सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको २२औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ। बैंकले नेपालगन्ज–२०, राँझा एयरपोर्ट क्षेत्रमा स्थानीय सेवाग्राही, बुद्धिजीवी तथा शुभेच्छुकहरूको उपस्थितिमा केक काटेर वार्षिकोत्सव मनाएको हो।
२०६१ सालमा बागेश्वरी विकास बैंकका रूपमा स्थापना भएको बैंकले २०७१ सालमा सांग्रिला डेभलपमेन्ट बैंकसँग एकीकृत भई आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ। नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको ‘ख’ वर्गको विकास बैंकका रूपमा इजाजत प्राप्त बैंकले वित्तीय सेवा विस्तारसँगै आफ्नो संस्थागत पहिचान स्थापित गर्दै आएको छ।

वार्षिकोत्सव कार्यक्रममा बैंकका रिजनल म्यानेजर जीवनकुमार डिसीले बैंकको संस्थागत विकास, स्थायित्व र सेवा विस्तारमा स्थानीय समुदायको महत्वपूर्ण योगदान रहने बताउँदै बैंकका सेवाहरूलाई अझ प्रभावकारी बनाउन स्थानीयवासीबाट आवश्यक सल्लाह, सुझाव र सहयोगको अपेक्षा व्यक्त गरे।
कार्यक्रममा स्थानीय व्यक्तित्वहरू डिल्लीराज रेग्मी, फौदारकुमार वर्मा, सेतुलीमाया श्रेष्ठ, खगेन्द्र न्यौपाने, शिवेन्द्र भण्डारी, टीकाराम कँडेल, प्रकाश श्रेष्ठ, कुमार श्रेष्ठलगायतले बैंकको २२औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका थिए।
उनीहरूले बैंकको सेवालाई थप ग्राहक मैत्री, सरल र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै राँझा क्षेत्रमा बैंकको शाखा स्थापना भएपछि स्थानीय सेवाग्राहीलाई वित्तीय कारोबारमा सहजता मिलेको बताए। साथै, आफ्नै स्थानीय चेली सिर्जना भण्डारीलाई बैंकको राँझा शाखा प्रमुखका रूपमा पाउँदा गौरव महसुस भएको उनीहरूको भनाइ थियो।
वित्तीय क्षेत्रमा पनि बैंकको उपस्थिति बलियो
बैंकको वित्तीय अवस्थालाई हेर्दा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको कुल सम्पत्ति करिब ६६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। बैंकको निक्षेप तथा कर्जा कारोबारले ग्रामीण र सहरी दुवै क्षेत्रका सेवाग्राहीलाई औपचारिक बैंकिङ प्रणालीमा जोड्न महत्वपूर्ण भूमिका खेलेको छ। बैंकले ४ लाखभन्दा बढी ग्राहकलाई कृषि, साना तथा मझौला उद्योग (SMEs) र व्यक्तिगत कर्जालगायतका वित्तीय सेवा प्रदान गर्दै आएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा SADBL संकेतबाट सूचीकृत बैंकले शेयरधनीलाई प्रतिफल प्रदान गर्ने विषयमा समेत प्रगति गरेको छ। बैंकको हालै सम्पन्न २२औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसमा ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।
बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा विस्तार गरिरहेको छ। आगामी दिनमा प्रविधिमैत्री बैंकिङ सेवा, ग्राहक सन्तुष्टि र स्थानीय आवश्यकतालाई प्राथमिकता दिँदै वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य बैंकले लिएको छ।
स्थापनाको २२ वर्ष पूरा गरेको अवसरमा बैंकले आगामी दिनमा अझ गुणस्तरीय, विश्वसनीय र सेवाग्राहीमैत्री वित्तीय सेवा प्रदान गर्दै स्थानीय आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ