बन्ने भो चप्लानालामा पुल

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गमा पर्ने बर्दियाको बढैयाताल गाउँपालिकास्थित चप्लानालामा चार लेनको नयाँ पुल निर्माण हुने भएको छ । करिब १८ करोड रुपैयाँ लागत अनुमान गरिएको पुल निर्माणका लागि अन्तिम सर्वेक्षण पूरा भइसकेको छ । अब निर्माणको ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय नेपालगन्जका आयोजना प्रमुख लिलबहादुर भण्डारीका अनुसार, चप्लानालामा रहेको पुरानो पुललाई यथावत् राखेर त्यसको दायाँ र बायाँतर्फ दुईवटा नयाँ पुल निर्माण गरिनेछ । दुवै पुल १०÷१० मिटर चौडाइका हुनेछन् । ‘यसरी पुरानो पुलसहित चार लेनको आवागमन व्यवस्था तयार हुनेछ,’ आयोजना प्रमुख भण्डारीले दैनिक नेपालगन्जसँग भने ।

नयाँ पुल निर्माणका लागि मल्टीसेल बक्स संरचना अपनाइने भण्डारीले बताए । उनले अन्तिम सर्वेक्षण सम्पन्न भइसकेकाले तत्कालै टेन्डर आह्वान गर्ने तयारी भइरहेको जानकारी दिए ।

निर्माण कार्यलाई तीव्रता दिएर आगामी वर्षायामअघि नै पुल सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुल बनेपछि नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गको चप्लानाला खण्डमा सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

Exit mobile version