नेपालगन्ज–२० मा मदिरा पसल र होटल राति साढे १०.३० बजेसम्म, देउसी–भैलो साढे ११ः३० सम्म मात्रै
तिहार तथा चाडपर्वका बेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न नेपालगन्ज उपमहानगरपालिका–२० मा मदिरा पसल तथा होटल राति १०ः३० बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ । त्यस्तै, देउसी–भैलो कार्यक्रम राति ११ः३० बजेसम्म मात्र सञ्चालन गर्न पाउने व्यवस्था गर्ने निर्णय गरिएको छ ।
एयरपोर्ट टोल सुधार समितिका अध्यक्ष शिवेन्द्र भण्डारीको आह्वानमा आयोजित स्थानीयस्तरीय छलफलबाट चाडपर्व लक्षित सुरक्षा व्यवस्थाका विषयमा उक्त निर्णय गरिएको हो । छलफलमा चोरी, झैझगडा, मदिरा सेवनपछि हुने विवाद, होहल्ला तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रणका उपायबारे चर्चा भएको थियो ।
सहभागीहरूले चाडपर्वका नाममा रातभर होहल्ला गर्ने र सामाजिक मर्यादाविपरीतका गतिविधि बढ्न सक्ने भन्दै समयमै नियन्त्रणका उपाय अपनाउनुपर्ने धारणा राखेका थिए । उनीहरूले मदिरा पसल तथा होटललाई राति १०ः३० बजेपछि सञ्चालन गर्न नदिने र देउसी–भैलो राति ११ः३० बजेभित्रै सम्पन्न गर्ने निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । चाडपर्वलाई रमाइलो र उत्सवका रूपमा मनाउँदा अरू सर्वसाधारणलाई असहज हुने गतिविधि हुन नदिनसमेत उनीहरूले आग्रह गरेका थिए ।
छलफलमा टोलको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने विषयले पनि प्राथमिकता पाएको थियो । त्यसका लागि सीसीटीभी क्यामेरा जडान तथा सञ्चालन, सडकबत्तीको उचित व्यवस्थापन, शंकास्पद गतिविधिमाथि निगरानी र प्रहरी तथा स्थानीयवासीबीच नियमित समन्वय कायम गर्ने विषयमा सुझाव प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सहभागी वडा अध्यक्ष चक्रबहादुर बिसीले स्थानीयस्तरबाट शान्ति सुरक्षा कायम गर्न गरिएको पहलमा आफ्नो प्रतिबद्धता व्यक्त गरे । उनले चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सहयोग तथा समन्वय गर्ने बताए ।
छलफलमा अस्थायी प्रहरी बिट राँझाका प्रहरी सहायक निरीक्षक लोकबहादुर सिंह ठकुरीसहित स्थानीय टोलका अगुवा तथा सामाजिक व्यक्तित्वहरूले आ–आफ्ना धारणा राखेका थिए । सहभागी सामाजिक व्यक्तित्वमा डिल्ली राज रेग्मी, उषा भण्डारी, मोहीत शाह, मेघराज सुनार र खगेन्द्र न्यौपानेलगायत थिए ।
छलफलबाट प्राप्त सुझाव र निर्णयलाई औपचारिक रूपमा कार्यान्वयनमा लैजान कार्तिक २२ गते सूचना जारी गरिने समितिका अध्यक्ष भण्डारीले जानकारी दिए । उनका अनुसार उक्त सूचना वडा नम्बर २० का सम्पूर्ण टोल तथा बस्तीमा पु¥याएर निर्णयबारे प्रचारप्रसार गरिनेछ ।
‘स्थानीयवासी, जनप्रतिनिधि, प्रहरी प्रशासन र टोल सुधार समितिबीचको समन्वयबाट चाडपर्वलाई सुरक्षित, शान्तिपूर्ण र मर्यादित बनाउने अपेक्षा गरिएको छ,’ अध्यक्ष भण्डारीले दैनिक नेपालगन्जसँग भने ।
