अधिवेशनमा जुट्यो एमाले बाँके

नेकपा एमाले बाँकेले जिल्लाका ८१ वटै वडामा आगामी मंसिर २६ गते एकैदिन वडा अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी जिल्ला कमिटीको आइतबार बसेको ११औँ बैठकले वडा अधिवेशनसँगै संगठन विस्तार, सदस्यता नवीकरण तथा विभिन्न जनसंगठनका गतिविधिलाई तीव्रता दिने निर्णय गरेको हो ।

बैठकपछि जिल्ला अध्यक्ष निरक गुरुङले दिएको जानकारी अनुसार मंसिर महिनाभर जिल्लाका सबै वडा र टोलमा पार्टीका नेता तथा कार्यकर्तालाई परिचालन गरिनेछ । वडा अधिवेशनको तयारीका लागि पार्टीका नेताहरूलाई जिम्मेवारी तोकेर ८१ वटै वडामा खटाइने निर्णय भएको छ ।

मंसिर महिनाभर टोल कमिटी गठन, पार्टीका संगठित सदस्यहरूको भेला, संगठित सदस्यता नवीकरण तथा नयाँ सदस्य थप गर्ने कार्यक्रम सञ्चालन गरिने अध्यक्ष गुरुङले बताए । यसैगरी तीनवटा जनवर्गीय संगठन गठन तथा तिनका पालिका कमिटी निर्माण गर्ने, तीनवटै निर्वाचन क्षेत्रमा रक्तदान कार्यक्रम आयोजना गर्ने र वडा तहमा वैचारिक प्रशिक्षण सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै, वडा तहमा सरसफाइ कार्यक्रम सञ्चालन गर्ने, नागरिकसँग संवाद गर्ने तथा पार्टीमा बढीभन्दा बढी नागरिकलाई गोलबन्द गर्ने योजना बनाइएको अध्यक्ष गुरुङले जानकारी दिए । वडा अधिवेशन सम्पन्न भएसँगै पार्टीको संगठन सुदृढीकरण अभियानको पहिलो चरण समापन हुनेछ ।

एमाले बाँकेले जिल्लाका आठवटै पालिकामा आगामी पुस ४ गते एकैदिन पालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको छ । पालिका अधिवेशनलाई व्यवस्थित र सफल बनाउन मंसिर महिनाभर पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्य तथा जिल्ला कमिटीका पदाधिकारीहरूलाई परिचालन गरिने अध्यक्ष गुरुङले बताए ।

अध्यक्ष गुरुङले जनताको घरआँगनमा पुगेर उनीहरूका समस्या, सुझाव र अपेक्षाबारे संवाद गर्ने तथा पार्टीलाई टोलटोलसम्म विस्तार गरी संगठनलाई बलियो बनाउने अभियानमा पार्टी लागेको बताए ।

अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रमुख अतिथि शान्ति ढकाल, केन्द्रीय सदस्य सूर्य ढकाल, केन्द्रीय सदस्य मो. हारुन हलवाई, लेखा आयोग सदस्य विजया धिताल, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू र प्रदेश कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो ।

Exit mobile version