बालबालिका, किशोरकिशोरी तथा युवाहरूको नेतृत्व क्षमता, आत्मविश्वास र अभियान सञ्चालन तथा पैरवीसम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले बर्दियाको गुलरिया नगरपालिकामा दुईदिने नेतृत्व विकास तालिम आयोजना भएको छ ।
प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाअन्तर्गत आयोजित तालिममा गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाका २५ जना बालबालिका, किशोरकिशोरी तथा युवा सहभागी थिए ।
तालिमको सुरुवातमा सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले कार्यक्रमको उद्देश्य, विषयवस्तु तथा बालबालिका र युवाको नेतृत्व विकासमा यस्ता तालिमको महत्वबारे प्रकाश पार्दै सहभागीलाई अभिमुखीकरण गरेका थिए ।
तालिममा प्रभावकारी अभियान सञ्चालन तथा जनवकालत, नेतृत्व विकास र नेतृत्वदायी क्षमता, पैरवी तथा वकालत, बालबालिका तथा युवाको अर्थपूर्ण सहभागिता र बालअधिकारका सवालमा सहजीकरण गरिएको थियो । त्यस्तै, नीतिगत तहमा आफ्ना आवाज र सरोकारलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा व्यावहारिक छलफलसमेत गरिएको थियो ।
विनयदिल लामाले सहजीकरण गरेको तालिमको सञ्चालन नग्मा सिद्दिकीले गरेकी थिइन् ।
तालिमले सहभागीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, प्रभावकारी सञ्चार तथा अभियान सञ्चालन र पैरवीसम्बन्धी सीप अभिवृद्धि गर्नुका साथै आफ्ना अधिकार र सरोकारका विषयमा निर्भीकतापूर्वक आवाज उठाउन प्रेरित गर्ने विश्वास लिइएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताए । तालिमले बालबालिका तथा युवालाई समुदायमा विद्यमान सामाजिक चुनौती पहिचान गरी समाधानका लागि सामूहिक पहल गर्न र सकारात्मक परिवर्तनको नेतृत्व लिन सक्षम बनाउने अपेक्षा गरिएको उनले बताए ।
बालबालिका तथा युवाहरू भविष्यका कर्णधार मात्र नभई वर्तमानका सक्रिय परिवर्तनका संवाहक र समाज रूपान्तरणका महत्वपूर्ण साझेदारसमेत भएकाले उनीहरूको विचार, आवाज, क्षमता र नेतृत्वलाई उचित स्थान तथा अवसर दिनुपर्नेमा आयोजकले जोड दिएका छन् । उनीहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई प्रवद्र्धन गर्न सके मात्र समावेशी, सुरक्षित, न्यायपूर्ण र बालमैत्री समाज निर्माण सम्भव हुने जनाइएको छ ।
प्लान इन्टरनेशनल नेपालका अनुसार, आजको सशक्त आवाज नै भोलिको सक्षम नेतृत्व हो । अवसर पाए युवाले नेतृत्व गर्न र विश्वास पाए परिवर्तन सम्भव बनाउन सक्ने भएकाले उनीहरूको क्षमता विकास, अर्थपूर्ण सहभागिता र नेतृत्व प्रवद्र्धन समुन्नत, समावेशी तथा न्यायपूर्ण भविष्य निर्माणको आधार हो ।
