बर्दियाका विभिन्न स्थानबाट ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी, बढैयाताल र फुटाहाका छुट्टाछुट्टै स्थानमा प्रहरीले मंगलबार गरेको कारबाहीमा उनीहरू पक्राउ परेका हुन् । बर्दियामा मात्रै एकै दिन ६ ग्राम ९ सय ७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद भएको छ ।
प्रहरीका अनुसार, बाँसगढी नगरपालिका–५ स्थित बाँसगढी बजारको रोयल फास्टफुड खाजा घरबाट २ ग्राम १ सय ३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–८ का २६ वर्षीय रिदम केसीसमेत छन् । मंगलबार बेलुकी इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
त्यस्तै, बढैयाताल गाउँपालिका–७ बाट ६ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ३ जना पक्राउ परेका छन् । मंगलबारनै पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका–२ विकासनगरका २२ वर्षीय शिव विकसमेत रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
बढैयाताल गाउँपालिका–२ फुटाहाबाट पनि ३ ग्राम १ सय ८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। मंगलबार राति पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका–४ का २० वर्षीय शिवराज थारू र बर्दियाको गेरुवा गाउँपालिका–५ का २७ वर्षीय उमेश थारू छन् । प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले भे.६ प ६४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दियापछि कैलालीमा पनि लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । भजनी नगरपालिका–५ बक्तुरीघाटबाट १८ ग्राम ५ सय ७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित कैलारी गाउँपालिका–४ हसुलियाका २० वर्षीय सरोज चौधरी पक्राउ परेका छन् । मंगलबार साँझ इलाका प्रहरी कार्यालय पृथ्वीपुरसमेतबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
यसैगरी, जानकी गाउँपालिका–६ बाट ७ सय ३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित सोही गाउँपालिका–८ बन्देवीपुरका २४ वर्षीय भुवन तिमिल्सिना पक्राउ परेका छन् । मंगलबार साँझ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरमा पनि दुई छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका–७ टेडियाबाट सुख्खडका २३ वर्षीय जीवन पार्की पक्राउ परेका छन् ।
प्रहरीका अनुसार, विभिन्न स्थानमा छुट्टाछुट्टै टोली परिचालन गरिएको थियो । पक्राउ परेका व्यक्तिहरू र बरामद लागूऔषधका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
