बिजुली भण्डारमा आगलागी

बाँकेको जानकी गाउँपालिका–३ मा आइतबार बेलुकी विद्युत्को तार सट भई दुईवटा व्यापारिक फर्ममा भीषण आगलागी भएको छ।
स्थानीय लक्ष्मी बिजुली भण्डार एण्ड जनरल अडर सप्लायर्स र जय हनुमान ट्रेडर्स एण्ड सप्लायर्समा बेलुकी करिब ७ बजे अचानक आगो सल्किएको प्रहरीले जनाएको छ। आगलागीको खबर पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दा आगो नियन्त्रणमा जुटेका छन्।
आगोको रूप नियन्त्रणबाहिर जान थालेपछि छिमेकी पालिका तथा निकायबाट दमकल झिकाइएको छ। बाँके प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतितसिंह राठौरका अनुसार अहिले नेपालगञ्ज उपमहानगरपालिकाका ३, नरैनापुर गाउँपालिकाको १, कोहलपुर नगरपालिकाको १ र नेपाल आयल निगम राँझाको १ गरी जम्मा ६ वटा दमकलको सहयोगमा आगो निभाउने तीव्र प्रयास भइरहेको छ।
विद्युत् सर्ट भएर सुरु भएको आगलागीबाट पसल तथा गोदाममा रहेका विद्युतीय तथा व्यापारिक सामानहरू जलेर नष्ट भएका छन्। आगो नियन्त्रणमा लिने कार्य जारी रहेकाले आगलागीबाट भएको कुल क्षतिको विवरण भने आउन बाँकी छ।

Exit mobile version