प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएल उद्घाटन

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

नेपालगन्ज, १० कात्तिक । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गरेका छन् । सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पुगेर उनले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री शाहले अम्पायरलाई बल हस्तान्तरण गरेर प्रतियोगिता सुरु गरेका थिए । उनी मैदान प्रवेश गर्दा क्रिकेट समर्थकले हुटिङ गरेका थिए । प्रधानमन्त्रीसँगै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि रङ्गशाला पुगेका थिए ।

उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । टस जितेको लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

खेल सुरु भएसँगै सुदूरपश्चिमले पहिलो विकेट गुमाएको छ । लुम्बिनीका शेर मल्लको बलमा सुदूरपश्चिमका विनोद भण्डारी आउट भएका हुन् । त्रिवि क्रिकेट मैदानमा खेल जारी छ ।

आजको उद्घाटन खेलले अघिल्लो संस्करणको फाइनलको झल्को दिएको छ । दोस्रो संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा लुम्बिनीले उपाधि जितेको थियो । यसपटक लुम्बिनी उपाधि जितको लय कायम राख्ने र सुदूरपश्चिम अघिल्लो हारको बदला लिने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।

प्रधानमन्त्री शाहको उपस्थितिलाई ध्यानमा राख्दै रङ्गशालाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । यसअघि एनपीएलका अघिल्ला संस्करणको उद्घाटन समारोहमा पनि प्रधानमन्त्री सहभागी भएका थिए ।

Exit mobile version