ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय, नेपालगन्जले नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यद्वय वरिष्ठ साहित्यकार किरण आचार्य र खगेन्द्र गिरी ‘कोपिला’लाई स्वागत तथा सम्मान गरेको छ।
संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकारद्वयलाई स्वागत तथा सम्मान गरिएको हो।
कार्यक्रममा अध्यक्ष दुर्गा दिदीले नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्यजस्तो गरिमामय पदमा मनोनीत हुनुभएकोमा खुसी व्यक्त गर्दै साहित्यकारद्वयलाई बधाई तथा शुभकामना दिनुभयो। उहाँले दुवै साहित्यकारलाई संस्थाको गतिविधिबारे नजिकबाट जानकारी लिन, आध्यात्मिक ज्ञानबाट लाभ प्राप्त गर्न र संस्थाको मुख्यालयमा सहभागी हुन आग्रह गर्नुभयो। उहाँले साहित्यकारद्वयलाई स्वागत तथा सम्मान गर्न पाउँदा आफूलाई गौरव र खुसी लागेको बताउनुभयो।
सम्मानित वरिष्ठ साहित्यकार किरण आचार्यले संस्थाले गरेको स्वागत तथा सम्मानप्रति आभार व्यक्त गर्दै साहित्यलाई आध्यात्मिकतासँग जोडेर आफ्ना कृतिहरू प्रकाशन गर्दै आएको बताउनुभयो। संस्थाले देखाएको माया, स्नेह र आत्मीयताले आफूलाई संस्थासँग अझ नजिक बनाएको उल्लेख गर्दै यसले साहित्य क्षेत्रमा सक्रिय रहन थप प्रेरणा मिलेको बताउनुभयो।
त्यसैगरी, वरिष्ठ साहित्यकार खगेन्द्र गिरी ‘कोपिला’ले नेपाली भाषा र साहित्यको संरक्षण, संवर्द्धन तथा सुधारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। नेपाली भाषामाथि भइरहेको अतिक्रमणबारे चर्चा गर्दै भाषा र साहित्यको मौलिकता जोगाउन सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो। उहाँले नेपाली साहित्यका माध्यमबाट आध्यात्मिक सन्देशसमेत प्रवाह गर्न सकिने धारणा व्यक्त गर्दै सम्मानका लागि संस्थाप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य एवं क्षेत्रीय सचिव ब्रह्माकुमार कृष्णबहादुर रानाभाटले कविता वाचनमार्फत साहित्यकारद्वयलाई स्वागत तथा सम्मान गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका क्षेत्रीय उपप्रमुख ब्रह्माकुमारी मुनाले गर्नुभएको थियो।
साहित्य, आध्यात्मिकता र सकारात्मक चिन्तनबीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यसहित आयोजित उक्त कार्यक्रमले साहित्यकार तथा आध्यात्मिक क्षेत्रबीचको आत्मीयता र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको थियो।
