गाईपालनमा दूध बिक्री र बाच्छाको व्यवस्थापन चुनौती

खम्ब पुन

सरकारले नेपाललाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिइरहेका बेला गाईपालन व्यवसायमा संलग्न किसानले दूध बिक्री र बाच्छाको व्यवस्थापनमा समस्या भोग्नुपरेको बताएका छन् । बेरोजगारीको समस्या घटाउन र स्वरोजगार बन्न गाईपालनमा लागेका किसानका लागि उत्पादित दूधको बजार सुनिश्चित नहुनु र बाच्छा व्यवस्थापन गर्न नसक्नु प्रमुख चुनौती बनेको छ ।

कोहलपुर नगरपालिका–१२, मसुरिखेतका गाईपालक किसान छविलाल भट्टराईले पछिल्लो चार वर्षदेखि नियमित रूपमा गाईपालन गर्दै आएका छन् । उनका अनुसार अहिले फार्ममा ४२ देखि ४४ वटासम्म गाई छन् । तीमध्ये नौवटा गाईले दूध दिइरहेका छन् । अहिले दैनिक बिहान–बेलुका गरी करिब ७० लिटर दूध उत्पादन हुने गरेको उनले बताए ।

भट्टराईका अनुसार गाईपालनबाट दूध र मल उत्पादन हुनुका साथै बाछी हुर्काएर गाईको संख्या बढाउन तथा गाई बिक्री गरेरसमेत आम्दानी गर्न सकिन्छ । तर, व्यवसायमा देखिने समस्याबारे पर्याप्त जानकारी नलिई गाईपालन सुरु गर्दा किसान आर्थिक संकटमा पर्न सक्ने उनको अनुभव छ ।

‘हामीले गाईपालनका राम्रा पक्ष मात्रै देखाउने गरेका छौँ । यसका नकारात्मक पक्ष र जोखिमबारे पनि जानकारी दिनुपर्छ,’ भट्टराईले भने, ‘नयाँ किसानले वास्तविक अवस्था बुझेर मात्रै व्यवसाय सुरु गरे निराश हुनुपर्ने अवस्था कम हुन्छ ।’ उनले गाईपालनमा सबैभन्दा ठूलो समस्याका रूपमा बाछाको व्यवस्थापनलाई औँल्याए । दूध उत्पादनका लागि उन्नत जातका गाई पाल्दा जन्मिने बाच्छा व्यवस्थापन गर्न कठिन भएको उनको भनाइ छ । चालु वर्षमा मात्रै आफ्नो फार्ममा १२ वटा बाच्छा जन्मिएको उनले बताए । विगतमा पैसा तिरेरसमेत बाछा व्यवस्थापन गर्दै आएका उनलाई अहिले बाछा लैजाने व्यक्ति वा संस्था पाउन मुस्किल परेको छ ।

‘बाच्छा कहाँ लैजाने, कसलाई दिने भन्ने समस्या छ । पहिले पैसा दिएर भए पनि व्यवस्थापन गरिन्थ्यो, अहिले लिने मान्छे नै पाइँदैन,’ उनले भने । बाच्छा हुर्काउन दाना, पानी र हेरचाहमा खर्च लाग्ने भएकाले तिनको व्यवस्थापन गर्न नसक्दा किसानमाथि थप आर्थिक भार पर्ने उनले बताए । अर्कोतर्फ, बाछालाई खुला छाड्दा अरूको बालीमा क्षति पुग्ने भएकाले त्यसको व्यवस्थापन झन् चुनौतीपूर्ण बन्ने गरेको उनको भनाइ छ ।

भट्टराईले गाई संरक्षणका नाममा सञ्चालन भएका गौशालाले पनि उन्नत जातका गाईका बाच्छा व्यवस्थापनमा पर्याप्त चासो नदिएको आरोप लगाए । राज्यले गाई संरक्षणका लागि लगानी गरेका संस्थाले किसानका समस्या बुझेर बाछा व्यवस्थापनमा सहयोग गर्नुपर्ने उनको माग छ । उनका अनुसार स्थानीय तथा उन्नत जातका सबै गाईको संरक्षण र व्यवस्थापन आवश्यक छ । उन्नत जातका गाईबाट बढी दूध उत्पादन हुने भएकाले दूधमा आत्मनिर्भर बन्ने राज्यको लक्ष्य हासिल गर्न त्यस्ता गाईको प्रवद्र्धन पनि महत्त्वपूर्ण हुने उनले बताए । तर, दूध उत्पादन बढाउने नीतिसँगै बाछाको व्यवस्थापन गर्ने स्पष्ट व्यवस्था नहुँदा किसान समस्यामा पर्ने गरेको उनको भनाइ छ ।

गाईपालनमा देखिएको अर्को प्रमुख समस्या दूध बिक्री हो । किसानले उत्पादन गरेको दूध सहकारीले नियमित रूपमा नलिने वा आवश्यकताअनुसार मात्रै संकलन गर्ने गर्दा बजारको समस्या हुने गरेको भट्टराईले बताए । दैनिक ठूलो परिमाणमा दूध उत्पादन गर्ने किसानले बिक्रीको सुनिश्चितता नपाए व्यवसाय सञ्चालन गर्न कठिन हुने उनको भनाइ छ ।

‘किसानले दैनिक सय लिटर दूध उत्पादन गर्छ भने त्यो दूध कहाँ लगेर बिक्री गर्ने भन्ने समस्या छ,’ उनले भने, ‘दूध संकलन र बिक्रीको व्यवस्था सुनिश्चित हुनुपर्छ ।’

गाईपालनबाट स्वरोजगार बन्ने सम्भावना भए पनि बजार व्यवस्थापन, बाच्छाको हेरचाह र आर्थिक जोखिमबारे पर्याप्त तयारी आवश्यक रहेको भट्टराईको अनुभव छ । दूध उत्पादनमा आत्मनिर्भर बन्ने सरकारी लक्ष्यलाई व्यवहारमा उतार्न किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित गर्नुका साथै बाछाको व्यवस्थापनका लागि पनि प्रभावकारी व्यवस्था गर्नुपर्ने देखिन्छ ।

Exit mobile version