खाद्य स्वच्छता र गुणस्तरमा लापरवाही गर्ने होटेल व्यवसायी तथा मिठाई पसलहरू माथी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज, बाँकेले निगरानी बढाएको छ । कोहलपुरमा गरिएको अनुगमनका क्रममा कतिपय होटल तथा मिठाई पसलहरूमा भान्साको सरसफाईदेखि खाद्य वस्तुको सुरक्षित भण्डारणसम्म कमजोरी भेटिएको छ ।
कमजोरी सुधार्न केही व्यवसायीलाई समयसिमा तोकिएको छ भने खाद्य स्वच्छताको आधारमा होटेल व्यवसायी तथा मिठाई पसलको स्तरीकरण गएिकोको छ । उपभोक्तालाई स्वच्छ र सुरक्षित खाद्य वस्तु उपलब्ध गराउने उद्देश्य सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज, बाँकेले कोहलपुरका होटेल तथा मिठाई पसलहरूमा अनुगमन तिव्र पारेको छ । अनुगमनका क्रममा खाद्य स्वच्छताको अवस्था मुल्याङ्कन गरि व्यवसायीको स्तरिकरण समेत गरिएको छ ।
अनुगमनका क्रममा कोहलपुरस्थित ए टु जेट स्वीट कर्नरले एक स्टार प्राप्त गरेको छ भने शुभ हस्पिटालिटी प्रालिले दुई स्टारसहित उत्तम स्तर हासिल गरेको छ । त्यसैगरी, स्विप टप होटलको अनुगमन गर्दा सञ्चालक परिवर्तन भएको पाइएपछि आवश्यक सुधारका लागि कार्यालयले समय दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका सुचना अधिकारी रामहरी लामिछाने होटल ग्रिन सिटीको भान्छामा सरसफाइको कमी, खानेकुराहरू खुला रूपमा राखिएको तथा मसलाहरू पनि असुरक्षित तरिकाले खुला राखिएको भेटिएको जानकारी दिंदै १० दिनभित्र आवश्यक सुधार गर्न निर्देशन दिइएको जानकारी दिए ।
खाद्यवस्तुमा, उत्पादन मिति, म्याद सकिने मिति तथा आवश्यक विवरण बुझाउने मितीको स्टिकरको व्यवस्था अनुगमनको अर्को महत्वपूर्ण पक्ष बनेको छ । उपभोक्ताले आफुले खरीद गर्ने खाद्यवस्तुको गुणस्तर र उपभोग्य अवधी बारे जानकारी पाउनु पर्ने दिपचन्द्र ढकाल बताउँछन् ।
अनुगमनका क्रममा देखिएका कमिकमजोरी सुधार्न व्यवसायी पनि तयार देखिएका छन् । कोहलपुरस्थित ए टू जेट मिठाई कर्नरकी प्रोपराईटर रिना देवकोटाले मिठाईमा आवश्यक विवरण सहितको स्टिकर हातैले बनाएर टाँसेको र प्रिन्टेड स्टिकर समेत तयार गर्न दिइएको बताएकी छन् । प्रिन्टेड स्टिकर आएपछि सबै मिठाईमा व्यवस्थित रूपमा टाँस्ने उनको भनाइ छ ।
खाद्य स्वच्छता तथा गुणस्तर कायम राख्ने होटेल तथा खाद्य व्यवसायमा नियमित अनुगमन अत्यन्तै आवश्यक रहेको कोहलपुरस्थित शुभ होटलका जनरल म्यानेजर योगेन्द्र चौधरीले बताएका छन् । अनुगमनले खानाको गुणस्तरको सुधार गर्नुका साथै उपभोक्तामा शुरक्षित खाना बारे सचेतना बढाउन सहयोग पुग्ने उनको विश्वास छ ।
खाद्य पदार्थको स्वच्छता, गुणस्तर र उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै गरिएको यस अनुगमनले होटल तथा मिठाई व्यवसायीलाई स्वच्छ र सुरक्षित खाद्य सामग्री उपलब्ध गराउन थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ । कार्यालयले व्यवसायीहरूलाई भान्छाको नियमित सरसफाइ, खानेकुराको सुरक्षित भण्डारण तथा खाद्य स्वच्छताका मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ । सोमवारदेखि नियमित रूपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज, बाँकेले बाँकेमा रहेका विभिन्न होटेल व्यवसायका साथै मिठाई पसलमा समेत अनुगमन गरिरहेको छ ।
