नेपालगन्ज स्वीमिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा, नबिल बैंक टाइटल स्पोन्सर

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ। नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा कात्तिक १४ र १५ गते नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा हुने प्रतियोगिताका लागि आवश्यक व्यवस्थापन तथा प्राविधिक तयारी भइरहेको आयोजकले जनाएको छ।

प्रतियोगिताको तयारीबारे बुधबार अफिसियलहरूको बैठक बसेको थियो। क्लबका अध्यक्ष केशव न्यौपानेले पौडी पोखरी र खेल सञ्चालनसम्बन्धी अधिकांश तयारी पूरा भएको जानकारी दिएका छन्। यसैबीच क्लबका अध्यक्ष केशवराज न्यौपाने र बैंकका नेपालगन्ज शाखा प्रबन्धक राधाकृष्ण पोखरेलले बुधबार नेपालगन्जमा टाइटल स्पोन्सर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

प्रतियोगितामा नेपालका विभिन्न स्थानसँगै भारतको लखनउ, दिल्ली र पञ्जाबबाट समेत खेलाडी सहभागी हुने तयारी छ। आयोजकले करिब २०० खेलाडीको सहभागिता रहने अपेक्षा गरेको छ। विभिन्न उमेर समूहका खेलाडीबीच पौडीका ८० वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामार्फत पौडी खेलप्रति बालबालिका तथा युवाको आकर्षण बढाउने, प्रतिभावान् खेलाडी पहिचान गर्ने र उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखिएको क्लबले जनाएको छ।

Exit mobile version