संस्कार

लक्ष्मीको पूजा गर्दै गर्दा संस्कारलाई चाहिँ बिर्सिँदै त छैनौँ ?

धनतेरसको भोलिपल्ट लक्ष्मीपूजा । आज घरघरमा धनकी देवी लक्ष्मीको आराधना हुनेछ । सुख, शान्ति, समृद्धि र सम्पन्नताको कामना गरिनेछ । तर, लक्ष्मी भित्र्याउने हाम्रो चाहनासँगै एउटा प्रश्न पनि जोडिन आवश्यक छ, धन कमाउने दौडमा कतै हामीले इमानदारी, नैतिकता र मानवीयता त गुमाइरहेका छैनौँ ?

आजको प्रतिस्पर्धात्मक व्यावसायिक संसारमा सफलताको मापन धेरैजसो कमाएको पैसा, देखिने सम्पत्ति र जीवनशैलीबाट हुन थालेको छ । तर, एउटा युवा उद्यमीका लागि वास्तविक सफलता बैंक खातामा भएको रकम मात्र होइन, त्यसलाई कमाउने तरिका, व्यवस्थापन गर्ने क्षमता र भविष्यका लागि सुरक्षित राख्ने दूरदृष्टि पनि हो ।

व्यवसायमा नाफा कमाउनु आवश्यक छ, तर नाफाका लागि विश्वास गुमाउनु बुद्धिमानी होइन। ग्राहकलाई झुक्याएर, साझेदारलाई धोका दिएर वा श्रमिकको श्रमको उचित मूल्य नदिएर कमाएको धनले केही समय समृद्धिको आभास दिन सक्छ, तर त्यसले दिगो प्रतिष्ठा निर्माण गर्न सक्दैन । इमानदारी व्यवसायको सबैभन्दा ठूलो पुँजी हो । विश्वास गुमेपछि पुनः आर्जन गर्न सबैभन्दा कठिन हुन्छ ।

अर्कोतर्फ, धन कमाउने कला जति महत्त्वपूर्ण छ, बचत गर्ने कला पनि उत्तिकै आवश्यक छ । धेरै कमाउनु मात्रै आर्थिक सफलता होइन, कमाएको रकमको सही व्यवस्थापन गर्नु पनि सफलता हो । आम्दानीको निश्चित हिस्सा बचत गर्ने, अनावश्यक खर्च नियन्त्रण गर्ने, आपत्कालीन कोष बनाउने र जोखिम बुझेर लगानी गर्ने बानीले आर्थिक भविष्य सुरक्षित बनाउँछ । विशेषगरी युवा उद्यमीले आम्दानी र खर्चबीच सन्तुलन राख्दै व्यवसायको नाफालाई पुनः उत्पादनशील क्षेत्रमा लगानी गर्न सिक्नुपर्छ ।

हामीले बुझ्नुपर्ने कुरा के हो भने पैसा साधन हो, जीवनको अन्तिम लक्ष्य होइन । लक्ष्मीले सम्पन्नता दिन्छिन् भने सरस्वतीले विवेक र संस्कारले त्यसको सही प्रयोग गर्ने बाटो देखाउँछन् ।

आउनुस् यस वर्षको लक्ष्मीपूजामा घरमा धन भित्र्याउने कामना मात्र नगरौँ । व्यवसायमा इमानदारी, व्यवहारमा विश्वास, खर्चमा अनुशासन र भविष्यका लागि बचत गर्ने संस्कार पनि भित्र्याऔँ । किनकि असल कर्मबाट कमाएको धन, विवेकपूर्ण तरिकाले बचाएको सम्पत्ति र विश्वासमा टिकेको व्यवसाय नै वास्तविक समृद्धि हो । शुभकामना !

Exit mobile version