पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

नेपालगञ्ज। कहिलेकाहीँ साना उपलब्धिहरूको पछाडि ठूला सपना र गहिरा भावनाहरू लुकेका हुन्छन्। हातमा थामिएका मेडल र ट्रफी हेर्दा ती केवल प्रतियोगितामा जितेका पुरस्कारजस्ता देखिए पनि तिनसँग जोडिएका कथा, संघर्ष, पारिवारिक साथ र वर्षौँदेखिको चाहना निकै अर्थपूर्ण हुन्छन्। कौतिक शर्माका लागि पौडीमा हासिल गरेका उपलब्धिहरू पनि यस्तै एउटा विशेष कथासँग जोडिएका छन्।

पानीसँग खेल्न रुचाउने एउटा बालकको सामान्य रुचि आज परिवारको गर्व र हजुरबुवाको सपनासँग जोडिएको छ। काठमाडौंस्थित रातो बंगला स्कुलमा अध्ययनरत सात वर्षीय कौतिकले नेपालगञ्जमा आयोजित तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिपमा तीन स्वर्ण, एक रजत पदक तथा ‘मोस्ट इमर्जिङ स्विमर’ अवार्ड जितेपछि उनको पौडी यात्रा थप विशेष बनेको छ।

नेपालगञ्ज रंगशालास्थित पौडी पोखरीमा आयोजित दुईदिने प्रतियोगितामा कौतिकले देखाएको प्रदर्शनले उनको प्रतिभा र पौडीप्रतिको लगावलाई उजागर गरेको छ। कलिलो उमेरमै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएर चार पदकसँगै विशेष अवार्ड जित्नु उनका लागि मात्र नभई परिवारका लागि पनि गर्व र खुसीको क्षण बनेको छ।

दैनिक नेपालगञ्जसँगको कुराकानीमा कौतिककी आमा स्मिता शर्माले उनी दुई वर्षको उमेरदेखि नै पानीसँग निकै रमाउने गरेको बताइन्। पानीसँग डराउनेभन्दा पनि रमाउने स्वभावका कारण उनमा पौडीप्रतिको रुचि विस्तारै बढ्दै गएको उनको भनाइ छ। विभिन्न विद्यालयस्तरीय प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएका कौतिकले यसै वर्षदेखि प्रतिस्पर्धात्मक पौडीलाई प्राथमिकताका साथ अगाडि बढाउन थालेका हुन्।

आमा स्मिताका अनुसार छोटो समयमै कौतिकले पौडीमा राम्रो उपलब्धि हासिल गर्न थालेपछि उनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने सोच बनेको थियो। त्यसैक्रममा काठमाडौंबाट कौतिकलाई नेपालगञ्ज ल्याइएको थियो। आफ्नै जिल्लाभन्दा बाहिर आएर प्रतिस्पर्धा गर्दा उनले यति राम्रो प्रदर्शन गर्लान् भन्ने अपेक्षा नगरेको बताउँदै स्मिताले नेपालगञ्जमा छोराले हासिल गरेको सफलताले आफूहरूलाई निकै खुसी र गर्वित बनाएको सुनाइन्।

कौतिकको सफलता यस प्रतियोगितामा मात्र सीमित छैन। उनका बुबा जतिन शर्माका अनुसार कौतिकले यसअघि पनि विभिन्न विद्यालयस्तरीय पौडी प्रतियोगितामा सहभागी भएर आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन्। उनले प्याब्सन पौडी प्रतियोगितामा सहभागिता जनाउनुका साथै सादो बाटो प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका थिए।

त्यसैगरी, जेम्स (GEMS) स्कुलको पौडी प्रतियोगितामा एक स्वर्ण र एक रजत पदक जित्नुका साथै ‘बेस्ट प्लेयर’ अवार्डसमेत प्राप्त गरेका थिए। यी प्रारम्भिक उपलब्धिले उनको आत्मविश्वास थप बढाउँदै लगेका थिए। त्यसैको निरन्तरतास्वरूप नेपालगञ्जमा आयोजित प्रतियोगितामा तीन स्वर्ण, एक रजत र ‘मोस्ट इमर्जिङ स्विमर’ अवार्ड जित्न उनी सफल भएका हुन्।

मेमोरियल क्यानेडियन स्कुल विधि नेपाल /रातो बंगला स्कुल कौतिक शर्मा (इमर्जिङ स्विमर अवार्ड जितेपछि)

बुबा जतिनका अनुसार सानै उमेरमा देखिएको प्रतिभालाई पहिचान गरी अगाडि बढाउने उद्देश्यले यसै वर्षदेखि कौतिकलाई पौडीमा प्रोत्साहन गर्न थालिएको हो। छोराको पछिल्लो सफलतालाई उनले भविष्यका लागि सकारात्मक संकेतका रूपमा लिएका छन्। कौतिकलाई निरन्तर हौसला र साथ दिँदै आएको पनि उनले बताए।

कौतिकका लागि भने यी पदक, ट्रफी र प्रमाणपत्र प्रतियोगितामा प्राप्त पुरस्कार मात्र होइनन्। उनका उपलब्धिसँग परिवारको एउटा भावनात्मक सपना पनि जोडिएको छ। उनका मावली हजुरबुबा दिलीप शर्मा र हजुरआमा कृष्ण शर्मा कौतिकलाई एक सफल पौडी खेलाडी बनेको देख्न चाहन्थे। विशेषगरी हजुरबुबाको चाहना थियो, नातिले पौडीमा राम्रो पहिचान बनाओस् र आफ्नो प्रतिभामार्फत सफलता हासिल गरोस्।

दैनिक नेपालगञ्जसँगको कुराकानीमा कौतिकले आफूले जितेका पदक र पुरस्कार आफ्ना लागि निकै विशेष रहेको बताए। हजुरबुबा र हजुरआमाको सपना आफू राम्रो पौडी खेलाडी बनोस् भन्ने रहेको उल्लेख गर्दै उनले उहाँहरूको चाहना पूरा गर्ने यात्रामा अघि बढ्न पाउँदा निकै खुसी लागेको सुनाए।

तीन स्वर्ण, एक रजत र ‘मोस्ट इमर्जिङ स्विमर’ अवार्ड जितेका कौतिकको पौडी यात्रा अझै सुरुवाती चरणमै छ। तर उनको मेहनत, पानीप्रतिको लगाव, निरन्तर अभ्यास र परिवारको साथले भविष्यमा थप सफलता हासिल गर्ने सम्भावना देखाएको छ।

नेपालगञ्जको पौडी पोखरीमा चम्किएको कौतिकको सफलताले एउटा सुन्दर सन्देश दिएको छ । प्रतिभालाई उमेरले छेक्दैन। सपना पूरा गर्न ठूलो उमेर होइन, सही अवसर, निरन्तर अभ्यास र परिवारको साथ आवश्यक हुन्छ।

सात वर्षकै उमेरमा हजुरबुवाको सपना साकार पार्ने यात्रामा अघि बढिरहेका कौतिक शर्मा आज पदक विजेता मात्र होइनन्, नेपाली पौडी खेलको भविष्यमा सम्भावना बोकेका एक उदाउँदा प्रतिभा पनि हुन्।

Exit mobile version