सिर्जना कला साहित्य प्रतिष्ठानको कार्यक्रममा साहित्यिक विमर्शको नयाँ अभ्यास
साहित्यिक कार्यक्रममा शुभकामना र मन्तव्यका नाममा हुने लामो भाषणको परम्परालाई पन्छाउँदै सिर्जना कला साहित्य प्रतिष्ठानले फरक अभ्याससहित साहित्यिक कार्यक्रम गरेको छ ।
आइतवार प्रतिष्ठानका कार्यवाहक अध्यक्ष जीतबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा कृति विमोचन र शुभकामना आदान प्रदानका लागि राखिएको कार्यक्रममा कृति समीक्षा मात्र गरिएन, विशिष्ट वक्ताहरूलाई साहित्यसँग सम्बन्धित फरक–फरक विषय दिएर बोल्न लगाइँदा विशेष बनेको हो । ‘यसले कार्यक्रमलाई परम्परागत औपचारिकताभन्दा साहित्यिक विमर्शमा केन्द्रित बनाएको थियो,’ कार्यक्रममा सहभागी साहित्यकार महानन्द ढकालले भने ।
प्रतिष्ठानले पहिलो चरणमा विष्णुमान श्रेष्ठका दुई कृति सार्वजनिक कार्यक्रम गरेको थियो । श्रेष्ठको कथा संग्रह ’नियतिको खेल’ र नाटक ’जीवन चक्र’ विमोचन गरिए । दुवै कृतिमाथि फरक विधाका समीक्षकबाट समीक्षा गराइएको थियो । कथा संग्रहको समीक्षा कथाकार सुमित्रा न्यौपानेले गरिन् । नाटक ‘जीवन चक्र’ माथि ज्ञान बहुमुखी क्याम्पसमा नाटक तथा समालोचना अध्यापन गराउँदै आएका लेक्चरर डम्बरबहादुर खत्रीले समीक्षा प्रस्तुत गरे ।
समीक्षाका क्रममा सैद्धान्तिक पक्षभन्दा सिर्जनात्मक पक्षलाई बढी महत्व दिइएको थियो । कृतिको लेखन, विषयवस्तु र सिर्जनात्मक विशेषतालाई केन्द्रमा राखेर गरिएको समीक्षाले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको सहभागीहरूको अनुभव थियो ।
कार्यक्रमको दोस्रो चरणमा भने साहित्यिक विषयमा केन्द्रित विमर्श गरिएको थियो । शुभकामना दिने नाममा विशिष्ट अतिथिहरूले लामो मन्तव्य दिने प्रचलनलाई बदल्दै प्रतिष्ठानले उनीहरूलाई निश्चित विषय दिएर बोल्न आग्रह गरेको थियो । बोलेरभन्दा लेखेर राम्रो सर्जक बन्न सकिने निष्कर्षसहित अघि बढाइएको यो अभ्यासले वक्ताहरूलाई पनि विषयवस्तुमै केन्द्रित हुन सहज बनाएको थियो ।
त्यस क्रममा नरेन्द्रजंग पिटरले ‘साहित्य किन लेख्ने, केका लागि लेख्ने ?’ विषयमा आफ्नो धारणा खुलेर राखे । महानन्द ढकालले ‘गजलमा देखिएको विवाद, हिजोआज र बाँके’ विषयमा बोले । त्यसैगरी प्राज्ञ सभा सदस्य खगेन्द्र गिरि कोपिलाले ‘मैले देखेको प्रज्ञाप्रतिष्ठान र मेरो अनुभव’ सुनाए । प्राज्ञ सभा सदस्य किरण आचार्यले ‘यजुर्वेदमा अग्नि’ र कवि प्राडा कृष्णप्रसाद घिमिरेले ‘समाज र साहित्य’ विषयमा आफ्ना विचार प्रस्तुत गरेर कार्यक्रमलाई विशेष बनाएका हुन् ।
विशिष्ट वक्ताहरूलाई विषय तोकेर बोल्न लगाउने अभ्यासले साहित्यका पाठक तथा स्रोतामाझ कार्यक्रमको फरक छाप परेको थियो । औपचारिक शुभकामना र मन्तव्यमा सीमित हुने कार्यक्रमभन्दा विषयगत प्रस्तुतिले साहित्यका विविध पक्षमाथि छलफल गर्ने अवसर दिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सनत रेग्मीलाई भने आयोजकले कुनै विषय तोकेको थिएन । तर उनले आफैँले ‘वर्तमान समयको साहित्य र एआईको प्रयोग’ विषयमा बोल्ने इच्छा व्यक्त गरे । त्यसपछि आफ्नो मन्तव्यलाई यही विषयमा केन्द्रित गरे । बदलिँदो प्रविधिको समयमा साहित्य सिर्जना र त्यसमा कृत्रिम बौद्धिकताको प्रयोगबारे उनले धारणा राखेका थिए ।
साहित्यिक विमर्शका लागि गरिएको फरक अभ्यासका कारण कार्यक्रममा सुरुदेखि अन्त्यसम्म सहभागीको उपस्थिति उल्लेख्य थियो । लामो समयसम्म चले पनि अन्तिमसम्म साहित्य अनुरागीहरूको बाक्लो उपस्थिति रहनुले कार्यक्रमप्रतिको चासो देखाएको सहभागीको भनाइ थियो ।
