मिठाई बिक्रीमा लेबल अनिवार्य

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई व्यवसायीहरूलाई बिक्रीका लागि राखिएका मिठाईमा अनिवार्य रूपमा लेबल विवरण उल्लेख गर्न पुनः निर्देशन दिएको छ । मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले विभागले मिठाईको गुणस्तर, प्रयोग गरिएका कच्चा पदार्थ र मूल्यबारे उपभोक्तालाई स्पष्ट जानकारी दिन यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

विभागले यसअघि २०८३ असोज ३० गते मिठाई व्यवसायीका लागि सूचना जारी गर्दै मिठाईमा आवश्यक विवरण राख्न निर्देशन दिएको थियो । उक्त निर्देशनअनुसार २०८३ कात्तिक ११ गतेदेखि होटल, मिठाई पसल तथा मिठाई भण्डारलगायतका व्यवसायीले बिक्रीका लागि राखेका मिठाईमा आवश्यक विवरण ग्राहकले देख्ने गरी सोकेस वा काउन्टरमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

विभागका अनुसार व्यवसायीले आफूले उत्पादन गरेको मिठाईमा प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, मिठाई तयार गर्न प्रयोग गरिएको तेल वा घिउको प्रकार, उपभोग गर्न मिल्ने अन्तिम मिति तथा बिक्री मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।

विभागले मातहतका कार्यालयमार्फत नियमित निरीक्षण तथा अनुगमन गर्ने र अनुगमनका क्रममा उक्त निर्देशन कार्यान्वयन नभएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

मिठाईमा प्रयोग भएका सामग्री, उत्पादन प्रक्रिया, उपभोग्य अवधि र मूल्यबारे उपभोक्ताले सहजै जानकारी पाउने वातावरण निर्माण गर्न विभागले व्यवसायीहरूलाई निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

Exit mobile version