भारतीय पावरलिफ्टिङमा नेपालगन्जका खेलाडीको पदक सफलता

दैनिक नेपालगन्ज

नेपालगन्ज — भारतमा आयोजित एएस वारियर्स पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपालगन्जका खेलाडीले विभिन्न विधामा पदक जितेका छन्। ४०० भन्दा बढी खेलाडी सहभागी प्रतियोगितामा प्रिजा आरसीले तीन विधामा स्वर्ण जित्दा गोपाल वर्मा, आर्यन गुप्ता र सहिम कुरेसीले पनि पदक हासिल गरे।

गोपालले एसबीडी जुनियर यू–५९ केजीमा पहिलो र खुला डेडलिफ्टमा तेस्रो स्थान प्राप्त गरे। आर्यनले एसबीडी जुनियर यू–८३ केजीमा तेस्रो र खुला बेन्च प्रेसमा दोस्रो स्थान हासिल गरे। सहिमले एसबीडी जुनियर तथा खुला बेन्च प्रेस यू–९३ केजी दुवैमा दोस्रो स्थान प्राप्त गरे। प्रिजाले महिला एसबीडी यू–४३ केजी, खुला डेडलिफ्ट र खुला बेन्च प्रेसमा पहिलो स्थान हासिल गरिन्।

नेपालगन्जबाट पावरलिफ्टिङका सात र करातेका नौ गरी १६ खेलाडीसहितको टोली प्रतियोगितामा सहभागी भएको थियो। टोलीसँग टिम म्यानेजरका रूपमा करण बडिया पनि भारत गएका थिए। उनले खेलाडीको मेहनत, समर्पण र अनुशासनले सफलता सम्भव भएको उल्लेख गर्दै टोलीको एकताले उपलब्धि हासिल गर्न सहयोग गरेको बताएका छन्।

प्रतियोगितामा सहभागी हुनुअघि जिल्ला पावरलिफ्टिङ संघका अध्यक्ष डा. प्रतीक श्रेष्ठले खेलाडीलाई शुक्रबार सम्मानसहित बिदाइ गरेका थिए। प्रतियोगिताबाट फर्किएपछि सोमबार उनले पदक विजेता खेलाडीलाई सम्मान गर्दै आगामी प्रतियोगिताका लागि हौसला प्रदान गरेका छन्। खेलाडीको सफलताले नेपालगन्जको खेलकुद क्षेत्रलाई थप उत्साहित बनाएको छ।

Exit mobile version