२२ लाख बालबालिकालाई भिटामिन ‘ए’, २० लाखभन्दा बढीलाई जुकाको औषधि खुवाइँदै

नेपालगन्ज, १० कात्तिक । सरकारले कात्तिक १७ र १८ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ देखि ५९ महिनासम्मका २० लाखभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरिएको हो ।

कार्यक्रम सञ्चालनका लागि आवश्यक औषधि देशभर पठाइसकिएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले बताए । केही स्थानमा औषधि पुर्‍याउने काम भइरहेको उनले जानकारी दिए ।

कार्यक्रमलाई प्रभावकारी बनाउन देशभर करिब ५१ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन् । त्यस्तै, करिब १० हजार स्वास्थ्यकर्मी तथा स्थानीय तहका जनप्रतिनिधि अनुगमन र सहजीकरणमा खटिनेछन् ।

थापाका अनुसार देशका ७५३ वटै स्थानीय तहमा कार्यक्रम सञ्चालन हुनेछ । बालबालिकाको सङ्ख्याका आधारमा औषधि पठाइएको छ । वितरण केन्द्र कहाँ राख्ने र कसरी कार्यक्रम सञ्चालन गर्ने भन्ने निर्णय भने स्थानीय तहले गर्नेछन् । विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सङ्घसंस्थाका भवन तथा अन्य सार्वजनिक स्थानमा वितरण केन्द्र राख्न सकिने व्यवस्था गरिएको छ ।

‘हामीले यहाँबाट कति लक्षित जनसङ्ख्या छन्, कति औषधि आवश्यक पर्छ र कार्यक्रम सञ्चालनका लागि कस्तो बजेट चाहिन्छ भन्ने व्यवस्था मिलाउँछौँ । वितरण केन्द्र कहाँ राख्ने र कसरी कार्यक्रम सञ्चालन गर्ने भन्ने निर्णय स्थानीय तहले नै गर्छन्,’ थापाले भने ।

बसाइँसराइका कारण बालबालिकाको सङ्ख्या परिवर्तन हुन सक्ने र वितरणका क्रममा औषधि अपुग हुन सक्ने अवस्थालाई ध्यानमा राखेर लक्षित सङ्ख्याभन्दा केही बढी भिटामिन ‘ए’ पठाइएको उनले बताए । विशेषगरी सहरी क्षेत्रमा बालबालिकाको वास्तविक सङ्ख्या यकिन गर्न कठिन हुने भएकाले थप औषधिको व्यवस्था गरिएको उनको भनाइ छ । ग्रामीण क्षेत्रमा भने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई आफ्नो टोलका बालबालिकाको सङ्ख्याबारे जानकारी हुने भएकाले वितरण व्यवस्थापन सहज हुने उनले बताए ।

निर्धारित दुई दिनमा औषधि खुवाउन छुटेका बालबालिकालाई पनि पछि औषधि उपलब्ध गराइनेछ । वितरणपछि बाँकी रहेका भिटामिन ‘ए’ स्वास्थ्य संस्थामा राखिने र छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा लगेर औषधि खुवाउन सकिने थापाले जानकारी दिए ।

‘कुनै बालबालिका पहिलो दिन वा निर्धारित समयमा छुटे भने पनि उनीहरू औषधि पाउनबाट वञ्चित हुँदैनन् । आवश्यकताअनुसार भोलिपल्ट वा पर्सिपल्ट नजिकको स्वास्थ्य संस्थामा गएर औषधि खुवाउन सकिन्छ,’ उनले भने ।

थापाले अभिभावकलाई आफ्ना बालबालिकाको उमेरअनुसार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन नजिकको वितरण केन्द्रमा लैजान आग्रह गरे ।

भिटामिन ‘ए’ को कमी र रतन्धो रोकथाम मुख्य उद्देश्य

बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिनु, आँखाको स्वास्थ्य जोगाउनु र कुपोषणसँग सम्बन्धित समस्याको जोखिम घटाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थापाले बताए ।

विगतमा गरिएको सूक्ष्म पोषण तत्त्वसम्बन्धी राष्ट्रिय सर्वेक्षणमा बालबालिकामा भिटामिन ‘ए’ को कमी तथा रतन्धोको समस्या देखिएको उनले जानकारी दिए । त्यसलाई ध्यानमा राखेर पाँच वर्षमुनिका बालबालिकालाई नियमित रूपमा भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन हुँदै आएको उनको भनाइ छ ।

‘भिटामिन ‘ए’ आँखालाई स्वस्थ राख्न आवश्यक पर्ने महत्त्वपूर्ण पोषक तत्त्व हो । यसको कमीले रतन्धोजस्ता समस्या देखिन सक्छन् । त्यसैले बालबालिकालाई नियमित रूपमा भिटामिन ‘ए’ खुवाउँदा यस्ता समस्या रोकथाम गर्न सहयोग पुग्छ,’ उनले भने ।

विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार पाँच वर्षमुनिका बालबालिकालाई वर्षमा दुई पटक भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन हुँदै आएको छ । नेपालमा पनि यो कार्यक्रम लामो समयदेखि निरन्तर सञ्चालन भइरहेको थापाले बताए ।

सूक्ष्म पोषण तत्त्वको अवस्था पत्ता लगाउन राष्ट्रिय सर्वेक्षण

सरकारले विभिन्न उमेर समूहका व्यक्तिमा सूक्ष्म पोषण तत्त्वको वर्तमान अवस्था पत्ता लगाउन राष्ट्रियस्तरको सर्वेक्षण सञ्चालन गर्ने तयारी गरेको छ ।

थापाका अनुसार सर्वेक्षणमा भिटामिन ‘ए’, आइरन, आयोडिन, जिंक तथा भिटामिन बी–१२ लगायतका सूक्ष्म पोषण तत्त्वको अवस्थाबारे अध्ययन गरिनेछ । रगत तथा पिसाब परीक्षणमार्फत पोषणको अवस्था पहिचान गर्ने लक्ष्य राखिएको उनले बताए ।

सर्वेक्षणबाट प्राप्त नतिजाले आगामी वर्षमा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गर्न तथा नीतिगत निर्णय लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सरकारले सञ्चालन गर्दै आएको भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम बालबालिकाको स्वास्थ्य र पोषण सुधारसँग सम्बन्धित राष्ट्रिय अभियान हो । त्यसैले निर्धारित मितिमा आफ्ना बालबालिकालाई नजिकको वितरण केन्द्रमा लगेर औषधि खुवाउन अभिभावकलाई आग्रह गरिएको छ ।

Exit mobile version