नेपालगन्ज। दशैंको अवसर पारेर प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘आ बाटा आमा २’ ले नेपालगन्जका दर्शकको मन जित्न सफल भएको छ। चलचित्र प्रदर्शनमा आएसँगै यहाँका हलहरूमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ। पछिल्लो एक सातादेखि चलचित्रका अधिकांश शोमा दर्शकको उल्लेख्य चाप रहेको बताइएको छ।
बिहीबार दिउँसो सवा तीन बजे होटल सिने रोयलमा प्रदर्शन गरिएको चलचित्रको शोमा पनि दर्शकको उत्साहजनक उपस्थिति थियो। पारिवारिक सदस्यसहित चलचित्र हेर्न पुगेका दर्शकहरू कथावस्तु र कलाकारको अभिनयबाट भावुक बनेका देखिन्थे।
निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको यस चलचित्रमा पल शाह र मल्लिका महतको मुख्य भूमिका रहेको छ। पारिवारिक तथा सामाजिक विषयवस्तुमा आधारित चलचित्रले विशेषगरी आमाको ममता, अभिभावकको त्याग, सन्तानप्रतिको प्रेम र वैदेशिक रोजगारीका कारण परिवारमा सिर्जना हुने भावनात्मक दूरीलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।
चलचित्रले नेपाली समाजमा पछिल्लो समय देखिँदै आएका पारिवारिक तथा सामाजिक प्रवृत्तिमाथि समेत प्रश्न उठाएको छ। विशेषगरी आमाबुबाले सन्तानका लागि गर्ने त्याग, बुढेसकालमा उनीहरूले अपेक्षा गर्ने माया र सन्तानको जिम्मेवारीलाई चलचित्रले भावनात्मक ढंगले उजागर गरेको छ।
चलचित्र हेरेपछि दर्शकहरूले आमाको ममता र अभिभावकप्रतिको सन्तानको दायित्वबारे खुलेर प्रतिक्रिया दिएका थिए। विशेषगरी बुहारीले सासु-ससुरालाई आफ्नै अभिभावकसरह सम्मान र माया गर्नुपर्ने तथा परिवारप्रतिको जिम्मेवारी सबै सदस्यले समान रूपमा निर्वाह गर्नुपर्ने विषयले दर्शकमाझ चर्चा पाएको थियो।
दर्शकको प्रतिक्रियाअनुसार चलचित्रको सबैभन्दा बलियो पक्ष पारिवारिक भावना र आमाको त्यागलाई प्रस्तुत गर्ने शैली हो। यद्यपि, कथालाई अझ कसिलो बनाउन केही दृश्यमा भावनात्मक द्वन्द्व र पात्रको चरित्र विकासलाई थप प्रभावकारी बनाउन सकिने देखिन्छ। चलचित्रमा पात्र कृष्णको विदेश जाने त्यो गोप्य सुरुङ मार्ग र साहसिक यात्राको भागलाई हटाएर, पूर्ण रूपमा पारिवारिक कथावस्तुमा केन्द्रित गरिएको भए चलचित्रको भावनात्मक गहिराइ झनै बलियो हुन्थ्यो होला। यसले आमा र छोराको सम्बन्धको मर्मलाई थप उजागर गर्थ्यो। कतिपय स्थानमा कथाको गति केही सुस्त भए पनि समग्रमा चलचित्रले दर्शकलाई भावनात्मक रूपमा जोड्न सफल भएको छ।
पछिल्लो समय नेपाली समाजमा वैदेशिक रोजगारी, आधुनिक जीवनशैली र बदलिँदो पारिवारिक सम्बन्धका कारण सिर्जना भइरहेका चुनौतीलाई पर्दामा उतार्ने प्रयास चलचित्रको महत्त्वपूर्ण पक्ष बनेको छ।
समग्रमा ‘आ बाटा आमा २’ मनोरञ्जनसँगै परिवार, आमाको ममता र अभिभावकप्रतिको जिम्मेवारी सम्झाउने भावनात्मक चलचित्रका रूपमा प्रस्तुत भएको छ। दर्शकको उत्साहजनक उपस्थिति र हलभित्र देखिएको भावनात्मक प्रतिक्रियाले नेपालगन्जमा पनि यस चलचित्रप्रति दर्शकको आकर्षण बढिरहेको संकेत गरेको छ।
