यात्राको दोश्रो दिन दिउँसोको १२ः३५ बजे हामीहरु सुलिगाडमा झरेका थियौं । दुनै पुगे पनि फोक्सुण्डोतिर जान यहिँ आउनु पर्ने भएकोले हामीले दुनै नजाने निधो गरेर यहिँ झरयौं । ठूलीभेरीको झोलुङ्गे पुल तरेर पारी जानुपर्ने, झोला बोकेर यसका तनातुना सब कसकास गरि लौरो ठिक गरेर ठूलीभेरिको झोलुङ्गे पुल तर्नु अघि बुडाबुडीको एउटा संयुक्त फोटोका लागि त्यहाँ कोहि थिएन यसैले हामीहरु सेनाको पोष्टतिर गएर डिउटीमा रहेका सिपाहीसँग एउटा फोटो लिइदिन आग्रह गर्यौं । उनले फोटो लिइदिए । हामीले उनलाई धन्यवाद दिएर कुलपितृदेवलाई सम्झी सुनेको कठिन यात्राको सफलताको कामना गर्दै हाम्रो यो पदयात्राको पहिलो झोलुङ्गे पुल तर्यौं । पुल तर्दै गर्दा दिउँसोको १२ः ५५ भएको थियो ।
सुलिगाडमा ठूलीभेरी तरेपछि पारिपट्टी सेनाको क्याम्प, त्यसको तलतलबाट फोक्सुण्डो नदिको पुल तरेर पारी जानुपर्ने रहेछ । साथी नवराजले भन्नु भएको थियो यो खोलालाई झण्डै दर्जन जति ठाउँमा वारिपारि गर्नुपर्छ । यहि सझिँदै हामीले पहिलो पुल तर्यौ.र दुनैतिरबाट आउने मोटर हिँड्न मिल्ने जस्तो चाक्लो बाटैबाट खोला छेवइछेउ उत्तरतरि लाग्यौं ।
तल निलो कञ्चन पानी सुुसाइरहेको थियो । हामीलाई फोक्सुण्डो आरक्षको प्रवेश पास लिने कहाँ रहेछ भन्ने लागिरहेको थियो । दिउँसोको पट्यारलाग्दो घाम दारिमको झाडी पदयात्राको पहिलो दिन, अर्के उत्साहले यो एक किलोमीटर जति हिँडेर फोक्सुण्डो आरक्षको पास लिने ठाउँमा पुगियो ।
त्यहाँ काउण्टरमा एकजना महिला कर्मचारी हुनुहुँदो रहेछ । उहाँलाई पास लिन रुं २०० दिएँ । यात्रुको उमेर देखि स्थायी ठेगाना फोन नम्बर सबैकुरा टिपिने रहेछ । अनि मैले कुनै परिचय पत्र चाहिने हो कि भनेर सोधें । नेपाली भन्ने थाह भएपछि परिचय पत्र नचाहिने भयो ।
फोक्सुण्डो निकुञ्ज क्षेत्रमा प्रवेशको लागि शुल्क नेपाली नागरिकका लागि एक सय, सार्क देशका नागरिकका लागि पन्ध्र सय र अन्य मुलुकका नागरिकका लागि तीन हजार रुपैंया तिर्नुपर्दो रहेछ ।
पास लिएर हामीले चारकदम अगाडीको एउटा होटलमा झोला बिसायौं र पानी पियौं । निकुञ्ज इन्ट्रिीपोष्टमा लागेका सूचनाहरु पढ्यौं । कहाँ कति दूरि र कति समय लाग्ने पनि त्यहाँ लेखेको हुनाले त्यसलाई त झन नहेर्ने कुरै भएन । त्यहाँबाट कागुनी ४.४ किमी, साङ्टा ८ं.७ किमी, छेप्का ११ किमी, रेंची २० किमी, सुम्दुवा २२ किमी, रिग्मो पोष्ट फोक्सुण्डो ताल ३० किमी, पुग्मो २७ किमी, चारताल ३८ किमी, शेगुम्बा ६० किमी ।
हाम्रो यात्रा अन्यत्र त थिएन । फोक्सुण्डोसम्म मात्रै थियो । यसैले हामीले यो बाटोका स्थानहरुको बारेमा त्यहाँ होटलमा सोध्यौं । कागुनी, साङ्टा, छेप्का, रेंची र रिग्मोका मात्रै यो मार्गका स्थानहरु रहेछन् । त्यतातिर खानाबस्नको अवस्थाको बारेमा पनि केहि जानकारी लियौं ।
‘अनि बुडी ल भन आज यी मध्ये कुन ठाउँसम्म पुग्ने ? कति हिँड्ने ?’ मैले आफ्नी जीवन साथीलाई जिस्काउँदै सोधें ।
‘हिँडिएला नि ८–१० किलोमीटर त ।’ बुडीको उत्साह देखेर म दङग भएँ ।
‘उसो भए त आज छेप्का नै पुगिन्छ त !’ त्यहाँ हामीलाई तपाइँहरु आज छेप्का त पुग्नुहुन्छ भनेको र बुडीको पनि उस्तै उस्तै कुरा आएकोले मलाई पनि हो कि क्या हो जस्तो लाग्यो ।
हाम्रो यात्रा अब लम्कियो अर्को बिसौनी कागुनीतिर ।
अगाडी हेर्दा पहाडहरुको ताँती, लगभग सबै नाङ्गा पहाडहरु । कहाँ पुग्ने हो भन्ने लामो बाटो कतै देखिएको छैन । खोला कुनै कुनातिरबाट फुत्त निस्के झैं लाग्छ । गाउँहरु देखिन्नन् । छैनन् । एदाकदा माथिबाट झर्दै गरेका फाट्फुट्ट मानिस र भारीबोक्ने कहिलेकहिँ खच्चर घोडाहरुहरुको आवाजाही मात्रै ।
भिरको बाटो छ । कतै सिँडी पनि छन् । पहरामुनी पनि काठका मुडाहरुले अडाएर त्यसमाथि ढुङ्गा चिनेर गोरेटो बनाइएको छ । अलिकति खुट्टा चिप्लियो कि तल पुगिने जहाँ मात्रै उहि फोक्सुण्डो खोलाको तीब्र बगेको बेग ।
फेरि अर्को पुल तर्ने बेला आयो । पुलैको छेउबाट पनि वारिवारि जाने बाटोको गोरेटो देखिन्थ्यो तर त्यहाँ बाटोको सिग्नल पुलतिरै देखाइएकोले हामीलाई त्यति कन्फ्यूजन भएन । पछि थाह भयो कि गतबर्षसम्म त्यहि बाटो रहेछ तर पहिरोले बाटो बन्द भएर यतापट्बिाट बनाइएको रहेछ ।
निकैबेर पाखो हिँडेपछि खोला कै छेउमा ग्याब्लिङ् वालमाथि भित्तै समाएर हिँड्नु पर्ने राम्रोसँग खुट्टा अडाउन पनि नमिल्ने गोरेटो आयो । रामराम भन्दै भित्तामा गतिलो समाउने केहि नभएकोमा मात्रै लौरोको भरमा बामे सर्दै त्यो भित्तो काटियो । अनि खोला छेउको अलिकति समथर तेर्सो तेर्सो बाटो हिँड्दै गर्दा केहि थान घरहरु देखिए । त्यो पनि त्यहाँको गाउँ नै भनौं । प्राय त्यतातिरका गाउँ भनेका नै दुईचार घर या कतै दशबीस घर हुने रहेछन् ।
गाउँमा पुग्नै लाग्दा बारिमा आरुको लटरम्म फलेको रुखबाट एकजना महिलाले आरु टिपिरहेकी थिइन ।
‘ए बुडा हेर्नु त आरु, किन्न त पाएला नि ! भन्नु न आरु खाउँ’ बुडीलाई आरुले मोहित बनायो ।
हामी पनि पहाडतिर जरो भएका मान्छे । नेपालगञ्जतिर यस्तो राम्रो आरु खान नपाइने । भदौ अन्तिममा पनि यस्तो राम्रो आरु अब नखाएर पनि त भएन नि ।
‘ए बैनी आरु खान पाइन्छ होला नि ?’ मैले आरु टिपिरहेकी महिलालाई सोधें ।
बाटोभरि सिस्नै सिस्नो थियो । बारिभरि सिमी लगाएको र मकै पनि भएकोले रुखसम्म जाने त कुरै भएन । ती महिलाले चारपाँच वटा आरु लिएर आइन । मैले सिस्नो पन्छाएर आरु लिँए ।
गलामा निकै मोटो शायद चाँदीको चेनमा ट्वाक्कै नजर पर्ने खालको कु्रस झुण्ड्याएकी ती महिलालाई ‘कति पैसा हो बैनी ?’ मैले आरुको मोल सोधें ।
‘खानुस भो पर्दैन पैसा, यहाँ यो आरु कसैले किन्दैन ।’ महिलाले सहजै उत्तर दिइन ।
धन्यवाद सहित आरु लिएर खाँदै हिँड्यौ । अनि हाम्रा कुरा चले पनि । नेपाली मुल कुल धर्म सँस्कृति परम्पराको यो पावन बोन भूमिमा विदेशी आक्रान्ताहरुले यहाँका मौलिक रैथाने परम्परामाथि कसरी आक्रमण गरेका रहेछन् । शायद ती महिलालाई त्यो गलामा लगाएको कु्रसले आफ्ना कुलपितृ प्रतिको अपमान गरेको छ छैन थाह भएन तर हामीलाई भने निकै मन पोल्यो ।
हुन त आस्था फेर्नु आफ्नो व्यक्तिगत अधिकार होला तर आधुनिक विकासको ओझेलमा रहेका नेपालका त्यस्ता थुप्रै ठाउँहरुमा समेत विधर्मी आक्रान्तहरुले धार्मिक साँस्कृतिक आक्रमण कतिसम्म गरेका छन् भन्ने यो एउटा नमूना थियो ।
नेपालका कुना कन्दराहरुमा पनि हाम्रा परम्पराहरु, हाम्रा आस्थाहरु माथि कसरी आक्रमण भएको छ र नेपालीको वास्तविक पहिचान कसरी समाप्त पारिँदै छ भन्ने कुराको यो एउटा प्रतिनीधि पात्र पक्कै थियो ।
यति कुरा गर्दै गर्दा हातका आरु पनि सकिए । एउटा आरु भने बुडीले बाटोमा पछि खाने भनेर सँगालिन ।
हामी पनि दङ्ग पर्यौं आरु पाएर अनि गफ पनि भए । शायद यतातिर आरु जति पनि हुन्छ होला । अनि यो यहाँबाट नेपालगञ्जसम्म लैजाँदा लैजाँदै खराब हुने हुनाले यसको मोल नपरेको होला जस्तो लाग्यो ।
गाउँको छेउ पुग्दा अर्को पुल आयो । अब तेश्रो पटक फोक्सुण्डो खोलालाई तरेर पारि जाँदै थियौं । केहि फोटोहरु पनि बाटोमा लिँयौं ।
पुल पार गरेर अलि अलि उकालो आयो । भीर पनि । पाखोभरि हिँड्दै हिँड्दै उकालो काटेर तेरपाएँ तेरपाएँ हिँड्न पाउँदा अलि सहज लागेको थियो कि पर खोलाछेउ केहि घरहरु देखिए । शायद त्यो कागुनी हुनुपर्छ भन्ने लाग्यो ।
केहिबेरमा कागुनी पुगियो । त्यहाँ आँगनभरि चारपाँचवटा रुखमा लटरम्म फलेका आरुका रुख भएको एउटा होटल रहेछ, राजु होटल । सुनसान थियो । हामी आँगनमा उक्लिएर को हुनुहुन्छ भन्दै बोलायौ. । एकजना युवा आए । हामीले झोला बिसाएर आँगनको घाँसमा बस्यौं र रेडबुल मगायौं ।
‘आरु त निकै फलेको रहेछ नि भाइ !’ बुडीले अझै आरु खाने मन गरे झैं गर्दै सोधिन ।
‘अँ यतातिर राम्रै छ आरु, खाने भए टिपेर खानुस् अनि लैजाने भए पनि लैँजादा हुन्छ मन पर्छ भने’ होटलवाला भाइले भने ।
बुडीले आरु टिप्न थालिन । मैले झोला भारी हुन्छ भनेर धेरै नटिप्न भनें ।
‘आज हामी कहासम्म पुग्छौं होला भाई ?’ मैले सोधें ।
‘अब तपाइँहरु आज साङ्टासम्म पुग्नुहुन्छ होला, केहि समय बचेछ भनेपनि त्यहाँबमाट अगाडी नबढ्नु होला, किन कि त्यसपछि बास बस्न छेप्का पुग्नैपर्छ । त्यहाँबाट तपाइँहरुलाई दुईघण्टाजति लाग्नसक्छ, साङ्टामा एउटा मात्रै होटल छ बरु बेलैमा त्यहिँ गएर बास बस्नुस् आज ।’ होटलवाला भाइले राम्रो सल्लाह दिए ।
समय पनि पौने पाँच भएको थियो । अब हामीले कागुनीबाट झण्डै अढाइ किलोमीटर यात्रा गरेर मात्रै साङ्टा पुगिने हुँदा हामीहरु होटलको भाइलाई धन्यवाद दिएर हिँडिहाल्यौं ।
समय घर्किँदै थियो । बेलुकाको सन्नाटालाई खोला सुसाएको आवाजले चिरिरहेको थियो । बेलुकाका किराकिरी कराउने बेला हुन थाल्यो । अब खोलाको सुसुआहट भन्दा चर्को झ्याँकुरी र अन्य किराकिरीको आवाज हुनथाल्यो । हामीहरु हिँडेको पनि छ घण्टा हुन थालेको थियो । केहि सिँडीहरु अनि रुखले झ्वाम्म छोपेको बाटो अध्याँरो नै भैसकेको अवस्था । झन सुनसान मात्रै । मोबाइलको लाइट बालेर हिँड्दै गर्दा घर कतै देखिएका थिएनन् । यत्तिकैमा रुखमा झुण्ड्याएको होटलको प्रचारको एउटा साइनबोर्ड भेटियो । आशा जाग्यो । अलिकति हिँडेपछि अलि माथि बत्ति बलेको देखियो । लाग्यो शायद यो नै त्यो भाइले भनेको एकमात्र होटल हुनुपर्छ भन्दै हामी गौंडो उक्लेर होटलको आँगनमा पुग्यौं । स्वागत होटल हो भन्दै छिर्दा त रहेछ । हामीले फोक्सुण्डो यात्राको दोश्रो दिन र पदयात्राको पहिलो दिनको छ घण्टाको यात्रा साङ्टाको त्यहि स्वागत होटलमा अन्त्य गर्यौं । क्रमशः
