भेरी अस्पतालमा फोक्सो र निद्रा रोगको विशिष्टीकृत सेवा

भेरी अस्पताल नेपालगन्जले फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी रोग, सघन उपचार र निद्रा रोगको विशिष्टीकृत सेवा सुरु गरेको छ ।

अस्पतालले मंगलबारदेखि विशेषज्ञ चिकित्सक डा. रञ्जित पाण्डेमार्फत तीनवटै सेवा सञ्चालनमा ल्याएको हो । सेवा विस्तारसँगै फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी जटिल समस्या, निद्रा रोग र गम्भीर अवस्थाका बिरामीले अस्पतालबाटै विशेषज्ञ उपचार तथा परामर्श पाउने भएका छन् ।

डा. पाण्डेका अनुसार, नयाँ सेवाअन्तर्गत दीर्घकालीन दम, पुरानो खोकी, श्वासप्रश्वासमा समस्या, छातीमा पानी जम्ने, क्षयरोग, फोक्सोको बाथ रोग तथा फोक्सो सुक्ने समस्याको परीक्षण, उपचार र परामर्श गरिनेछ ।

त्यस्तै, सुत्दा घुर्ने, निद्राका क्रममा श्वासप्रश्वास रोकिने, अत्यधिक निद्रा लागिरहने तथा पर्याप्त सुते पनि शरीर ताजा महसुस नहुने समस्याको पहिचान र उपचार गरिनेछ । क्षयरोगका बिरामीलाई औषधिप्रति संवेदनशील तथा औषधि प्रतिरोधी क्षयरोगसम्बन्धी आवश्यक परामर्शसमेत उपलब्ध गराइने उनले बताए ।

नयाँ सेवाअन्तर्गत निमोनियालगायतका गम्भीर बिरामीको सघन उपचार, भेन्टिलेटरमा रहेका बिरामीको व्यवस्थापन तथा भेन्टिलेटरबाट बाहिर निकाल्ने प्रक्रियामा आवश्यक उपचार र परामर्श पनि प्रदान गरिने डा. पाण्डेले जानकारी दिए । फोक्सोसम्बन्धी रोगको उपचारसँगै अस्पतालको सघन उपचार सेवालाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको उनले बताए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले विशेषज्ञ चिकित्सकमार्फत सुरु गरिएको सेवा यस क्षेत्रका बिरामीका लागि महत्वपूर्ण हुने बताए । फोक्सोसम्बन्धी दीर्घरोग, फोक्सोको क्यान्सर तथा निद्रासम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी विशेष क्लिनिक सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

उनका अनुसार, नयाँ सेवाबाट फोक्सोसम्बन्धी जटिल तथा दीर्घरोगको उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । अस्पतालले पछिल्लो समय विशेषज्ञ स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै सर्वसाधारणलाई सहज, सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिएको उनले बताए ।

नयाँ सेवाको अस्पताल विकास समितिका अध्यक्ष डा. लक्ष्मण सिग्देल, प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नाल, प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. बद्री चापागाईं, वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे र नर्सिङ प्रमुख पद्मादेवी देवकोटालगायतले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

अस्पतालका अनुसार, उक्त विशेषज्ञ सेवा ओपीडी कक्ष नम्बर ७ (ए) बाट प्रत्येक हप्ताको मंगलबार र बिहीबार उपलब्ध हुनेछ ।

Exit mobile version