा भएका दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १९ जना गम्भीर र १३८ जना सामान्य घाइते भएका छन् ।

तीव्र गतिका कारण दुर्घटना हुने क्रम जारी रहेकै बेला शनिबार राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । विपरीत दिशाबाट आइरहेका दुई कार एकआपसमा ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कोहलपुरबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगन्जतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार ठोक्किएका थिए ।

दुर्घटनामा कोहलपुरबाट काठमाडौं जाँदै गरेको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार, घाइते शाहीलाई उपचारका लागि नेपालगन्ज लगिएको थियो । त्यसक्रममा उनको मृत्यु भएको हो ।

सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । कार चालक डोटीको साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते भएका छन् । उनको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिमा उपचार भइरहेको छ ।

अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ निवासी ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी पनि घाइते भएका छन् । सूचना अधिकारी राठौरका अनुसार, उनीहरूको नेपालगन्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको मासिक तथ्यांकले पनि जिल्लामा सडक दुर्घटनाको जोखिम उच्च रहेको देखाउँछ । असोजमा भएका १०५ दुर्घटनामा १५८ वटा सवारीसाधन संलग्न थिए । तीमध्ये सात दुर्घटना मादक पदार्थ सेवन गरी सवारी चलाउँदा भएका थिए । एउटा दुर्घटनाको कारण यान्त्रिक गडबडी रहेको प्रहरीले जनाएको छ । अर्को दुर्घटना भने अन्य कारणले भएको थियो ।

दुर्घटनाको संख्याका तुलनामा तीव्र गति प्रमुख कारण देखिएपछि सडक सुरक्षामा गति नियन्त्रण र ट्राफिक नियमको पालना मुख्य चुनौती बनेका छन् । तीव्र गतिमा सवारी चलाउँदा आकस्मिक अवस्थामा नियन्त्रण गर्न कठिन हुन्छ । केही समय बचाउने प्रयासमा हुने लापरबाहीले चालक र यात्रुसँगै पैदलयात्रुलाई समेत जोखिममा पार्छ । दुर्घटनाबाट हुने मृत्यु, घाइतेको उपचार खर्च र परिवारमा पर्ने आर्थिक तथा सामाजिक असरले यसको प्रभाव अझ गम्भीर बनाउँछ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार, असोज महिनामा ट्राफिक नियमविपरीत सञ्चालन भएका १ हजार ८०४ सवारीसाधनलाई कारबाही गरिएको थियो । कारबाहीबाट १४ लाख ५९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।

प्रहरीले शान्ति सुरक्षा कायम गर्न असोज महिनामा १ हजार ९१२ पटक पिकेट र ३३७ पटक चेकिङ गरेको जनाएको छ । यति धेरै चेकजाँच र कारबाहीका बाबजुद तीव्र गतिका कारण हुने दुर्घटनाको संख्या उच्च देखिएको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि नियमित चेकजाँचसँगै गति नियन्त्रणमा कडाइ गर्नुपर्ने देखिन्छ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि प्रभावकारी कारबाही र सडक सुरक्षासम्बन्धी सचेतना पनि आवश्यक छन् । दुर्घटनाको कारण पहिचान गरी नियम कार्यान्वयनलाई प्रभावकारी बनाउन सके मानवीय क्षति घटाउन सहयोग पुग्नेछ ।

Exit mobile version