सजल/सन्ध्या गैरे
दैनिक नेपालगन्ज
नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको तेस्रो संस्करण उपाधि ललितपुरको सगरमाथा स्वीमिङ क्लबले जितेको छ । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ४२९ अंक प्राप्त गर्दै सगरमाथा क्लब च्याम्पियन बनेको हो ।
नेपाल पौडी संघको प्राविधिक सहयोगमा नेपालगन्ज स्वीमिङ क्लबले आयोजना गरेको प्रतियोगितामा भारतको नयाँ दिल्लीस्थित इलाइट स्वीमिङ एकेडेमी १७४ अंक प्राप्त गर्दै दोस्रो भएको छ । बाँकेको कोहलपुरस्थित शिखा एकेडेमीले ९५ अंकसहित तेस्रो स्थान हासिल गरेको छ ।
त्यस्तै, ललितपुरको जेम्स स्कुल ५९ अंकसहित चौथो, भारतको लखनउस्थित ला मार्टिनेयर गल्र्स कलेज ३३ अंकसहित पाँचौँ, कोशी प्रदेश २३ अंकसहित छैटौँ र ललितपुरको रातो बंगला स्कुल १८ अंकसहित सातौँ भएका छन् ।
प्रतियोगितामा पुरुष र महिला दुवैतर्फका सर्वोत्कृष्ट खेलाडी सगरमाथा स्वीमिङ क्लबकै बने । पुरुषतर्फ सात स्वर्ण पदक जितेका निभान समन अवाले र महिलातर्फ १० स्वर्ण पदक जितेकी राइजा अवाले सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरूलाई जनही पाँच हजार पाँच सय ५५ रुपैयाँ ५५ पैसा प्रदान गरिएको थियो ।

आयोजकले रातो बंगला स्कुलका आठ वर्षमुनिका खेलाडी कौतिक शर्मा र मेमोरियल क्यानेडियन स्कुलकी विधि नेपाललाई इमर्जिङ खेलाडीका रूपमा सम्मान गरेको छ ।
विजेता खेलाडीलाई लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणदाज गौतम, नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, महासचिव ईश्वरकुमार कार्की, प्रतियोगिताको स्क्रिन पार्टनर डर्मा अर्थका जीवन धमला, नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपाने तथा प्रतियोगिताका इभेन्ट डाइरेक्टर एवं क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारी, नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कमल कार्की, पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठलगायतले ट्रफी, मेडल, प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए ।
आयोजक क्लबका महासचिव कृष्ण अधिकारीका अनुसार, प्रतियोगितामा आठ वर्षमुनिदेखि १७ वर्षसम्मका तथा ओपनतर्फ १७ वर्षभन्दा माथिका खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेड्ले गरी पौडीका ६ विधामा ८० इभेन्ट सञ्चालन गरिएको थियो । प्रतियोगितामा नेपालका सबै प्रदेश तथा भारतको नयाँ दिल्ली र लखनउबाट गरी करिब १५० खेलाडी सहभागी भएको अधिकारीले जानकारी दिए ।
इभेन्ट डाइरेक्टर सूर्यमणि अधिकारीले नेपाल पौडी संघसँगको सहकार्यमा आगामी संस्करणलाई अझ भव्य बनाउने बताए । उनले प्रतियोगितालाई संघको वार्षिक क्यालेन्डरमा समावेश गरी निरन्तरता दिन सके थप अन्य देशका खेलाडी सहभागी गराउने गरी तयारी गर्न सकिने बताए । ‘नेपाल पौडी संघले यसैगरी सहयोग गरेर प्रतियोगितालाई आफ्नो वार्षिक क्यालेन्डरमा राखेर अगाडि बढायो भने थप दुईदेखि चार मुलुकको सहभागिता हुने गरी तयारी गर्नेछौँ,’ क्लबका वरिष्ठ उपाध्यक्षसमेत रहेका अधिकारीले दैनिक नेपालगन्जसँग भने ।
तस्वीरः हर्ष गुप्ता(दैनिक नेपालगन्ज)