तिहारमा फुलखेतीको रौनक

कुनै समय तिहार लगायतका चाडपर्वको लागि फूलमाला भारतबाट आयात हुने गर्दथ्यो । तर पछिल्लो समय प्लास्टिकका मालाहरूमा लगाइएको प्रतिबन्ध र आयातित फूलको उपलब्धतामा आएको कमीले अहिले स्थानीय फूल खेतीको सम्भावना बढेको छ । तिहार नजिकिँदै गर्दा खेतबारी सयपत्री फूलले ढकमक्क भएका छन् । पहिले घरायसी प्रयोजनका लागि सीमित हुने फूल खेती अहिले आम्दानीको राम्रो सम्भावना बोकेको व्यवसायका रूपमा विकास हुन थालेको छ ।

बाँकेको नरैनापुर गाउँपालिका ५ मा सुवासजंग शाह, कृतिराज दीक्षित र सुशील कुमार मौर्य मिलेर सयपत्री फूल खेती गरेका छन् । फरक फरक पेसामा रहेका उनीहरूले आफ्नै जग्गाको सदुपयोग गर्दै केही नयाँ गरौँ भन्ने सोचबाट फूल खेती सुरु गरेका थिए । करिब दस लाख रूपैयाँ लगानीमा गरिएको खेतीका लागि उनीहरूले माटो परीक्षणदेखि बिउ छनौट, बिरुवा उत्पादन र मलछिङसम्मको तयारी योजनाबद्ध रूपमा गरे । जहाँ १५ जनाले नियमित रोजगारी समेत पाएका छन् । यो तिहारका लागि पचास क्विंटल फूल उत्पादन गर्ने उनीहरूको लक्ष्य छ ।

तिहारमा सयपत्री फूलको प्रयोग माला बनाउन मात्रै सीमित छैन । पूजाआजा, घर सजावट तथा विभिन्न सांस्कृतिक कार्यक्रममा समेत यसको प्रयोग हुने गरेको छ । गुणस्तरीय बिउबिजन, प्राविधिक सहयोग, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न सकिए फूल खेती किसानका लागि वैकल्पिक आम्दानीको भरपर्दो माध्यम बन्न सक्छ ।
सन्तानेश्वर एग्रो एण्ड फ्लावर फर्म, बाँकेका कृतिराज दीक्षित भन्छन्, ‘तिहारसम्म पचास क्वीन्टल जति फुल तयार हुने अनुमान छ ।’

नेपालगन्ज उपमहानगर पालिका वडा नं. १९ मा कृषि पढेका तीन विद्यार्थी असिम सिट्टेल, वेदराज आचार्य र चेतन केसीले फिट फार्म संचालन गरेर १० कठ्ठा जग्गामा सयपत्रीका १० हजार बिरुवा लगाएका छन् । करिब १ लाख ५० हजार रूपैयाँ लगानी गरेका उनीहरूले १२ देखि १५ क्वीन्टल उत्पादनको लक्ष्य राखेका छन्।

‘तिहारको लागि १५ क्वीन्टलसम्म फुल उत्पादन हुने अपेक्षा छ’, फिट फार्म बाँकेका असिम सिग्देल भन्छन्, ‘मल, बिउ, बिजनको कुराहरूमा पनि अलिकति सहुलियत भयो भने हामीलाई सजिलो हुन्छ ।’ उनले भारतबाट चोरी पैठारी हुँदै आउने फूलहरूलाई पनि रोक लगाइदियो भने नेपाली उत्पादनले राम्रो मूल्य पाउने बताए ।

तर बाँकेमा स्वदेशी फूलको बजार विस्तार सहज छैन । भारतबाट सस्तोमा आउने फूलसँग प्रतिस्पर्धा गर्नु मुख्य चुनौती छ । त्यसैले उत्पादकहरू थोकभन्दा खुद्रा बिक्री र अग्रिम अर्डरलाई प्राथमिकता दिँदै उपभोक्तासम्म सीधै पुग्ने योजनामा छन् ।

लुम्बिनी फ्लोरिकल्चर एसोसियसनका पूर्वसदस्य एवम् महिला उद्यमी संघ बाँकेकी महासचिव बिन्दुचर्ति मगरले बाँकेमा करिब १३ बिगाहामा फूलखेती भएको जानकारी दिइन् । उनले स्थानीय तहलाई बजारीकरणका सम्बन्धमा नीतिनिर्माण गर्न आग्रह गरिन् । उनले जिल्लामा सयपत्री, कलकत्ते, आगा ३५५ जातका फूलको खेती भएको उल्लेख गर्दै भारतीय फूल आयातमा रोक लगाउनु आवश्यक भएको धारणा राखिन् । बाँकेको नरैनापुर, खजुरा, नेपालगन्ज र कोहलपुरमा पुष्पखेती गरिएको छ ।

भारतबाट अवैध आयात हुने फूलमा फर्मालिन प्रयोग हुन्छ । जुन शरीरका लागि स्वस्थकर मानिँदैन । सरकारले समेत भारतबाट आयात हुने फूलमा रोक लगाएका बेला कतिपयले खुला सीमानाका प्रयोग गरेर सयपत्री भित्र्याउने गरेका छन् ।

Exit mobile version