सधैँ डकुमेन्ट्रीका गम्भीर कथाहरूमा हराउने मेरो लेन्स, जब गत वर्ष नेपालगन्ज रङ्गशालाको पौडी पोखरीतिर सोझियो तब यसले खेलाडीहरूलाई मात्र कैद गरेन, म भित्र वर्षौँदेखि थन्किएर बसेको मेरो आफ्नै बालापनको पुरानो डायरीका पानाहरू पनि एकैचोटि पल्टाएर रखिदियो ।
क्यामेरा बोकेर डकुमेन्ट्री बिधामा फोटो भिडियोको काम गर्न लागेको पनि ७ वर्षभन्दा बढी भइसकेको छ । स्वास्थ्य, शिक्षा, विकासदेखि समाजका अनेकौँ गम्भीर आयामहरू मेरा लेन्सले कैद गरेका छन् । यद्यपि मेरो मुख्य कार्यक्षेत्र व्यावसायिक डकुमेन्ट्री फोटोग्राफी हो, तर खेलकुद फोटोग्राफीप्रतिको गहिरो रुचिकै कारण विभिन्न खेलकुदका रोमाञ्चक क्षणहरू क्यामेरामा उतार्न म सधैँ उत्तिकै रमाउने गर्छु। खेलकुदप्रतिको यही समर्पण र निरन्तरको मेहनतले मलाई गत वर्ष चौथो नेपालगन्ज फोटो फेस्टिभलको राष्ट्रिय स्तरको खुला प्रतियोगितामा ‘बेस्ट स्पोट्र्स फोटोग्राफर’ को प्रतिष्ठित उपाधि पनि दिलायो ।

गत वर्ष नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा भएको दोस्रो संस्करणबाट पौडी खेलका तस्बिरहरू खिच्न सुरु गरेको म, यसपालि तेस्रो संस्करणसम्म आइपुग्दा यो खेलको फड्को देखेर चकित छु । कहाँ राष्ट्रिय दायरामा मात्र सीमित यो प्रतियोगिता, र कहाँ अहिले भारतको नयाँ दिल्ली र लखनऊसहित विभिन्न स्थानबाट आएका करिब १५० भन्दा बढी खेलाडीहरूको भव्य अन्तर्राष्ट्रिय जमघट, अझ ललितपुरको ’सगरमाथा स्वीमिङ क्लब’ च्याम्पियन बनेको, र निभान समन अवाले तथा राइजा अवाले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदाको त्यो ऊर्जावान् माहोल क्यामेराको भ्यूफाइन्डरबाट नियाल्दा साँच्चै गर्व महसुस भइरहेको थियो ।
जब म रङ्गशालाको आधुनिक पौडी पोखरीको छेउमा उभिएर साना–साना बाबुनानीहरूलाई पानीमा छलाङ मार्दै प्रतिस्पर्धा गरिरहेको हेर्छु, अनायासै मेरो आफ्नै बालापनको पर्दा खुल्छ । म पनि उनीहरूजस्तै सानो छँदा दिदीसँगै पछि पछि लागेर गाउँको खोलामा पौडी खेल्न जान्थें । त्यो बेला न कुनै वैज्ञानिक प्रशिक्षण, न त सुरक्षात्मक मापदण्ड न त कुनै नियम नै बस, पानी देख्यो कि उफ्रिहाल्ने ! तर, खोलामा पौडी खेलेर घर फर्किएपछि आमाको हातबाट पुरस्कार स्वरूप पाइने कुटाइको त कुरै नगरौँ ! त्यतिबेला लाग्थ्यो, आमा किन यति रिसाउनुहुन्छ होला? तर आज, जब म आफैँ एक बाबु भइसकेको छु, तब कुरा बुझ्दैछु, त्यो कुटाइमा रिस होइन, अन्जान खोलामा भइहाल्ने दुर्घटनाको डर र अगाध माया लुकेको हुँदो रहेछ ।
आज यो अन्तर्राष्ट्रिय प्रतियोगितामा बच्चाहरूलाई हौसला दिन उनीहरूका आमाबुबा नै सँगै बसेर ताली बजाइरहेको देख्दा मन आनन्दले भरिन्छ। साँच्चै, अहिलेका बाबुनानीहरू हामीभन्दा कति धेरै भाग्यमानी छन् ।
जुन उमेरमा हामी घरमा कोही पाहुना आउँदा लुसुक्क कुनातिर लुक्थ्यौं, आज त्यही उमेरका नानीबाबुहरू अन्तर्राष्ट्रिय प्रतियोगिताको ठूलो मञ्चमा खुलेर प्रतिस्पर्धा गरिरहेका छन्। पानीलाई चिर्दै अगाडि बढिरहेका छन् र पदक जितेर गर्वले छाती फुलाउँदैछन् । बालबालिकालाई यो उचाइमा पु¥याउन पसिना बगाउने कडा प्रशिक्षकहरू, यस्तो गज्जबको अन्तर्राष्ट्रिय अवसर जुराउने आयोजकहरू, र सन्तानको हरेक पाइलामा साथ दिइरहने प्यारा अभिभावकहरू साँच्चै नै सम्मानका पात्र हुन् ।
पौडी भनेको केवल पदक जित्ने वा हारजितको एउटा खेल मात्र होइन; यो त जीवन बचाउने अति नै महत्वपूर्ण र अनिवार्य कला पनि हो । त्यसैले प्रतिस्पर्धा आफ्नो ठाउँमा छ, तर संकटको बेला जीवन रक्षाका निम्ति भए पनि पौडी सिक्नु र जानु सबैका लागि अपरिहार्य छ ।
एउटा स्पोट्र्स फोटोग्राफरको रूपमा पौडी खेलका यी जीवन्त र ऊर्जाशील तस्बिरहरू खिच्दै गर्दा, मेरो मनमा एउटा दृढ अठोट जन्मिएको छ, मेरो १९ महिनाको छोरो अलि हुर्कियो भने, म उसलाई पनि पौडीको व्यावसायिक प्रशिक्षण अनिवार्य गराउनेछु; ता कि, भोलि ऊ पानीसँग डराउने होइन, पानीमा ढुक्कले खेल्न सक्ने होस् ।