कुनै पनि मुलुकको सम्वत् केवल वर्ष, महिना र दिनको गणना गर्ने माध्यम मात्र होइन, त्यो मुलुकको इतिहास, सभ्यता, संस्कृति र मौलिक पहिचानसँग जोडिएको महत्वपूर्ण आधार पनि हो । मानव जीवनमा समयको गणना अपरिहार्य छ र त्यसको व्यवस्थित आधार नै सम्वत् हो । विश्वमा विभिन्न सम्वत्हरू फरक–फरक ऐतिहासिक, साँस्कृतिक र राजनीतिक घटनालाई आधार बनाएर प्रचलनमा आएका छन् । कतै विशिष्ट व्यक्तिको जन्म वा मृत्युलाई, कतै नयाँ युगको सुरुवातलाई त कतै नयाँ शासकीय व्यवस्थाको स्थापनालाई सम्वत्को आधार बनाइएको पाइन्छ । तर जनताको ऋणमोचन र आर्थिक मुक्तिलाई आधार बनाएर सुरु गरिएको नेपाल सम्वत्को ऐतिहासिक तथा मानवीय महत्व विशिष्ट छ ।
जनश्रुति तथा ऐतिहासिक मान्यता अनुसार शंखधर साख्वाले तत्कालीन समयमा सर्वसाधारण जनताको ऋण तिरिदिएर उनीहरूलाई ऋणमुक्त बनाएको स्मृतिमा नेपाल सम्वत् प्रारम्भ भएको मानिन्छ । यो घटना केवल नयाँ पात्रो वा समय गणनाको सुरुवात थिएन, बरु गरिब, विपन्न र श्रमजीवी जनताको मुक्ति, सामाजिक न्याय र मानवकल्याणप्रतिको उदात्त भावनाको प्रतीक थियो । त्यसैले नेपाल सम्वत्लाई अन्य सम्वत्हरूभन्दा फरक ऐतिहासिक र सामाजिक महत्व बोकेको मौलिक सम्वत्का रूपमा लिन सकिन्छ ।
नेपाल सम्वत् नेपालको ऐतिहासिक सम्पदा र राष्ट्रिय पहिचान हो । यसको संरक्षण र प्रवद्र्धन नेवार समुदायको मात्र दायित्व होइन, समग्र नेपाली समाजको साझा जिम्मेवारी हो । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक भएकाले यहाँका हरेक समुदायका भाषा, संस्कृति, परम्परा र ऐतिहासिक सम्पदाको सम्मान गर्नु राष्ट्रिय एकतालाई बलियो बनाउनु पनि हो ।
यसै सन्दर्भमा नेपाल सम्वत् ११४७ को शुभारम्भका अवसरमा भोलि कार्तिक २४ गते नेपालगन्जमा नेवाः देय् दबू बाँके र नेवाः पुचः बाँकेको संयुक्त आयोजनामा बृहत् मोटरसाइकल ¥याली तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुनु सकारात्मक र स्वागतयोग्य पहल हो । कार्यक्रममा सबै जातजाति, भाषा, धर्म र समुदायका नागरिकलाई सहभागिताका लागि गरिएको अपिलले नेपाल सम्वत् त्को मूल भावना र सामाजिक सद्भावको सन्देशलाई अझ व्यापक बनाउने अपेक्षा गर्न सकिन्छ ।
यस्ता साँस्कृतिक कार्यक्रमहरू औपचारिक उत्सव र शुभकामना आदानप्रदानमा मात्र सीमित हुनु हुँदैन । नयाँ पुस्तालाई नेपाल सम्वत्को ऐतिहासिक पृष्ठभूमि, शंखधर साख्वाको योगदान र यसले बोकेको ऋणमुक्ति, समानता तथा मानवकल्याणको सन्देशयो सम्वत् नेवाल जातिको मात्र होइन यो नेपाल र नेपालीहरुको साझा मौलिक सम्वत् हो भन्ने बारे जानकारी गराउनु आवश्यक छ । साथै नेपाल सम्वत्लाई राष्ट्रिय जीवनमा थप परिचित र व्यवहारमा स्थापित गर्न राज्य, स्थानीय सरकार, शैक्षिक संस्था तथा नागरिक समाजले समेत सकारात्मक भूमिका निर्वाह गर्नु आवश्यक छ ।
नेपाल सम्वत्को वास्तविक गौरव यसको अंकगणितीय गणनामा मात्र होइन, यसले बोकेको मानवीय मूल्य र सामाजिक न्यायको आदर्शमा निहित छ । ऋणको बोझबाट जनतालाई मुक्त गराउने ऐतिहासिक प्रेरणाले आजको समाजलाई पनि आर्थिक असमानता, गरिबी र विभेदमुक्त समाज निर्माणको दिशामा अघि बढ्न प्रेरित गर्नुपर्छ । त्यसैले नेपाल सम्वत् ११४७ को स्वागत गरिरहँदा यसको ऐतिहासिक महत्वको सम्मानसँगै आपसी सद्भाव, सहअस्तित्व र राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु नै यस पर्वको सार्थकता हुनेछ ।
(नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ नेवाः देय् दबू बाँकेका संस्थापक अध्यक्ष तथा राष्ट्रिय पार्षद् हुन् ।)
