नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने भएका छन् ।
आयोजक नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रधानमन्त्री शाहको उद्घाटन समारोहमा सहभागिता आइतबार अबेर निश्चित भएको हो । प्रतियोगिताका खेल आज साँझ ५ बजेदेखि सुरु हुनेछन् । प्रधानमन्त्री शाहले आजै नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् ।
अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सबै खेल काठमाडौंमै हुनेछन् । करिब एक महिनासम्म चल्ने प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन क्यानले यसपटक विभिन्न सुधार गरेको छ ।
तेस्रो संस्करणको प्रमुख विशेषताका रूपमा पहिलो पटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिँदैछ । यसले खेलका क्रममा अम्पायरका निर्णयमाथि पुनरावलोकन गर्न सकिनेछ । प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक मान्यता पाउनुका साथै विदेशी खेलाडी अनुबन्ध प्रक्रिया पनि सहज बनाइएको क्यानले जनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिलाई समेत यस संस्करणको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
यसपटक विश्व क्रिकेटका चर्चित विदेशी खेलाडीको सहभागिताले प्रतियोगिताप्रति आकर्षण बढाएको छ । अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर र बंगलादेशका शाकिब अल हसनजस्ता खेलाडी एनपीएलमा सहभागी हुँदैछन् । उनीहरूको उपस्थितिले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने अपेक्षा गरिएको छ ।
क्यानले यस संस्करणमा पुरस्कार राशि पनि बढाएको छ । प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ८० लाख रुपैयाँ पाउँदा तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछ । शीर्ष चार टोलीका लागि मात्रै कुल ३ करोड रुपैयाँ पुरस्कार छुट्याइएको छ ।
क्यानले प्रतियोगितामा गरिएका सुधारले एनपीएललाई व्यावसायिक टी–२० क्रिकेट प्रतियोगिताका रूपमा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ । आठ टोलीबीच हुने प्रतिस्पर्धाले नेपाली क्रिकेटको व्यावसायिक विकास र खेलप्रतिको आकर्षण बढाउने विश्वास आयोजकको छ ।
