नेपालगन्ज भन्सारको कमाइमा इन्धनको वर्चस्व

नेपालगन्ज भन्सार कार्यालयको राजश्व संकलनको प्रमुख आधार इन्धन आयात रहेको तथ्यांकले देखाएको छ । भारतबाट आयात हुने डिजेल, पेट्रोल र एलपी ग्याँसबाट संकलन हुने भन्सार राजश्व प्रमुख राजश्व संकलन हुने वस्तुको क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा रहेका छन् ।

नेपालगन्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्ष २०८३÷०८४ को असोज मसान्तसम्म आयात भएका वस्तुमध्ये डिजेल राजस्व संकलनको प्रमुख स्रोत रहेको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार राजस्वका आधारमा शीर्ष १० वस्तुको सूचीमा डिजेल पहिलो स्थानमा रहेको छ ।

असोज मसान्तसम्म डिजेल आयातबाट मात्रै १ अर्ब १६ करोड ८१ लाख ५० हजार रूपैयाँ राजस्व संकलन भएको नेपालगन्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । पेट्रोल दोस्रो स्थानमा रहेको छ । पेट्रोल आयातबाट ६३ करोड ६४ लाख ५१ हजार रूपैयाँ राजस्व प्राप्त भएको छ ।

त्यस्तै, एलपी ग्यासबाट ४२ करोड ७० लाख ५३ हजार रूपैयाँ राजस्व संकलन भएको छ । सुपारी आयातबाट २६ करोड १७ लाख ७५ हजार, तयारी कपडाबाट २० करोड ६१ लाख ३२ हजार रूपैयाँ राजस्व प्राप्त भएको नेपालगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।

राजस्वमा योगदान गर्ने अन्य प्रमुख वस्तुमा स्टिल वायर रड इन क्वायल, शुद्ध फलाम (स्पन्ज÷फेरस आइरन), चामल, तोरी–रायो–सूर्य तील तथा पोलिथिन दाना रहेका छन् । यी वस्तुबाट क्रमशः १५ करोड ८७ लाख ७५ हजार, १४ करोड २० लाख ८३ हजार, ९ करोड ३० लाख २१ हजार, ६ करोड ९७ लाख २६ हजार र ६ करोड ८० लाख ७२ हजार रूपैयाँ राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ ।

भन्सार कार्यालयको विवरणअनुसार राजस्वका आधारमा प्रमुख १० वस्तुको योगदान कुल राजस्वको ६१.५४ प्रतिशत रहेको छ । ती वस्तुबाट ३ अर्ब २३ करोड ९२ लाख ३७ हजार रूपैयाँ राजस्व प्राप्त भएको उल्लेख छ ।

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पाँच अर्ब २४ करोड बढी राजस्व संकलन गरेको छ ।

यस अवधिमा कुल आयात मूल्य २३ अर्ब ९१ करोड रूपैयाँभन्दा बढी रहेको तथ्यांकले देखाएको छ । तुलनात्मक रूपमा निर्यात मूल्य भने निकै न्यून छ । कुल निर्यात मूल्य करिब ९३ करोड ६४ लाख रूपैयाँ रहेको छ भने निर्यातबाट प्राप्त राजस्व करिब १ करोड १७ लाख रूपैयाँ रहेको छ ।

नेपालगन्ज भन्सारबाट निर्यात हुने प्रमुख १० वस्तुहरूमा खोटो रोजिन, खयर कन्था, जडीबुटी, तारपिनको तेल, पिना, एसेंसियल आयल, वनस्पतिका सारहरू, प्लाइउड, बाल्ने दाउरा र मोलासिस प्रमुख निकासीजन्य वस्तुका रूपमा रहेका छन् । भन्सार कार्यालयले सार्वजनिक गरेको मूल्यका आधारमा मुख्य १० निकासी वस्तुको विवरणमा खोटो रोजिन, खयर कन्था र जडीबुटी अग्रस्थानमा देखिएका छन् ।

तथ्यांकअनुसार पिना अन्य शीर्षकमा सबैभन्दा बढी १३ लाख ६७ हजार ४०० किलोग्राम वस्तु निकासी भएको छ । खोटो रोजिन १० लाख ७६ हजार ७२ किलोग्राम र बाल्ने दाउरा ८ लाख ७५ हजार ५ सय ६ किलोग्राम निकासी भएको विवरणमा उल्लेख छ ।

यसैगरी जडीबुटी ७ लाख ५७ हजार २ सय ५० किलोग्राम, खयर कत्था ४ लाख ७४ हजार ४ सय २० किलोग्राम र मोलासिस ४ लाख २८ हजार ७०० किलोग्राम निकासी भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयको तथ्यांकले यस क्षेत्रबाट कृषि, वन तथा जडीबुटीजन्य वस्तुका साथै औद्योगिक उत्पादनसमेत निकासी भइरहेको देखाएको छ ।

Exit mobile version