नेपालगन्जमा अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिप आज देखि
नेपालगन्ज । नेपालगन्जमा आजदेखि अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिप सुरु हुने भएको छ। नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा कात्तिक १४ र १५ गते नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा सञ्चालन हुने प्रतियोगितामा करिब २०० खेलाडी सहभागी भएका हुँदै छन्।
प्रतियोगिताका लागि नेपालका विभिन्न प्रदेश तथा भारतका विभिन्न सहरबाट आएका सबै खेलाडी नेपालगन्ज आइपुगेका छन्। प्रतियोगिताका खेल बिहान ८ बजेदेखि सुरु हुने छन्। आयोजक नेपालगन्ज स्विमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेका अनुसार, खेलाडीहरू विभिन्न उमेर समूह र विधामा प्रतिस्पर्धाका लागि पौडी पोखरीमा उत्रिएका छन्।
नेपालगन्ज स्वीमिङ क्लबले यसअघि राष्ट्रियस्तरका दुई पौडी प्रतियोगिता आयोजना गरिसकेको छ। तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय सहभागितासहित आयोजना गरिएको हो। प्रतियोगितामा आठ वर्षमुनिदेखि १७ वर्षसम्मका विभिन्न उमेर समूहका खेलाडी सहभागी छन् भने १७ वर्षमाथिका खेलाडीका लागि खुला समूहसमेत राखिएको छ।
प्रतियोगितामा सहभागिताका लागि भारतका विभिन्न प्रान्तबाट खेलाडीहरु नेपालगञ्ज आइसकेका छन् । नेपालगञ्जका लागि यो एउटा महत्वपूर्ण अवसर हो, अध्यक्ष न्यौपानेले दैनिक नेपालगन्जसँग भने, यो सुरुवात हो भविष्यमा भारत लगायतका अन्य देशबाट पनि ठूलो समूहमा खेलाडीहरू नेपालगञ्ज आउन सक्छन् भन्ने सन्देश यसले दिएको छ।
प्रतियोगितामा खेलाडीहरूले फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेडले विधामा प्रतिस्पर्धा गर्नेछन्। विभिन्न उमेर समूहमा पौडीका ८० वटा इभेन्ट सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताले नयाँ तथा प्रतिभाशाली खेलाडी पहिचान गर्नुका साथै स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। पौडी खेलको विकास र विस्तारसँगै नेपालगन्जको खेल पर्यटन प्रवर्द्धनमा समेत प्रतियोगिताले योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ।

प्रतियोगितामा सहभागी खेलाडी तथा उनीहरूका अभिभावकको आगमनले नेपालगन्जको होटल, यातायातलगायत स्थानीय व्यवसायमा समेत आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।
प्रतियोगिता संयोजक, आयोजक नेपालगञ्ज स्विमिङ्ग क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले खेलकुदलाई ऐतिहासिक ढङ्गले सम्पन्न गर्न मौसमका चुनौतीबीच पनि आयोजकले काम अगाडि बढाएको बताए ।