बाँकेको विकासलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेका जिल्ला सभापति विवेककुमार श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसहित विभिन्न मन्त्रालयका मन्त्रीहरूसँग भेटघाट तथा छलफल गरेको छ ।

भेटका क्रममा बाँके जिल्लाका समग्र विकास, स्थानीय समस्या समाधान तथा जिल्लाका आठवटै पालिकालाई विकास निर्माणका योजनामा उच्च प्राथमिकतामा राख्न पार्टी नेतृत्व र सरकारको ध्यानाकर्षण गराइएको छ ।

जिल्ला सभापति श्रेष्ठले बाँकेका आठवटै पालिकामा रहेका विकासका आवश्यकता, पूर्वाधार, जनताका समस्या तथा जिल्लाको समग्र विकासका विषयमा पार्टी सभापति लामिछानेलाई जानकारी गराउँदै बाँकेलाई विशेष प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।

त्यसैगरी अर्थमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीलगायत विभिन्न मन्त्रालयका प्रतिनिधिहरूसँग समेत भेटघाट गरी बाँकेका विकासका योजना र स्थानीय समस्याबारे ध्यानाकर्षण गराइएको जनाइएको छ ।

भेटघाटका क्रममा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र मजबुत बनाउने विषयमा समेत छलफल भएको थियो । जिल्ला तथा स्थानीय तहमा संगठन विस्तार, कार्यकर्ताबीच समन्वय र पार्टीको गतिविधिलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिइएको बताइएको छ ।

भेटघाटमा रास्वपाका प्रतिनिधिसभा सदस्य सुरेश कुमार चौधरी, सुषमा सोनकर, लुम्बिनी प्रदेश महामन्त्री सीएम उपाध्याय, नेपालगन्ज उपमहानगरपालिका नगर सभापति नवीन खड्का, कोहलपुर नगर सभापति राजेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

Exit mobile version