राेटरी क्लबले लियो पाँच वर्षका लागि ह्वील चेयर टाइटल

दैनिक नेपालगन्ज

रोटरी क्लब अफ सेन्ट्रल बाँकेले धारा नेपालगन्ज म्याराथनअन्तर्गत ३ किलोमिटर ह्वीलचेयर दौडको टाइटल प्रायोजन गर्ने भएको छ । म्याराथनको कम्युनिटी पार्टनरका रूपमा सहकार्य गर्दै क्लबले ह्वीलचेयर दौडको जिम्मेवारी लिएको हो ।

क्लबले आगामी पाँच वर्षसम्म हरेक वर्ष सहयोग रकम वृद्धि गर्दै जाने गरी आयोजकसँग सम्झौता गरेको छ । विश्व म्याराथनको प्रतिष्ठित एम्स सोसल अवार्ड २०२६ बाट सम्मानित नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी र रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष ईश्वरी जंग मल्लबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार ह्वीलचेयर दौडमा विशेष सहयोग गर्नुका साथै क्लबका सम्पूर्ण सदस्यलाई म्याराथनका विभिन्न विधामा सहभागी गराउने तयारी गरिएको छ । ‘रोटरीसँग जोडिएका सबैलाई कुनै न कुनै रूपमा जोड्छौँ,’ अध्यक्ष मल्लले भने, ‘समुदायलाई दौड संस्कृतिसँग जोड्दै सामाजिक एकताको अभियानमा हाम्रो सदैव साथ रहनेछ । गभर्नरज्यू पनि यस अभियानमा निकै सकारात्मक हुनुहुन्छ ।’

रोटरी क्लबमा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध उद्यमी, चिकित्सक, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट, बैंकर, शिक्षक र पत्रकार सदस्य रहेका छन् ।

धारा नेपालगन्ज म्याराथनको १२औँ संस्करण आगामी मंसिर १२ गते शनिबार नेपालगन्जमा आयोजना हुँदैछ । यस वर्ष १२ वटा सामुदायिक संस्थासँग कम्युनिटी पार्टनरका रूपमा सहकार्य गर्ने तयारी गरिएको म्याराथनका दर्ता विभाग प्रमुख गगन थापाले जानकारी दिए ।

नेपालगन्जको बीपी चोकबाट सुरु हुने प्रतियोगितामा ४२ किलोमिटर पुरुष खुला, २१ किलोमिटर महिला खुला, १० किलोमिटर पुरुष तथा महिला खुला, ५ किलोमिटर पुरुष तथा महिला खुला, ५ किलोमिटर विद्यालयस्तरीय छात्र तथा छात्रा दौड, ३ किलोमिटर कर्पोरेट रन, ३ किलोमिटर किड्स रन, ३ किलोमिटर ह्वीलचेयर रन, २ किलोमिटर फेमिली रन र ३ किलोमिटर रन फर अल गरी १२ विधा समावेश छन् ।

म्याराथनको ४२ किलोमिटर विधा पुरुष खुला भए पनि व्यक्तिगत समय सुधार गर्न चाहने महिलालाई विद्युतीय चिप्स उपलब्ध गराइनेछ । त्यस्तै, महिलाका लागि निर्धारित २१ किलोमिटर हाफ म्याराथनमा सहभागी हुन चाहने पुरुष धावकलाई पनि समय मापनका लागि विद्युतीय चिप्स उपलब्ध गराउने व्यवस्था गरिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

४२ किलोमिटर दौडमा ४० देखि ५० वर्ष, ५० देखि ६० वर्ष र ६० देखि ७० वर्ष उमेर समूहका धावकको छुट्टाछुट्टै वरियता निर्धारण गरी पहिलो, दोस्रो र तेस्रो हुनेलाई प्रोत्साहन गरिने उनले बताए ।

एबोट वर्ल्ड म्याराथन मेजरसँगको सहकार्यमा उमेर समूहका धावकलाई विश्वव्यापी वरियतामा समावेश गर्ने व्यवस्था यस वर्ष पनि निरन्तर रहने आयोजकले जनाएको छ । साथै, उमेर समूहको विश्व च्याम्पियनसिपमा सहभागिताका लागि सहजीकरण गरिनेछ । विभिन्न विधाका शीर्ष धावकलाई मेजर म्याराथन तथा वर्ल्ड एथलेटिक्सका प्लेटिनम, गोल्ड, एलिट र लेभल रेसमा सहभागी हुने अवसरसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।

सन् २०१५ देखि निरन्तर सञ्चालन हुँदै आएको नेपालगन्ज म्याराथनले यस वर्ष सामुदायिक संस्थासँगको सहकार्य विस्तार गर्दै दौड संस्कृतिको विकास र सामाजिक एकतालाई थप बलियो बनाउने लक्ष्य राखेको छ ।

Exit mobile version