तत्लुबगरमा सुत्ने कोठाकै पछाडिपट्टी भेरीको गड्गडाहट अनि पहिलोदिनको हाइभोल्टेज ड्रामायुक्त यात्राको थकानले केहिबेर निद्रा लागेन । कता कता भोटेकोशीमा भएको भर्खरैको बितण्डाको सम्झना पनि आयो । सम्झँदा सम्झँदै थाकेको ज्यान कतिखेर भुसुक्क भएछ पत्तो भएन ।
बिउँझिँदा घडीमा बिहानको चार बजेको थियो । अर्लाम त मैले पाँच बजेको लगाएको थिएँ । तर अब सुत्ने कुरा पनि भएन । यसो बिहानीका नित्य कर्म गरेर तातो पानी गिलासमा हाल्दै बुडीलाई पनि उठाएँ ।
हामीहरू तयार भइ झोला बोकेर बाहिर निस्किँदा होटलको काउण्टर खुलेको थिएन र हाम्रा साथीहरू पनि कोहि उठेका थिएनन् । बाहिर उज्यालो भएको थियो । हामीले झोला बाहिर राखेर केहि एकाध स्न्याप लिन भेरिको छेउतिर लाग्यौं । केहि फोटोहरू खिचेर होटल अगाडी बाटोमा पनि एकाथ क्लिक पार्दै गर्दा हामीलाई लैजाने गाडी पनि आयो । साथीहरू पनि उठेर निस्किन थाले ।
बिहानीको मौसम पहाडका टाकुरामा कुहिरो टम्म लागेको थियो । बर्षापछिको मौसम असाध्यै मनमोहक देखिएको थियो । सबैजना जमाभएपछि गाडीको छतमा समानहरू मिलाएर रखायौं । ‘हिजै भिजिसकेका झोलाहरूभित्र लुगाफाटो पनि थप भिज्यो भने त दुनैमा कपडा सुकाएर एकदिन बस्नु पर्ला है यसैले त्रिपालले राम्रोसँग समानहरू ढाकेर बाँध है भाइ ।’ मैले चालक राजेन्द्रलाई भनें । ‘चिन्तै लिन पर्दैन तपाइँहरूको समान म भिज्न दिन्न,’ निकै हलुङ्गको स्वरमा चालकले भन्यो । खुशी लाग्यो ।

‘भाइ अलि गतिलो गतिलो गीत लगाउ है, हिजो बेलुका कोहि नाचेन अहिले यहाँ नाचेर जानुपर्यो नि, आज दर खाने दिन, अब कतिखेर हो सबैजना लाखापाखा भइन्छ, सम्झना बिर्सना त हुनुपर्छ’ दर खाने दिन भएर होकि हिजोको थकान सबै मरेर हो मेरी बुडीको निकै रोमान्टिक मुड बनेको थियो ।
तत्तलुबगरको त्यो बगर भिल्ला होटलको आँगनमा तीजको गीत त बजेन तर गाडीको डेकबाट घन्केको ‘आउँदा आउँदै पानी पर्यो…..’ भन्ने गीतमा सबैका खुट्टा थरथराए । तल्लुबगरको बिहानको चिसोचिसो वातावरण, दोश्रो दिनको यात्राको शुभारम्भ हुन लागेको र तीजको दर खाने दिन । हिजोको यात्राका सबै तितापलहरू बिर्सेर सबैजना एक फन्को नाच्यौ. । निकै रमाइलो गरेर अब जाजरकोटलाई पछाडी छोडी बिहान सात बजेतिर डोल्पातिरको यात्रामा भेरी तरेर फेरिपनि भेरि कै किनारै किनार पश्चिम रुकुम साइडबाट लाग्यौं डोल्पातिर ।
कतै बाटो खोला छेऊ त कतै बाटो खोलाको बगरबाट । भेरिको गहकिलो गडगडाहट अनि अफरोडमा पनि चालक राजेन्द्र भाइले निकै हलुका तरिकाले चलाइरहेको बोलेरो डबल क्याप गाडीमा हामीहरू यात्रा गरिरहेका थियौं ।
आज हिजोका जस्ता अन्योलता कुरा थिएनन् । कहाँ पुगिन्छ होला, कहाँ बास बस्ने होला भन्ने चिन्ता पनि थिएन । मन ढुक्क थियो । दुबैतिर अग्ला लग्ला पहाडहरूको बीच बगिरहेको भेरी अनि ठाउँठाउँमा कतै रुकुम पश्चिमतिरका त कहिँ जाजरकोटबाट त्यहि भेरिमा समाहित हुन दौडिँदै आएका कञ्चन सुन्दर मनमोहक कलकल खोलाहरूको सुगबुहाटलाई छिचोल्दै हामीहरू बिहानको ८ बजेतरि त्रिवेणी पुग्यौं ।
त्रिवेणी जहाँ जाजरकोटको मुड्केचुलातिरबाट आउने जगदुल्ला नदि भेरिमा समाहित हुन्छ । यो डोल्पा, रुकुम र जाजरकोटको संगमस्थल पनि हो । ‘मित्रसर यो नदि जगदुल्ला हो, मेरो घर पनि यहि गाउँपालिकामा पर्छ अनि यहि जगदुल्ला नदिमा हो १०६ मेघावाटको जलविद्युत आयोजना बन्न लागेको ।’ मलाई धर्मसरले गाउँठाउँ र नदिको बारेका जानकारी गराउँदै भन्नु भयो । त्यहाँ एउटा बनाउँदा बनाउँदै छाडिएको पक्की पुल पनि रहेछ भेरि माथि । जुन पुल तरेर भेरी पारी गएर जगदुल्ला नदिको किनारै किनारको करिडोर बाटो बनेपछि डोल्पा जिल्लाको सबैभन्दा होँचो भूभाग जसलाई तल्लो डोल्पा पनि भनिँदो रहेछ त्यहाँको प्रवेशद्धारको रूपमा यो करिडोर बन्दै रहेछ ।
त्रिवेणीमा केहिबेर रोकियौं । यात्रु नानीहरूले चाउचाउ खाजा खाए भने अरूले त्यहाँका स्थानीय केरा बीस रूपैंया गोटाका हिसाबले किनेर खायौं । निकै मिठा केरा । पहाडी केरा खान पाएपछि त्यो चाउचाउको महत्व हुने कुरा पनि त भएन । हामीले त्यहाँ रहेको भेरी माथिको झुलुङ्गे पुलमा यस्सो फोटो खिच्न पनि भ्यायौं । त्यो झोलुङ्गे पुलमा चढेर हेर्दा भेरीको छेवैमा रहेको त्रिवेणी जुन चार पाँच मीटर खोला बढ्दा पनि डुब्ने अवस्थामा रहेको देख्दा मलाई फेरि भर्खरै भोटेकोशीले बगाएका त्रिशुली र वेत्रावतीको सम्झना आयो । अनि हामी कति जोखिमयुक्त बसोबासमा बसेका छौं भन्ने लाग्यो ।
मैले झल्याँस्स सम्झें बडा महाराज पृथ्बीनारायण शाहको दिव्योपदेश । जहाँ वहाँले भन्नु भएको थियो खेतीयोग्य समथर जमीनमा बास नबनाउनु, त्यहाँ कुलो खनी खेती लगाउनु भन्ने कुरा । अनि सम्झें मेरो जन्मथलो र मेरो बाल्यकाल । हामीहरू बेंसीमा धान रोप्न जाने गरेको । घरबास माथी डँडाँमा भएको । अनि सम्झें त्यत्रो समथर फाँट हुँदा पनि डाँडामा घर अनि खोला छेउमा समथर जमीन हुँदा पनि घर नबनाएर डाँडामा बसेर खोलामा पानी लिन बिहानभरि लाएर गएको । के हाम्रा पूर्खा मूर्ख भएर हो त ? या अहिलेका धेरै जान्ने र क्षणिक सुविधा भोगि भएर हो ? मनमा प्रश्न खेली रहे ।
काली गण्डकीको छेउको गाउँमा जन्मेको म त्यसका सहायक नदिहरू बडिगाडका बेंसीहरू हेरेको घुमेको । किंङ्गे खोला र बुडीखोलाका बेंसीहरूमा रमाएको । अनि त्यो कालीको तिरैतिर रिँडी देखि कुस्मा, बाग्लुङ्गसम्म पैदलै हिँडेर त्यसका आसपासका बस्ती र खेतखलियानहरू पनि नियालेको म । कुस्माबाट कार्कीनेटा अँधेरीनेटा हुँदै पोखरासम्मको यात्रा गरेको म । त्यतातिरका बेंसीहरूमा आजभन्दा बीस तीस बर्ष पहिलासम्म खासै बस्ती थिएन । बेलबगर, पूर्तीघाट, सेतीबेंणी बाहेक अरू ठाउँ त्यति नदिको जोखमयुक्त ठाउँमा थिएन । तर आज हेर्यो भने धरै सचेत नागरिक र ठूलो सोच भएको राजनीतिक नेतृत्व भएर होला हाम्रा पहाडी खोला नदिका कुनैपनि बेंसीबरु बस्तीबिहिन छैनन् । डाँडाका गाउँ रित्तिएका छन् अनि बेंसीहरूमा धान होइन कंङक्रिटका भवनहरूले भरिएका छन् ।
त्रिवेणीका केहि स्थानीय सँग मैले साक्षात्कार पनि गरें । भोटीकोशीको त्रासदी पछि किन वहाँहरूलाई डर लागेको छ कि छैन भनेर । वहाँहरूको मनमा पनि त्रास रहेछ । तर सबथोक अब सरकारले गर्न हेर्न पर्छ भन्ने मानसिकता पनि उत्तिकै रहेछ ।
बडो अचम्म लाग्यो कुरा सुन्दा पनि । पूर्खाको अर्ती नटेर्ने, धानखेत र खोलाछेउ गएर आफै बस्ने, जोखिम आफै मोल्ने अनि दोष सरकारलाई लगाउने, गर्दिनु पर्यो पनि सरकारलाई नै भन्ने । यो मानसिकताले नेपाल कहिले बन्छ ? नेपाली सुरक्षित कसरी हुन्छ ? फेरि अर्को भोटेकोशी त्रासदीबाट कुन चाहिँ सरकारले बचाउँछ ?
त्रिवेणीमा भएको यो चिन्तन र साक्षात्कार पछि अगाडी बढ्यौं । अब हामी वारिपारी जता हिँडेपनि शुद्ध डोल्पाको भूमिमा नै गुडिरहेका थियौं । जीत बम सर खदाङ घर भएकोले त्यहिँ उत्रिनु भयो ।
त्यहाँ पत्थरिलो भीरबाट बाटो खनेर लगिएको छ । यो बाटो ट्रयाक नेपाली सेनाले खोलेको हो । उसैपनि ट्रयाक मात्रै खोलेको र स्तरोन्नति नभएको बाटो साँघुरो हुने गर्छ । यहाँ पनि त्यस्तै छ । यही भीर बाटोमा केहि मालबाहक ट्रकहरू भेटिए । हाम्रो गाडीले ट्रकसँग साइड माग्यो । तराइको बाटोमा त साइड दिन कन्जुस्याइँ गर्ने ट्रकहरूले झन त्यस्तो सडकमा त्यति सजिलै बाटो दिने कुरा पनि भएन । हाम्रो गाडी चालक निकै रिसायो । इसारा इसारामा उनीहरूको कोड भाषामा ट्रक चालकलाई के के भन्यो कुन्नी ।
अब हमाीहरू डोल्पाको अत्यन्तै महत्वपूर्ण धार्मिक स्थल बाला त्रिपुरा सुन्दरी देवीको नाउँबाट राखिएको स्थानीय पालिकामा पर्वेश गर्न लागेका थियौ. । डोल्पाका आठवटा स्थान्ीय तह मध्ये दुनै (ठूली भेरी नगरपालिका ) र यो त्रिपुरासुन्दरी नगर पालिका बाहेक अरू सबै गाउँपालिका नै हुन ।
मन्दिरको ठिक तल ठूलीभेरीमा समाहित हुन आएको दक्षिणतिरको खोँचमा बग्ने छलगाड खोलामा गाडी तर्ने पुल नभएको र खोलाबाटै मोटर जाने हुँदा अब हाम्रो गाडी पनि त्यहाँ होमिनै पर्ने थियो । केहि ट्रकहरू खोला तरिरहेका थिए । हाम्रो पनि गाडी खोला तर्न होमियो तर पारि जान सकेन । मध्ये भँगालो काटेर गाडी रोकियो ।
तल हेर्दा ठूली भेरीको दमखम छ । खोलाले गाडीलाई अलिकति धकेल्न पायो भने सिधैं भेरीको भँगालोमा ऐया न उइया हुने हो । गाडीबाट उत्रिने अवस्था थिएन । यसैले हामीहरू गाडी मैं बसिरह्यौं । चालक उत्रेर गाडीका अगाडीका टायर मुनिका ढुङ्गाहरू पन्छायो तर गाडी तर्न सकेन । हामीहरू उत्रेर धकेल्न सक्ने अवस्था नै थिएन उल्टै हामीलाई नै बगाउने अवस्था थियो । उसले ट्रकहरूलाई अनुरोध गर्यो टोचन लगाएर तान्नका लागि । दश मिनेट पहिला भीरमा बाटो दिएन भनेर गाली गरेको कुरा ट्रकवालाहरूले शायद बिर्सेनन् क्यारे कुनै सहयोग गरेनन् तीन चारवटा ट्रकले त । एउटा आखिरमा १० चक्के ट्रकको चालक अलि दयालु रहेछ उसले भने आफ्नै टोचन निकालेर तान्न सहयोग गरेर हामीहरूको गाडी निस्कियो ।
अब यहाँबाट दुनै १४ किलोमीटर र सुलीगाड ११ किमी रहेछ । खोला तरेपछिको डोल्पा सुन्दर ठाउँ मध्ये त्रिपुरा बजारमा पूर्ण सर उत्रिनु भयो । बचेका हामीहरू यहाँबाट खुरुखुरु अगाडी बढ्यौं । १२ः३५ मा हामीहरू सुलीगाड पुग्यौं । जहाँ फोक्सुण्डो नदि आएर ठूली भेरिमा मिसिएको छ । यहिँबाट नै यहि फोक्सुण्डो खोलाको छवेइछेउ फोक्सुण्डो पदमार्ग जान्छ ।
सबैलाई बाइबाइ गरेर मौकाले जुराए फेरि भेटौंला भन्दै हामी बुडाबुडी सुलीगाडमा नै झर्यौं । यहिँबाट फोक्सुण्डो पदयात्रा शुरु भयो । क्रमशः