नेपालगन्जमा अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिप

तयारीमा तिब्रता

सजल गैरे
दैनिक नेपालगन्ज
नेपालगन्जमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिपको तयारीलाई तिब्रता दिइएको छ । नेपालगन्ज स्वीमिङ क्लबले कात्तिक १४ र १५ गते नेपालगन्ज रंगशालामा प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा भारतका विभिन्न सहरबाट करिब ५० सहित नेपालका विभिन्न स्थानका करिब १५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल पौडी संघसँगको सहकार्यमा हुने प्रतियोगितामा भारतको लखनउ, दिल्ली र पञ्जाबबाट खेलाडी सहभागी हुने निश्चित भएको आयोजकले पत्रकार सम्मेलन गरि जनाएको छ । प्रतियोगितामा झन्डै २०० खेलाडी सहभागी हुनेछन् । विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गराइने प्रतियोगितामा ८० वटा इभेन्ट सञ्चालन गर्ने तयारी छ ।

नेपालगन्ज स्वीमिङ क्लबले स्थापनाकालदेखि नै राष्ट्रियस्तरका पौडी प्रतियोगिता आयोजना गर्दै आएको छ । पहिलो र दोस्रो संस्करण सफल भएपछि तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय सहभागितासहित अघि बढाउन लागिएको क्लबका अध्यक्ष केशव न्यौपानेले बताए । प्रतियोगिताबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले तयारीलाई तीव्र बनाइएको बताए ।
‘पौडी प्रतियोगिताले सहर चलायमान बनाउन सहयोग गर्छ,’ आयोजना सफल बनाउन नगरवासीलाई आव्हान गर्दै क्लब अध्यक्ष न्यौपानेले भने, ‘यसले पर्यटनलाई टेवा दिन्छ, पर्यटनले अर्थतन्त्रलाई ।’ प्रत्येक सहभागीसँग अनिवार्य अभिभावक आउने हुँदा देश विदेशबाट आउने सहभागीको संख्या वर्षेनी बढाउँदै भव्य आयोजनाको योजना बनाइएको अध्यक्ष न्यौपानेले बताए । ‘यो खेल पर्यटनको बलियो आधार हो,’ उनले पत्रकारसँग भने, ‘यो बेला देश जसरी एनपीएलमा एकत्रित भइरहेको छ, पौडी प्रतियोगिता नेपालगन्ज एनपीएलनै हो ।’
यो प्रतियोगितामा ८ वर्षमुनिदेखि १७ वर्षसम्मका विभिन्न उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । १७ वर्षभन्दा माथिका खेलाडीका लागि खुला समूह पनि रहनेछ । खेलाडीले फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेडले विधामा प्रतिस्पर्धा गर्नेछन् । क्लबका वरिष्ठ उपाध्यक्ष तथा इभेन्ट डाइरेक्टर सूर्यमणि अधिकारीले ८० वटा इभेन्ट सञ्चालन गरिने जानकारी दिए ।

प्रतियोगितालाई व्यवस्थित बनाउन नेपाल पौडी संघका टेक्निकल हेड विष्णु खड्का र केन्द्रीय सदस्य दीपक सागर सिंहसहितको टोली सोमवारनै नेपालगन्ज आइपुगेको छ । पौडी पोखरीको सरसफाइदेखि अन्य प्राविधिक तयारी अघि बढाइएको क्लबका महासचिव कृष्ण अधिकारीले बताए ।
‘पौडी पोखरी सरसफाइदेखि अन्य प्राविधिक तयारी अगाडि बढेको छ,’ अधिकारीले दैनिक नेपालगन्जसँग भने ।
नेपालगन्जका खेलाडीलाई प्रतियोगिताका लागि तयार पार्न प्रशिक्षकद्वय चन्दुमान चौधरी र दीपक परियारले होटल सिद्धार्थको पौडी पोखरीमा नियमित प्रशिक्षण दिँदै आएका छन् । आयोजकले नेपालगन्ज, बाँके र बर्दियाका खेलाडीको सहभागितालाई विशेष प्राथमिकता दिएको छ । बालबालिका र अभिभावकलाई प्रतियोगितामा भाग लिन अन्य सहरसम्म पुग्न कठिन हुने भएकाले स्थानीयस्तरमै अवसर सिर्जना गर्न खोजिएको अध्यक्ष न्यौपानेले बताए । ‘हामी नेपालगन्ज, बाँके र बर्दियाका सहभागी बढीभन्दा बढी हुनुपर्छ भन्ने पक्षमा छौं,’ न्यौपानेले भने ।
क्लब कोषाध्यक्ष ऋषि कंडेलका अनुसार, प्रतियोगिता सफल बनाउन लुम्बिनी प्रदेश खेलकुद परिषद्, नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर ६, १२ र १८ तथा जानकी गाउँपालिका वडा नम्बर ३ लगायतका निकायबाट पनि सहयोग हुने क्लबले जनाएको छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । तर, आवश्यक बजेटको स्रोत भने सुनिश्चित भइसकेको छैन । प्रतियोगिता निर्देशकसमेत रहेका वरिष्ठ उपाध्यक्ष अधिकारीले आयोजकले आफ्नै टिमबाट समेत खर्च व्यवस्थापन गर्ने गरी तयारी अघि बढाएको बताए । ‘स्रोत सुनिश्चितता छैन, हामी टिमबाटै पनि परिपूर्ति गर्न सक्ने गरी काम अगाडि बढाएका छौं,’ अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘सबैसँगको सहकार्य र सहयोगमा आयोजना सफल हुनेमा विश्वास लिएर अगाडि बढेका हौं ।’
प्रतियोगितामा सहभागी खेलाडीलाई नेपालगन्जका पौडी पोखरी भएका चारतारे स्तरका होटलमा निःशुल्क बसोबास र खानाको व्यवस्था गरिने आयोजकले जनाएको छ । त्यसका लागि नेपालगन्जका तारे होटलका व्यवस्थापन पक्षसँग सोमवार आयोजक टोलीले छलफलसमेत गरेको छ ।
प्रतियोगिता प्रत्यक्ष रूपमा करिब २ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । सामाजिक सञ्जालमार्फत पनि हजारौं दर्शकसम्म प्रतियोगिता पु¥याउने तयारी गरिएको अधिकारीले बताए । ‘यो वर्ष उल्लेख्य संख्यामा खेलाडी सहभागी हुने विश्वास लिएका छौं,’ अधिकारीले भने ।

नेपालगन्जमा पौडी खेलको विकास र विस्तार गर्ने उद्देश्यले क्लबले प्रतियोगिता आयोजना गर्दै आएको छ । गर्मीको सहरका रूपमा परिचित नेपालगन्जमा पौडी खेलको सम्भावना राम्रो रहेको क्लबको बुझाइ छ । पौडी स्वास्थ्यका दृष्टिले पनि महत्त्वपूर्ण खेल भएकाले प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष न्यौपानेले बताए ।
‘पौडी खेलको विस्तारसँगै नयाँ तथा प्रतिभाशाली खेलाडी पहिचान गर्नु पनि क्लबको उद्देश्य हो,’ न्यौपानेले भने, ‘यही अभियानअन्तर्गत विद्यालयस्तरीय पहिलो राष्ट्रिय पौडी प्रतियोगिता नेपालगन्जमा आयोजना गरिएको थियो ।’
त्यसपछि बाँकेको कोहलपुरमा दोस्रो राष्ट्रिय पौडी प्रतियोगिता सम्पन्न भएको थियो । नेपालगन्जमा हुन लागेको तेस्रो प्रतियोगिताले पनि नयाँ खेलाडी पहिचान गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।
विद्यालयस्तरबाटै खेलाडीको क्षमता पहिचान गर्न सके उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पु¥याउन सकिने वरिष्ठ उपाध्यक्ष अधिकारीले बताए । उनका अनुसार, यस्ता प्रतियोगिताले विद्यार्थीलाई खेलकुदमा भविष्य खोज्न प्रेरित गर्नुका साथै अनुशासित बन्न र समय व्यवस्थापन गर्न सिकाउँछन् ।
‘विद्यालयस्तरीय प्रतियोगिताले विद्यार्थीलाई प्रतिस्पर्धाको अवसर मात्र दिँदैन, उनीहरूको आत्मविश्वास पनि बढाउँछ,’ अधिकारीले भने, ‘यस्ता प्रतियोगिताले विद्यार्थीहरूको भविष्यलाई नयाँ दिशा दिनुका साथै खेलकुदका क्षेत्रमा करियर बनाउन प्रेरित गर्न सक्छ ।’

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर पाउन सक्ने आयोजकको विश्वास छ । क्लबले स्थानीय संस्थागत तथा सामुदायिक विद्यालय, विद्यार्थी र अभिभावकलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ ।

Exit mobile version