नेपाल संवत् ११४७ को स्वागतमा नेपालगन्जमा कात्तिक भोलि मंगलवार बृहत् मोटरसाइकल भिन्तुना ¥याली आयोजना हुने भएको छ । नेवाः देय् दबू बाँके र नेवाः पुचः बाँकेको संयुक्त आयोजनामा हुने ¥यालीपछि शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरिने छ । नयाँ संवत्को स्वागतसँगै नेवाः संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
नेपालीहरूको मौलिक संवत्का रूपमा रहेको नेपाल संवत् म्हपूजाका दिनदेखि प्रारम्भ हुन्छ । यस वर्ष कात्तिक २४ गते मंगलवार म्हपूजासँगै नेपाल संवत् ११४७ सुरु हुँदैछ । यही अवसरमा नेपालगन्जमा जिल्लाका विभिन्न नेवाः गुठीको सहभागितामा भिन्तुना ¥याली निकाल्न लागिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार, मंगलबार बिहान नेपालगन्जको कारकाँदो चोकबाट मोटरसाइकल ¥याली सुरु हुनेछ । ¥यालीमा विभिन्न क्षेत्रका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहनेछ । ¥यालीपछि शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिनेछ । जहाँ प्रदेश सभा सदस्य मीना श्रेष्ठ, नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टलगायतको सहभागिता रहने नेवाः देय् दबू बाँकेका अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
नयाँ वर्षको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्दै नेवाः देय् दबू बाँकेका तर्फबाट संस्थापक अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सबै जातजाति, भाषा, धर्म र समुदायका नागरिकलाई कार्यक्रममा सहभागी हुन गरिएको आह्वान सकारात्मक रहेको बताए ।
कार्यक्रममा सबै समुदायको सहभागिताले नेपाल संवत्को मूल भावना र सामाजिक सद्भावको सन्देशलाई अझ व्यापक बनाउने अपेक्षा गरिएको नेवाः देय् दबूका संस्थापक पार्षदसमेत रहेका सल्लाहकार पूर्णलाल चुकेले बताए । नेपाल संवत्को नयाँ वर्षलाई साझा सांस्कृतिक उत्सवका रूपमा मनाउन सबैलाई सहभागी हुन उनको आग्रह छ ।
