खोइको जुवाको खाल ?

OLYMPUS DIGITAL CAMERA

बाँके प्रहरी भन्छ, नबस्दै लखेटियो !

जब दशैं तिहार जस्ता ठुला पर्व आउँछन्, बाँकेमा जुवाका ठुलाठुला खाल बस्ने गर्छन् । त्यससँगै समाचार आउँछन्, यो ठाउँमा प्रहरीले छापा मार्दा जुवाडे पक्राउ !

यो वर्ष त्यस खालका समाचार किन आएनन् ? कित जुवानै भइरहेको छैन, कि प्रहरी सेटिङमा जुवा भइरहेकाले छापा मार्ने र पक्राउ परेका समाचार आउनै सकेनन् ? कि भने, प्रहरीले थाहै पाउन सकिरहेको छैन । एउटा कुरा त पक्कै हो, ‘पहिले जस्तो भने पक्कै छैन ।’

ठिक अघिल्लो वर्ष, असोज तेस्रोसाता बाँकेमा जुवा खेलिरहेको अवस्थामा वहालवाला वरिष्ठ सई सहित एक दर्जन बढी हाइप्राफोइल जुवाडेहरु पक्राउ परेपछि जिल्ला प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक अंगुर जीसी निकै दबाबमा थिए । भर्खरै जिम्मेवारीमा आएका बेला प्रहरी–प्रशासनकै शैली थियो त्यो । तर, त्यसको सन्देश र संकेत भने परम्पराको निरन्तरता भन्ने देखिएन । अर्थात्, त्यसपछि जुवाडेहरु साँच्चिकै डराएर भागे, जुवाका खालविरुद्धको प्रहरी कारबाहीले पर्व विशेष होइन, निरन्तरतानै पायो ।

‘हो, हामीले यो वर्ष जुवाको खाल बस्नै दिएनौं,’ बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अंगुर जीसीले दैनिक नेपालगन्जको प्रश्नमा बुधवार साँझ भने, ‘यो एकवर्षमा होटल, रेष्टुरेन्टदेखि क्रियापुत्री घरसम्म जुवाको अखाडा बनाउन खोज्नेहरुलाई खोरमा ल्याएका छौं ।’ उनका अनुसार, एक वर्षदेखिनै निरन्तर चलिरहेको जुवाविरुद्धको कारबाहीमा गुडिरहेको गाडीमै जुवाको खाल चलाउँदै गरेका व्यक्तिहरुलाई पनि कारबाहीको दायरामा ल्याइएको छ । ‘त्यसक्रममा व्यवसायिक जुवाडेका नाइकेलाई पक्राउ गरिएपछि’ जुवाडेहरु भागेको दावी बाँके प्रहरीको छ ।

‘व्यवसायिक जुवाडेहरु छिमेकी जिल्लातिर भागेको भन्ने जानकारी आएपछि सम्बन्धित जिल्लाका प्रहरी प्रमुखलाई पनि जानकारी दिइएको छ,’ प्रहरी उपरीक्षक जीसीले जुवा विरुद्धको कारबाही कुनै पर्वसंग सम्बन्धित नभएको धारणा राख्दै भने, ‘पर्वका बेला भएको जमघटमा रमाइलोका लागि एक छिन खेल्नेहरुलाई तर्साउने हाम्रो उद्देश्य हुनुहुँदैन ।’ उनले रकम उठाएर हुने गरेका जुवा र पेशेवर जुवाडेहरुलाई बाँके प्रहरीले नछाड्ने नीति लिएको पनि बताए ।

बक्स

एकै दिन ६४ जना पक्राउ

दैनिक नेपालगन्ज

दीपावलीको माहोलसँगै देशका विभिन्न स्थानमा जुवातास खेल्ने गतिविधि बढ्न थालेपछि प्रहरीले निगरानी र कारबाही तीव्र पारेको छ । प्रहरी प्रधान कार्यालयले बुधवार दिएको जानकारी अनुसार, मंगलबार रातिसम्म विभिन्न स्थानमा छापा मारेर जुवातास खेलिरहेको अवस्थामा ६४ जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरूको साथबाट १६ लाख ७५ हजार ३१५ रुपैयाँ नगद, कौडा र ठूलो परिमाणमा तास बरामद भएको छ ।

प्रहरीले घर, होटल तथा खाजा घरमा जुवातास खेलिरहेका समूहलाई लक्षित गरी छुट्टाछुट्टै कारबाही गरेको हो । पक्राउ पर्नेमा महिला, होटल तथा खाजा घर सञ्चालक र विभिन्न स्थानमा भेला भएर जुवातास खेलिरहेका व्यक्ति छन् । सबैभन्दा ठूलो समूह काठमाडौंको बुढानिलकण्ठमा पक्राउ परेको छ ।

बुढानिलकण्ठ नगरपालिका–४ मा डेरा गरी बस्ने नुवाकोटकी ४१ वर्षीया प्रतिभा तिमिल्सेनाको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रतिभासहित २१ जना पक्राउ परेका छन् ।

चितवनमा पनि दुई छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेका १३ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–१६ नवीन चोकमा जुवातास खेलिरहेका ५ जना पक्राउ परेका छन् ।

बागलुङ नगरपालिका–२ हल्लनचोकस्थित एक घरमा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बाट पनि जुवातास खेलिरहेका ६ जना पक्राउ परेका छन् ।

तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित तामाङ खाजा घरमा जुवातास खेलिरहेका ५ जना पक्राउ परेका छन् ।

त्यस्तै, रोल्पाको रुन्टीगढी गाउँपालिका–७ होलेरी हाटबजारस्थित एक होटलमा जुवातास खेलिरहेका १० जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका सबै घटनामा गरी ६४ जना कारबाहीको दायरामा आएका छन् । विभिन्न स्थानबाट बरामद नगदको कुल रकम १६ लाख ७५ हजार ३१५ रुपैयाँ पुगेको छ । यसबाहेक ३३ थान कौडा, ४ सय ३८ पत्ति तास तथा अन्य ३६ बुक तास बरामद भएका छन् ।

दीपावली र तिहारका बेला मनोरञ्जनका नाममा जुवातास खेल्ने गतिविधि बढ्ने गरेको छ । यही प्रवृत्तिलाई नियन्त्रण गर्न प्रहरीले विभिन्न स्थानमा निगरानी र छापा अभियान सञ्चालन गरेको देखिन्छ । पक्राउ परेका व्यक्तिहरू तथा बरामद सामग्रीका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Exit mobile version