एकै महिनामा १२७ मुद्दा

बाँके प्रहरीद्वारा १७९ प्रतिवादी पक्राउ

दैनिक नेपालगन्ज

जिल्ला प्रहरी कार्यालय बाँकेले असोज महिनामा विभिन्न प्रकृतिका १२७ मुद्दा दर्ता गरेको जनाएको छ । यस अवधिमा चालु मुद्दाका १७९ प्रतिवादी पक्राउ परेका छन्। सार्वजनिक चासोका २० वटा पुराना मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय नेपालगन्जले सार्वजनिक गरेको असोज महिनाको प्रगति विवरणअनुसार जघन्य तथा गम्भीर प्रकृतिका अपराधदेखि सामान्य अपराध र आर्थिक अपराधसम्मका घटना प्रहरीमा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये जघन्य प्रकृतिका १२ र गम्भीर प्रकृतिका ४६ वटा छन् । सामान्य प्रकृतिका अपराधका ६९ वटा मुद्दा दर्ता भएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १२ वटा मुद्दा दर्ता भएका छन् । ती घटनामा संलग्न रहेको आरोपमा १५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । आर्थिक अपराधका १६ वटा घटना पनि दर्ता भएका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा मुद्दा दर्ता भएको छ । उक्त मुद्दामा एक जना पक्राउ परेका छन् ।

प्रहरीले पुराना तथा अनुसन्धानका क्रममा रहेका मुद्दाको फछ्र्योटलाई पनि प्राथमिकता दिएको जनाएको छ । बाँके प्रहरी प्रवक्ता, डिएसपी प्रतीत सिहं राठौरले पठाएको जानकारीमा सार्वजनिक चासोका २० वटा मुद्दाको सफल अनुसन्धान गरिएको विवरणमा उल्लेख छ । चालु मुद्दामा प्रतिवादीका रूपमा रहेका १७९ जनालाई पक्राउ गरिएको छ ।

अदालतको फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले कारबाही अघि बढाएको छ । यस क्रममा ७० जना पक्राउ परेका छन् । उनीहरूबाट कार्यान्वयन हुनुपर्ने फैसलाअनुसार २० वर्ष ६ महिना २१ दिन कैद असुल गरिएको विवरणमा उल्लेख छ । त्यसैगरी बिगो तथा क्षतिपूर्तिबापत ३४ लाख ११ हजार ७५३ रुपैयाँ असुल गर्नुपर्ने विवरण सार्वजनिक गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरीको निरुपणमा पनि प्रहरीले काम गरेको छ । असोज महिनामा यस प्रकृतिका १०६ वटा उजुरी प्राप्त भएका छन् । तीमध्ये ९३ वटा फछ्र्योट भएका छन् भने १३ वटा फछ्र्योट हुन बाँकी छन् । मातहतका प्रहरी कार्यालयबाट प्राप्त विवरणसमेत यसमा समेटिएको छ ।

पीडित तथा पीडकको उमेर समूहका आधारमा गरिएको विश्लेषणमा १८ देखि २५ वर्ष उमेर समूहका ९२ जना र २६ देखि ३९ वर्ष उमेर समूहका ३४ जना रहेको विवरणमा उल्लेख छ ।

हराएका तथा फेला परेका महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिकसम्बन्धी विवरण पनि प्रहरीले सार्वजनिक गरेको छ । असोज महिनामा महिला १२ जना, बालिका १४ जना, बालक ११ जना, ज्येष्ठ नागरिक पुरुष दुई जना र पुरुष एक जना हराएको विवरण छ ।

हराएकामध्ये महिला १६ जना, बालिका १३ जना, बालक छ जना, ज्येष्ठ नागरिक पुरुष दुई जना र पुरुष दुई जना फेला परेको विवरणमा उल्लेख छ । अझै फेला पर्न नसकेकामा महिला पाँच जना, बालिका एक जना र बालक छ जना छन्। ज्येष्ठ नागरिक पुरुष तथा पुरुषतर्फ भने फेला पर्न बाँकी नरहेको विवरणमा उल्लेख छ ।

घरेलु हिंसासम्बन्धी उजुरीको विवरण पनि प्रहरीले सार्वजनिक गरेको छ। यस अवधिमा घरेलु हिंसाका ६७ वटा उजुरी परेका छन् । तीमध्ये ६६ वटा उजुरी मिलापत्र गराइएको वा अदालत पठाइएको प्रक्रियामार्फत फछ्र्योट भएका छन्। घरेलु हिंसासम्बन्धी घटनाको स्थानीय तहगत विश्लेषण भने नगरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नेपालगन्जले यसैसाता सार्वजनिक गरेको विवरणमा अपराध अनुसन्धान तथा नियन्त्रण, अदालतका फैसला कार्यान्वयन, महिला तथा बालबालिकासम्बन्धी उजुरीको व्यवस्थापन र हराएका व्यक्तिको खोजीलाई असोज महिनाका प्रमुख कार्यका रूपमा समेटेको छ । उक्त विवरण जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट सम्पादन गरिएका कामका आधारमा तयार गरिएको हो ।

Exit mobile version