फत्तेपुरका महिलाले दसैंमा बेचे सात सय खसी–बोका बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका महिला किसानले यस वर्षको दसैंमा सात सय खसी–बोका बिक्री गरेका छन् । नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत व्यावसायिक बाख्रापालन गर्दै आएका करिब चार सय महिला किसानले खसी–बोका बिक्री गरेर दसैं खर्च जुटाएका हुन् ।
सहकारीकी अध्यक्ष गंगा शाहका अनुसार यस वर्ष दसैंका बेला व्यापारी र उपभोक्ता सहकारीमै पुगेर खसी–बोका खरिद गरेका थिए । जिउँदो खसी–बोका प्रतिकिलो सात सय रुपैयाँका दरले तौल गरेर बिक्री गरिएको उनले बताइन् ।
‘महिला दिदीबहिनीले हुर्काएका खसी–बोका बिक्रीका लागि सहकारीमा ल्याउनुहुन्छ । उहाँहरूकै उपस्थितिमा तौल गरेर बिक्री वितरण गर्ने गरेका छौँ,’ अध्यक्ष शाहले भनिन्, ‘यो वर्षको दसैंमा सात सय वटा खसी–बोका बिक्री भएका छन् ।’
सहकारीले किसानका खसी–बोकाको बजार व्यवस्थापन गर्न थालेपछि महिलालाई उत्पादन बिक्री गर्न सहज भएको छ । पहिले बजार खोज्नुपर्ने र व्यापारीबाट ठगिने समस्या भोग्दै आएका किसानले अहिले सहकारीमार्फत आफ्ना उत्पादन बिक्री गर्न पाएका छन् ।
फत्तेपुरकी महिला किसान सावित्री चौधरीले सहकारीले खसी–बोका बिक्रीको व्यवस्था मिलाउन थालेपछि बजार खोज्ने र व्यापारीबाट ठगिने समस्याबाट मुक्ति मिलेको बताइन् । उनका अनुसार फत्तेपुरका महिलाले हरेक वर्ष दसैं र बकरइदका बेला ठूलो संख्यामा खसी–बोका बिक्री गर्दै आएका छन् ।
व्यावसायिक बाख्रापालनमा महिलाको आकर्षण बढेसँगै बाँकेमा खसी–बोका उत्पादनसमेत बढेको सहकारीकी अध्यक्ष शाहले बताइन् । उनका अनुसार बाख्रापालनमा संलग्न महिला किसानले अहिले वार्षिक १० देखि १२ वटासम्म खसी बिक्री गर्न थालेका छन् ।
सहकारीमा आबद्ध महिलाका खसी–बोका राम्रो मूल्यमा बिक्री हुन थालेपछि उनीहरूलाई घरखर्च व्यवस्थापन गर्न पनि सहज भएको सहकारीकी व्यवस्थापक दिव्या गुरुङले बताइन् । उनका अनुसार सहकारीमा एक हजारभन्दा बढी महिला आबद्ध छन् । उनीहरूले बाख्रापालनसँगै धान, मकै र गहुँ खेतीसमेत गर्दै आएका छन् ।
