बर्दियाका सात स्थानीय तहका आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत ३६ जना शिक्षकलाई नवीन शिक्षण पद्धतिसम्बन्धी तीनदिने तालिम प्रदान गरिएको छ । शिक्षकको शिक्षण क्षमता अभिवृद्धि गर्दै विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितमा आधारित शिक्षण पद्धतिको प्रवद्र्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
बाँके युनेस्को क्लब र राधाकृष्ण थारू जनसेवा केन्द्रको साझेदारी तथा प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालित ‘बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजना’ अन्तर्गत तालिम आयोजना गरिएको थियो ।
तालिम दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा बारबर्दिया, गुलरिया र बढैयातालका १६ जना शिक्षक सहभागी भएका थिए । दोस्रो चरणमा राजापुर, गेरुवा, मधुवन र ठाकुरबाबाका २० जना शिक्षकको सहभागिता रहेको थियो ।
तालिममा शिक्षकको शिक्षण ज्ञान, सीप र व्यावहारिक क्षमता अभिवृद्धि गर्नुका साथै कक्षाकोठामा विद्यार्थीकेन्द्रित, अनुभवमा आधारित, खोज तथा अनुसन्धानमुखी र सहभागितामूलक सिकाइ पद्धति विकास गर्ने विषयमा जोड दिइएको थियो ।
तालिमका क्रममा अन्तरविषयगत शिक्षण, परियोजनामा आधारित सिकाइ, सिर्जनात्मक सोच, समस्या समाधान गर्ने क्षमता तथा स्थानीयस्तरमा उपलब्ध न्यून लागतका शैक्षिक सामग्रीको प्रभावकारी प्रयोगबारे सैद्धान्तिक तथा व्यावहारिक अभ्यास गराइएको थियो ।
तालिममा सहभागी शिक्षकलाई सिकेका ज्ञान, सीप र अभ्यास विद्यालय तथा कक्षाकोठामा प्रयोग गर्न प्रोत्साहित गरिएको थियो । यसले परम्परागत शिक्षण पद्धतिलाई सिर्जनात्मक, व्यावहारिक, अन्तरक्रियात्मक र बालमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यस पहलले परियोजना सञ्चालित विद्यालयमा शिक्षण तथा सिकाइको गुणस्तर सुधार गर्नुका साथै विशेषगरी छात्रा र सीमान्तकृत समुदायका बालबालिकाको सिकाइ उपलब्धि अभिवृद्धिमा योगदान पु¥याउने विश्वास आयोजकले लिएका छन् । ‘गुणस्तरीय शिक्षाका लागि पाठ्यपुस्तकमा सीमित ज्ञान हस्तान्तरणभन्दा बालबालिकामा सोच्ने, खोज्ने, सिर्जना गर्ने र समस्या समाधान गर्ने क्षमता विकास गर्न नवीन शिक्षण पद्धतिको प्रयोग आवश्यक रहेकोमा समेत जोड दिइएको छ,’ बाँके युनेस्को क्लब अध्यक्ष प्रवेज अली सिद्दीकीले भने ।
