पौडी च्याम्पियनसिपको तयारी पूरा, खेलाडी पोखरीमा उत्रिने बाँकी


नेपालगन्जमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिपको तयारी पूरा भएको छ। प्रतियोगितामा सहभागी हुन खेलाडीहरू आ–आफ्नो क्षेत्रबाट नेपालगन्ज आउने तयारीमा छन्। आयोजकका अनुसार प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया बन्द भइसकेको छ।
नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा कात्तिक १४ र १५ गते नेपालगन्ज रंगशालामा सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न स्थान र भारतका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका लागि खेलाडी दर्ता फाराम भर्ने समय बिहीबारदेखि बन्द गरिएको क्लबका अध्यक्ष केशव न्यौपानेले जानकारी दिए।


‘हिजोबाट खेलाडी दर्ता फाराम बन्द गरेका छौं,’ अध्यक्ष न्यौपानेले भने, ‘आज टाईसेट आएपछि कति खेलाडी र कहाँ–कहाँबाट सहभागी हुँदैछन् भन्ने यकिन विवरण थाहा हुन्छ।’
आयोजकका अनुसार खेलाडीहरू आ–आफ्नो क्षेत्रबाट नेपालगन्ज आउने तयारीमा छन्। कोशी प्रदेशको विराटनगरलगायत देशका विभिन्न सहरबाट खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। भारतका विभिन्न सहरबाट समेत खेलाडी आउने यसअघि आयोजकले जनाएको थियो।
प्रतियोगिताका लागि पौडी पोखरीको सरसफाइ, प्राविधिक व्यवस्थापन तथा अन्य आवश्यक तयारी पूरा गरिएको छ। अब खेलाडीहरूको अन्तिम विवरण सार्वजनिक हुन र उनीहरू प्रतियोगितामा प्रतिस्पर्धाका लागि पोखरीमा उत्रिन मात्र बाँकी छ।
नेपालगन्ज स्वीमिङ क्लबले यसअघि राष्ट्रियस्तरका दुई पौडी प्रतियोगिता आयोजना गरिसकेको छ। तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय सहभागितासहित सञ्चालन गर्न लागिएको हो। प्रतियोगितामा आठ वर्षमुनिदेखि १७ वर्षसम्मका विभिन्न उमेर समूहका खेलाडी सहभागी हुनेछन् भने १७ वर्षमाथिका खेलाडीका लागि खुला समूहसमेत रहनेछ।
खेलाडीहरूले फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेडले विधामा प्रतिस्पर्धा गर्नेछन्। विभिन्न उमेर समूहमा पौडीका ८० वटा इभेन्ट सञ्चालन गर्ने तयारी गरिएको छ। प्रतियोगिताले नयाँ तथा प्रतिभाशाली खेलाडी पहिचान गर्नुका साथै स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अघि बढ्न अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताले पौडी खेलको विकास र विस्तारसँगै नेपालगन्जको खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ।
प्रतियोगितामा सहभागी हुन विभिन्न स्थानबाट खेलाडी र अभिभावक नेपालगन्ज आउने भएकाले स्थानीय होटल, यातायात तथा अन्य व्यवसायमा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

Exit mobile version