सरकारले सबैतिर निराश मात्र बनायो : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (नेपाल)का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले जनतालाई अनेक आश्वासन बाँडेर आएको पार्टीले सरकारको नेतृत्व गरिरहँदा सबैतिर निराश मात्र बनाइरहेको आरोप लगाएका छन् ।

चुनावको बेलामा जनतालाई बाँडेको आश्वासनभन्दा विपरीत अहिले सरकारले महङ्गी, भ्रष्टाचार र बेथितिलाई निम्त्याइरहेको अध्यक्ष यादवको भनाइ छ ।

अग्रगामी मोर्चाको लुम्बिनी प्रदेश समन्वय समितिले बाँकेको नेपालगन्जमा आइतबार गरेको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘भ्रष्टाचार र कमिसनतन्त्र नियन्त्रणमा छैन, बरु बढ्दै गएको छ, महङ्गी दुई गुण बढेको छ, गरिब जनता जसले दिनभर काम गरेर भोजन जुटाउँछन्, उनीहरू सङ्कटमा परेका छन्, शिक्षाको गुणस्तर कमजोर हुँदै गएको छ, सरकारी स्कुलमा पढाई भइरहेको छैन, सरकारी अस्पतालमा उपचार पाइँदैन, स्वास्थ्य बिमा योजना असफल भइरहेको छ, गरिबका लागि यो सरकार साथमा छैन, सुशासनको त नामोनिसान नै छैन ।’

सरकार विदेशी ऋणबाट चलिरहेको पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले आरोप लगाए । विगतमा कांग्रेस र कम्युनिस्टको शासनकालमा जस्तै जनताहरू अहिले वर्तमान सरकारबाट आजित भइरहेको उनले बताए ।

मोर्चाले लुम्बिनीको रुपन्देही र बाँकेमा यस्तो कार्यक्रम गरेको हो । कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके गुप्ता, प्रलोपाका जनार्दन शर्मालगायत विभिन्न घटकमा रहेका नेताहरूले सम्बोधन गरेका थिए ।

Exit mobile version