एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

एनपिएल उद्घाटन खेलमा दर्शकले भरिभराऊ त्रिवि क्रिकेट मैदान काठमाडौँ, ९ कात्तिक : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका क्रममा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भरिभराऊ दर्शकको ड्रोनबाट लिइएको दृश्य । तस्बिर : घनश्याम श्रेष्ठ/रासस

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका रहेको हो ।

सुदूरपश्चिम र कर्णालीबीचको खेल मध्याह्न १२ः३० तथा चितवन र पोखराबिचको खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछन् । जारी एनपिएलमा कर्णालीले तीन खेल खेल्दा दुईमा जित र एक खेलमा मात्र हार व्यहोरेको छ ।

ऊ लगातार दुई जितपछि पछिल्लो खेलमा काठमाण्डु गोर्खाजविरुद्ध पराजित भएको थियो ।

कर्णाली आज सुदूरपश्चिमलाई हराएर तेस्रो जित निकाल्ने योजनामा छ । सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । उसले चार खेल खेल्दा दुईमा जित र दुई खेलमा हारको सामना गरेको छ । सुदूरपश्चिम आज कर्णालीलाई हराएर अङ्क तालिकामा सुधार गर्ने योजनामा छ ।

आजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने पोखरा अहिलेसम्म जितविहीन छ । उसले तीन खेल खेल्दा सबै खेलमा हारको सामना गरेको छ । कुशल भूर्तेल नेतृत्वको पोखरा आज चितवनलाई हराएर जितको खाता खोल्ने योजनामा छ ।

चितवन कमजोर देखिएको पोखराविरुद्ध जित दर्ता गरेर प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा छ । उसले चार खेल खेल्दामा दुई खेलमा जित, एकमा हार तथा एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।

जारी संस्करणको एनपिएलमा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।   

Exit mobile version