दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र‘प्रतियोगिता काउण्टडाउन’

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन एक महिना मात्रै बाँकी रहँदा प्रतियोगिता आयोजनाको तयारी तीव्र पारिएको छ ।

बाँके लगायतका विभिन्न जिल्लामा छनोट खेलहरु भइरहँदा प्रतियोगितास्थल बीरेन्द्रनगर सुर्खेतमा आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र स्रोत परिचालनलाई प्राथमिकतामा राख्दै संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय बढाइएको हो ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रतियोगिता सुरु हुन बाँकी ३० दिनको ‘काउन्टडाउन’ शुभारम्भ गर्दै सोमवार तयारीबारे जानकारी दिएका छन् । संघीय सरकार, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको समन्वय तथा सहकार्यमा प्रतियोगिताका लागि आवश्यक काम भइरहेको उनले बताए ।

प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्नु सबैको साझा जिम्मेवारी भएको मन्त्री पोखरेलको भनाइ छ । ‘खेलकुद प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्नु हामी सबैको साझा दायित्व हो । यसमा सबै क्षेत्र र तहका सरोकारवालाले आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ’, उनले भने ।

खेलकुद क्षेत्रकै ठूलो प्रतियोगिता कर्णालीमा आयोजना हुन लागेको उल्लेख गर्दै उनले प्रदेश र स्थानीय सरकारले पनि आफ्नो जिम्मेवारीलाई विशेष महत्त्वका साथ पूरा गर्ने विश्वास व्यक्त गरे । प्रतियोगिताको मिति नजिकिँदै गर्दा प्रचारप्रसारका गतिविधिलाई थप व्यापक बनाइने उनले बताए । प्रतियोगिता सफल बनाउन संघीय सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेशको प्रतिष्ठासँग जोडिएको विषय भएको बताए । प्रदेश सरकार सहआयोजक भए पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नु आफ्नो दायित्व भएको उनले उल्लेख गरे ।

मुख्यमन्त्री शाहीका अनुसार रङ्गशालाको पूर्वाधार निर्माणसम्बन्धी सबै काम पूरा भइसकेका छन् । मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि खेलाडी तथा पाहुनाको बसोबास व्यवस्थापन र सहज वातावरण निर्माणमा प्रदेश सरकार जुटिरहेको उनले जानकारी दिए ।

सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले पनि प्रतियोगिता सफल बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । प्रतियोगिता सम्पन्न गर्न आवश्यक तयारीलाई प्रभावकारी रूपमा अघि बढाइने उनको भनाइ थियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले प्रतियोगितालाई राष्ट्रव्यापी रूपमा प्रचारप्रसार गर्ने काम भइरहेको बताए । प्रतियोगिता भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न तयारीका गतिविधि तीव्र पारिएको उनले जानकारी दिए ।

यसैबीच, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य रवीन्द्र चन्दले कर्णालीको खेलकुद गीत सार्वजनिक गरेका छन् । उनले एक हप्ताभित्र रङ्गशालाको संरचना हस्तान्तरण गरिने जानकारीसमेत दिए ।

Exit mobile version