बाँके जिल्लामा लागुऔषध कारोबार तथा ओसारपसारका घटना निरन्तर बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकले देखाएको छ । पछिल्ला आर्थिक वर्षहरूको तथ्यांक विश्लेषण गर्दा लागुऔषधसम्बन्धी मुद्दा दर्ता र पक्राउ पर्ने व्यक्तिको संख्या हरेक वर्ष बढ्दै गएको देखिन्छ । विशेषगरी ब्राउनसुगर, गाँजा, अफिम, चरेश तथा विभिन्न प्रकारका प्रतिबन्धित औषधिको कारोबार र ओसारपसार चुनौतीका रूपमा देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा लागुऔषधसम्बन्धी १ सय ७७ वटा मुद्दा दर्ता भएका थिए । उक्त अवधिमा २ सय ६४ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८१÷०८२ मा मुद्दा दर्ता बढेर २ सय १३ पुगेको थियो भने पक्राउ पर्ने व्यक्तिको संख्या ३ सय १९ पुगेको थियो ।
त्यसैगरी आर्थिक वर्ष २०८२÷०८३ मा लागुऔषधसम्बन्धी मुद्दा दर्ता २ सय ६२ पुगेको छ भने पक्राउ पर्ने व्यक्तिको संख्या ३ सय ९९ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष मुद्दा दर्ता ४९।६ प्रतिशत र पक्राउ पर्ने व्यक्तिको संख्या २५ प्रतिशतले बढेको देखिन्छ ।
चालु आर्थिक वर्ष २०८३÷०८४ को सुरुवाती महिनामै पनि लागुऔषधसम्बन्धी घटनाको संख्या उल्लेख्य देखिएको छ । साउन र भदौ महिनासम्म ४२ वटा मुद्दा दर्ता हुँदा ९३ जना पक्राउ परेका छन् । असोज महिनामा मात्रै थप १९ वटा मुद्दा दर्ता भएका छन् भने ३१ जना पक्राउ परेको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरले जानकारी दिएका छन् । यससँगै साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा ६१ वटा मुद्दा दर्ता र १ सय २४ जना पक्राउ परेका छन् ।
बाँकेमा लागुऔषध कारोबारको स्वरूप र परिमाणसमेत परिवर्तन हुँदै गएको प्रहरीको बरामद तथ्यांकले देखाउँछ । विशेषगरी ब्राउनसुगरको बरामद मात्रा पछिल्ला वर्षमा उल्लेख्य रहेको छ ।
आर्थिक वर्ष २०८०÷०८१ मा प्रहरीले ९ सय १५ ग्राम ८१५ मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । उक्त वर्ष १६ किलो १२३ ग्राम चरेश, १५ किलो ११३ ग्राम अफिम, ५ किलो ८६८ ग्राम गाँजा, ३ लिटर ३०० मिलिलिटर कोरेक्स र ८ सय १२ ट्याबलेट नाइट्रोजेपाम बरामद भएको थियो ।
आर्थिक वर्ष २०८१÷०८२ मा ब्राउनसुगर बरामदको मात्रा बढेर ३ किलो ४ ग्राम ६९० मिलिग्राम पुगेको थियो । यस वर्ष ८ किलो २ सय २४ ग्राम चरेश, १ सय १३ किलो २५० ग्राम गाँजा, ७ लिटर ३०० मिलिलिटर कोरेक्स, ३ हजार ६ सय १३ ट्याबलेट नाइट्रोजेपाम र ५ हजार ३ सय ४८ क्याप्सुल ट्रामाडोल बरामद भएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०८२÷०८३ मा प्रहरीले २ किलो ८ सय ६० ग्राम ७०२ मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । यस अवधिमा १ सय ६० ग्राम ८२ मिलिग्राम चरेश, ६ किलो ६ सय २० ग्राम अफिम, ११ किलो ८ सय ९४ ग्राम ५८० मिलिग्राम गाँजा, १ लिटर ९०० मिलिलिटर कोरेक्स, ३ हजार ४२५ ट्याबलेट नाइट्रोजेपाम र ५ हजार १ सय ४३ क्याप्सुल ट्रामाडोल बरामद गरिएको तथ्यांकमा उल्लेख छ ।
चालु आर्थिक वर्षको तीन महिनामै चार किलोभन्दा बढी ब्राउनसुगर
चालु आर्थिक वर्ष २०८३÷०८४ को साउन, भदौ र असोज महिनामा मात्रै बाँके प्रहरीले चार किलो भन्दा बढी लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । साउन र भदौ महिनामा अवधिमा प्रहरीले ३ किलो १० ग्राम ४०२ मिलिग्राम ब्राउनसुगर बरामद गरेकोमा असोज महिनामा मात्रै १ किलो १ सय ७९ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।
साउन र भदौ महिनमा ३ सय ८ ग्राम ५७० मिलिग्राम चरेश, १३ किलो ६ सय ८४ ग्राम अफिम, १ किलो ९ सय ९३ ग्राम ५८० मिलिग्राम गाँजा, १४ लिटर कोरेक्स, ५ हजार ३४२
ट्याबलेट नाइट्रोजेपाम र ४३ हजार १९९ क्याप्सुल ट्रामाडोल बरामद भएको छ ।
विशेषगरी ट्रामाडोलको बरामद मात्रा अघिल्ला आर्थिक वर्षको तुलनामा निकै उच्च देखिएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा ५ हजार ३४८ र २०८२÷०८३ मा ५ हजार १ सय ४३ क्याप्सुल ट्रामाडोल बरामद भएकोमा चालु आर्थिक वर्षको दुई महिनामै ४३ हजार १ सय ९९ क्याप्सुल बरामद भएको छ ।
चालु आर्थिक वर्षको असोज महिनामा पनि लागुऔषध बरामदको मात्रा उल्लेख्य देखिएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार असोज महिनामा मात्रै १ किलो १७९ ग्राम ७५० मिलिग्राम ब्राउनसुगर, ३२ किलो ५२० ग्राम गाँजा, २० ट्याबलेट नाइट्रोजेपाम र ४२० क्याप्सुल ट्रामाडोल बरामद भएको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन् ।
खुला सीमा, सीमावर्ती क्षेत्रमा हुने आवतजावत तथा लागुऔषधको सीमापारी हुने सहज पहुँचले जिल्लामा लागुऔषध अवैध कारोबारको जोखिम उच्च रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
लागुऔषध नियन्त्रणका लागि प्रहरी कारबाहीसँगै सीमावर्ती क्षेत्रमा निगरानी, कारोबारमा संलग्न सञ्जालको पहिचान, युवालाई लक्षित सचेतना कार्यक्रम र पुनःस्थापना तथा उपचारका कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्ने स्थानीय बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकले लागुऔषधविरुद्धको प्रहरी कारबाही निरन्तर भइरहेको देखाए पनि मुद्दा र पक्राउको बढ्दो संख्याले समस्या अझै नियन्त्रणमा आउन नसकेको पाइन्छ ।
