आश्रयमै तिहारको उत्सव

तिहारमा नीलसागरका बालबालिका र ज्येष्ठ नागरिकलाई नयाँ कपडा र सामग्री सहयोग

नेपालगन्जस्थित नीलसागर सेवा आश्रममा आश्रित बालबालिका तथा ज्येष्ठ नागरिकले तिहारको अवसरमा नयाँ कपडा, जुत्ता–चप्पल र अन्य आवश्यक सामग्री पाएका छन् । ग्रेस योगा कम्युनिटी सेवाले नारी विकाससँगको सहकार्यमा आश्रमलाई सहयोग गरेको हो । उक्त सहयोगबाट २०० भन्दा बढी बालबालिका तथा आमाबुवा लाभान्वित भएका छन् ।

चाडपर्वको खुसी अभावमा रहेका व्यक्तिसँग पनि बाँड्ने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको हो । आश्रममा रहेका बालबालिकाका लागि नयाँ लत्ताकपडा, जुत्ता–चप्पल र विद्यालय झोला उपलब्ध गराइएको छ । त्यसैगरी, चिसो मौसम नजिकिँदै गर्दा ज्येष्ठ नागरिकका लागि न्यानो कपडासमेत प्रदान गरिएको छ ।

सामाजिक सञ्जालमार्फत नीलसागर सेवा आश्रमले गर्दै आएको कामबारे जानकारी पाएपछि सहयोग अभियान सुरु भएको हो । अभियानको संयोजनमा सुजिनाले विशेष भूमिका निर्वाह गरेकी छन् । डेनमार्कबाट नेपाल आएकी उनले विभिन्न देशमा रहेका नेपाली दिदीबहिनीलाई योग र साधनासँग जोड्दै सामाजिक सेवाका गतिविधिमा समेत सहभागी गराउँदै आएकी छन् ।

सुजिनाका अनुसार विभिन्न देशमा रहेका नेपाली दिदीबहिनीबाट सानो–सानो रकम संकलन गरेर नेपालमा आवश्यकतामा रहेका बालबालिका तथा ज्येष्ठ नागरिकलाई सहयोग गर्ने सोचले अभियान अघि बढाइएको हो । ‘हामी जहाँ रहे पनि आफ्नो देशमा अभाव र कठिनाइमा रहेका व्यक्तिका लागि केही गर्न सक्छौँ भन्ने सोचले यो अभियान थालेका हौँ,’ उनले भनिन् ।

उनले यसअघि पनि नेपालका विभिन्न संस्थामार्फत सहयोगका कार्यक्रम गर्दै आएको बताइन् । नीलसागर सेवा आश्रमकी अध्यक्ष सरिता खनालको सेवाभाव र आश्रमले गरिरहेको कामबाट आफू प्रभावित भएको उनको भनाइ छ । सामाजिक सञ्जालमा आश्रमका गतिविधिबारे थाहा पाएपछि सम्पर्क गरेको र सहयोग गर्ने इच्छा जागेको उनले बताइन् ।

ग्रेस योगा कम्युनिटी सेवाकी सदस्य रोशनी शाहले पनि तिहारको अवसरमा आफ्नै क्षेत्रका असहाय तथा आवश्यकतामा रहेका व्यक्तिसँग खुसी साट्न पाउँदा सन्तुष्टि मिलेको बताइन् । ’म बाँकेको बुहारी हुँ । त्यसैले पनि यस क्षेत्रप्रति मेरो विशेष माया र अपनत्व छ । चाडपर्वको खुसी आश्रममा रहेका बालबालिका र आमाबुवासँग बाँड्न पाउँदा निकै खुसी लागेको छ,’ उनले भनिन् ।

नीलसागर सेवा आश्रमकी अध्यक्ष खनालले विभिन्न संघसंस्था तथा व्यक्तिबाट प्राप्त सहयोगले आश्रमको व्यवस्थापनमा ठूलो राहत पुग्ने बताइन् । विशेषगरी चाडपर्वका बेला आश्रित बालबालिकालाई नयाँ कपडा र जुत्ता–चप्पल उपलब्ध गराउन सक्दा उनीहरूमा उत्साह थपिने र आश्रमको आर्थिक भारसमेत केही कम हुने उनको भनाइ छ ।

खनालका अनुसार बाँकेमा नेपालगन्ज र कोहलपुर गरी दुई स्थानबाट आश्रमले करिब २०० देखि २५० सम्म बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षण र हेरचाह गर्दै आएको छ । सडकमा भेटिएका गर्भवती महिला, आमासँगै रहेका बालबालिका, बेसहारा तथा संरक्षणको आवश्यकता भएका बालबालिकालाई समेत आश्रमले आश्रय दिँदै आएको उनले जानकारी दिइन् ।

‘चाडपर्वलाई आफ्नै परिवार र आफन्तमा मात्र सीमित नराखी अभावमा रहेका व्यक्तिसँग पनि खुसी बाँड्नुपर्ने सन्देश सहयोग अभियानले दिएको छ,’ लुम्बिनी प्रदेशसभा सदस्य मीना श्रेष्ठले दैनिक नेपालगन्जसँग भनिन् । सानो सहयोगले पनि आश्रित बालबालिका तथा ज्येष्ठ नागरिकको दैनिकी सहज बनाउन र उनीहरूको मुहारमा खुसी ल्याउन सक्ने विश्वास अभियानमा संलग्नहरूले व्यक्त गरेका छन् ।

Exit mobile version